रौतहट । रौतहटमा स्थायी शिक्षकलाई पाखा लगाउँदै राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने गरेको पाइएको छ । जिल्लामा शिक्षक सेवा आयोगबाट नाम निकालेर आएकाहरूलाई प्रधानाध्यापक नबनाई राहत, करार शिक्षकलगायत अन्य कोटामा भर्ना भएकाहरूलाई प्रधानाध्यापक बनाइने गरिएको छ ।
जिल्लाको फतुवा विजयपुर नगरपालिकामा यस्ता धेरै विद्यालयहरू छन्, जहाँ राहत शिक्षकहरू नै प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । सो नगरपालिकाको श्री प्रावि बाल सदनमा प्रअको रूपमा राहत शिक्षिका रेणुका हुँमागाईं, बाल कल्याण प्रावि भठ्ठी रांगीमा पुरुषोतम घिमिरे, बाल ज्योति प्रावि बुनियादमा रेणु चौधरी, श्री प्रावि बुनियादमा प्रअको रूपमा मुक्ती चौधरी, श्री यमुना कौशल्या प्रावि मेवामा प्रअको रूपमा रिता पाण्डे रहेका छन् ।
यस्तै श्री प्रावि सन्तपुरमा प्रअको रूपमा शिवमंगल यादव, श्री रामजानकी प्राविमा प्रअको रूपमा रामसेवक राय यादव, श्री दलित प्रावि शीतलपुरमा राजेन्द्र हजरा, श्री प्रावि हर्षाहामा प्रअको रूपमा जोतनारायण यादव, श्री जनता प्राविको प्रअको रूपमा उमेश यादव र श्री माँ सरस्वती प्राविको प्रअको रूपमा सुबोध यादव रहेका छन् । उनीहरू सबै राहत शिक्षक हुन् । फतुवा विजयपुर नगरपालिकामा रहेका यी शिक्षकहरू उदाहरण मात्र हुन् । जिल्लाको अधिकांश विद्यालयहरूमा राहत, करार, जुनियर शिक्षकलाई प्रअको जिम्मेवारी दिएको छ्यापछ्याप्ती पाइन्छ ।
फतुवा विजयपुर नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादव नगरपाकिलामा शिक्षा ऐन बनेको र पर्याप्त मात्रामा शिक्षक पनि नभएकोले समस्या भएको बताउँछन् । यादव भन्छन्, ‘भएका स्थायी शिक्षकहरू प्रअ बन्न चाहदैनन् । यस्तो अवस्थामा राहत शिक्षकलाइ नै प्रअको जिम्मेवारी दिन हामी बाध्य छौँ ।’
यता जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले भने कुनै पनि विद्यालयमा यस्तो भएको हो भने स्थायी शिक्षक मध्ये बरिष्ठताको आधारमा रित पुग्ने व्यक्तीले इकाइमा आवेदन पेस गरेमा आफूहरूले पालिकाको नाममा पत्र लेख्ने बताए । नियम मिचेर यस्तो काम भएको उनी स्वीकार गर्छन् । तर यससम्बन्धी अधिकार स्थानीय सरकारलाई भएकोले स्थानीय सरकारले नै यसतर्फ ध्यान दिनुपर्ने जोड दिए ।
यता शिक्षा विकास निर्देशनालय धनुषाका अधिकृत किशोरी कापर यसमा हातहाल्ने कानुनी अधिकार नभएकोले आफूहरूले केही गर्न नमिल्ने बताउँछन् । शिक्षक नेता मनिशंकर निधी भन्छन्, ‘यस्तो बेथितिहरू जिल्लामा छन् । यसलाई अन्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ यसरी नियम विपरीत प्रअको जिम्मेवारी दिँदा शिक्षा क्षेत्रमा अनियमित भ्रष्टचार मौलाउनुको ठूलो कारणहरू मध्ये एक रहेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार आफ्नो पकेटको मान्छेलाई प्रअको जिम्मेवारी दियो भने गुपचुप नियुक्ती गर्ने लगायतका नियम विपरीतका कामहरू बढ्ने गरेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया