तरकारी खेतिमा होमिएकी नानकला

दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ बडापोखराकी नानकला थापाले बारीमा लटरम्म तरकारी फलाएकी छन् । बारीमा काउली, गोलभेँडा, पालुंगो, खुर्सानी, भन्टा, लगायतका तरकारी लगाएकी उनी पहिले आफू व्यावसायिक नहुँदा बुढाकै भर पर्ने बताउँछिन् । सुरुमा सामान्य रूपमा तरकारी खेती गर्दै आएकी उनी सोसेक नेपालको साथ पाएपछि व्यावसायिक तरकारी खेतीमा लागेकी हुन् ।


उमेरले ४४ वर्ष पुगेकी थापाले करिब एक रोपनी जग्गामा विभिन्न तरकारी फलाएको बताएकी छन् । सुरुसुरुमा तरकारी खेती गर्दा खुल्ला आकाशमुनि तरकारी लगाउने थापा अहिले टनेलमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने थालेकी उनले पहिले तरकारी खेती गर्दा प्राविधिक ज्ञान नभएका कारण पानीले गल्ने, किरा लाग्ने लगायतको समस्या हुने गरेको अनुभव सुनाउँछिन् । ‘अहिले सोसेक नेपालले ग्रिन कर्णाली परियोजना लागू गरेपछि हामीलाई धेरै सहज भएको छ’, उनी भन्छिन्, ‘समय–समयमा प्राविधिक आएर हेर्ने र विभिन्न सल्लाह सुझाव पाउँदा आफूहरू निकै खुसी भएको यहाँका अन्य कृषकहरूको समेत भनाइ छ ।’

तरकारी नलगाउँदा बजारको चाउचाउ र स्वायबिन किनेर खान्थ्यौँ अहिले आफ्नै बारी फलेको ताजा तरकारी खाने गरेको थापाको भनाइ रहेको छ । उनले भनिन्, ‘पहिले जे जसरी दुःख काटे पनि अहिले आफैँ व्यावसायिक तरकारी खेतीमा होमिँदा आफ्नै बारीको ताजा तरकारी खान पाएका छौँ । जसले गर्दा आफू स्वस्थ सँगै अरू पनि गाउँका नागरिक पनि स्वस्थ भएका छन् ।’

तरकारी बेचेर आएको पैसा घर खर्चसँगै बचत गर्ने गरेको बताउने नानकला व्यावसायिक तरकारी खेती थालेको तीन वर्ष भएको अनुभव सुनाउँदै उनले भनिन्, ‘सुरुआती चरणमा खुल्ला ठाउँमा धेरै तरकारी लगाउँथे, पछि कच्ची टनेलको लागि बास मागेर कच्ची टनेल बनाएर तरकारी लगाएँ । अहिले सोसेक नेपालको सहयोग पाइसकेपछि मलाई व्यावसायिक तरकारी खेती गर्न झनै सहज भएको छ । घर खर्च जोहो गर्ने भारत गएका श्रीमानले पठाएको पैसाले खर्च धान्न मुस्किल हुन्थ्यो अहिले आफैँले तरकारी उत्पादन गरेर बेच्दा पकेटमै पैसा हुन्छ । आफूले मन लागेको काम गर्न पाइन्छ । छोराछोरीलाई पढाउन र घर खर्च चलाएर पैसा बचत हुने गरेको छ । पहिले पैसा नहुँदा बुढासँग हात थाप्नुपर्ने अवस्था थियो । तर अहिले धेरै सहज भएको छ ।’ व्यावसायिक तरकारी खेती थालेपछि छोराछोरीका कापी कलम सकिए तुरुन्त तरकारी बेचेर जोहो गर्न सकिने उनको भनाइ छ ।

डिसिए नेपालको आर्थिक सहयोग सोसेक नेपालद्वारा दुल्लु नगरपालिकामा सञ्चालित ग्रिन कर्णाली परियोजना लागुपश्चात् उनी मात्र नभएर सिंगो गाउँ नै व्यावसायिक तरकारी खेतीमा होमिएको कृषि प्राविधिक हिक्मेन्द माझीले बताए । पहिले कमैले मात्र व्यावसायिक रूपमा तरकारी खेती गरे पनि अहिले तरकारी खेती गर्ने कृषक वृद्धि भएको उनको भनाइ छ । सोसेक नेपालका कृषि प्राविधिक माझीका अनुसार त्यस क्षेत्रमा १३ जनाले पक्की टनेल र ३५ वटा कच्ची टनेलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

प्रतिक्रिया