किसान कल सेन्टर बन्द

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले कृषि क्षेत्रका समस्या सामाधान गर्नेका लागि स्थापना गरेको किसान कल सेन्टर बन्द भएको छ ।
किसानका गुनासाको लागि स्थापना गरिएको १६६०८९४२००३ अहिले बन्द अवस्थामा छ । भगवतीमाई गाउँपालिका भित्रका किसानहरूमा आउने समस्यालाई हदैसम्म सामाधान गर्ने उद्देश्यले दैलेख जिल्लामै पहिलोपटक स्थापना गरिएको किसान कल सेन्टर स्थापना भएको दुई वर्षमै बन्द भएको हो ।

कृषि उपजहरूको ढुवानी, बिक्री, वितरण, मल तथा बिउ वीजनको आपूर्तिलगायत किसानका हरेक गुनासासँगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बिउ, मल, किटनाषक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना लगाउतका समस्या सामाधन गर्नका लागि गाउँपालिकामा स्थापना गरिएको किसान कल सेन्टरमा निःशुल्क फोन गर्न सकिने व्यवस्था थियो । गाउँपालिका क्षेत्र भित्रका कृषकहरूको लागि तीन वर्ष पहिले किसान कल सेन्टर स्थापना गरिएको थियो ।

किसान कल सेन्टरको अवस्थाबारे बुझ्दा नौ महिना अगाडिदेखि कल सेन्टर बन्द भएको कृषि शाखा प्रमुख तार्जन वलीले जानकारी दिए । उनले भनेअनुसार टेलिकमलाई तिर्नुपर्ने रकम गाउँपालिकाले नतिरेपछि कल सन्टर बन्द भएको हो । आफू जिल्ला बाहिर रहेकोले कार्यालयमा उपस्थित हुनासाथ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गरेर यो नम्बर सुचारु गरिन्छ, वलीले भने ।

भगवतीमाई गाउँपालिकाको आव २०७७÷०७८ को कार्यक्रमअनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर यसअघिका जनप्रतिनिधिहरूले स्थापना गरेका थिए । गाउँपालिका भित्रका किसानहरूले पशुपंक्षीसम्बन्धी समस्या तथा सुझावका लागि हरेक आइतबार बिहान ११ बजेदेखि दुई बजेसम्म र कृषिसम्बन्धी समस्या तथा सुझावका लागि शुक्रबार ११ बजेदेखि २ बजेसम्म फोन गर्न सक्नेगरी व्यवस्था मिलाए पनि अहिले यो सेवा ठप्प भएको छ ।

किसानका समस्या आएमा गाउँपालिका भित्रै समाधान गर्ने र नभए विषेशज्ञसँग सहकार्य गरेर समस्या सामाधान गर्ने गरी स्थापना गरेको कल सेन्टरमा फोन नलाग्ने गरेकोले पहिलेका जनप्रतिनिधिहरूले सस्तो लोकप्रियताका लागि सेन्टर स्थापना गरेको आरोप भगवतीमाई बासीले लगाएका छन् । जिल्लाका अन्य पालिकाहरूमा स्थापना गरिएका निःशुल्क कल सेन्टरहरूको अवस्था पनि बन्द हुने अवस्थामा छ ।

प्रतिक्रिया