तंग्रिँदै नेपाल–चीन सीमा व्यापार

नेपाल र चीन भौगोलिक सिमाना जोडिएका छिमेकी देश हुन् । पूर्वको जोङसोङ हिमालदेखि पश्चिमको तिंकर भन्ज्याङसम्म १ हजार ३ सय ८९ किलोमिटर सिमाना वैज्ञानिक रूपमै निर्धारण भइसकेको छ भने पिल्लर नम्बर १ रहेको तिंकर भन्ज्याङदेखि पश्चिमतर्फ पिल्लर नम्बर शून्य रहने विन्दु लिम्पियाधुरासम्मको ६३ किलोमिटर सीमांकन हुन बाँकी छ । यसरी नेपाल र चीन १ हजार ४ सय ५२ किलोमिटर भौगोलिक क्षेत्रले जोडिएका छन् । तर बिडम्वना यो छ कि यी दुई देशबीच बस्तुको आयात र निर्यात करिब १० हजार किलोमिटरको दुरी पार गर्दै समुन्द्र तथा भारतको भूमि हुँदै हुने गरेको छ ।

अधिकांश सीमा उच्च हिमाली क्षेत्रको पानीढलोमा पर्ने भएका कारण नेपाल र चीनबीच स्थलगत सीमामार्फत व्यापार हुन नसकेको हो । तर, सबै सीमा क्षेत्र यस्तै कठिन छैन । दुई हजार मिटर उचाइ सम्मका भञ्ज्याङ तथा नदीका बेँसीहरू पनि नेपाल–चीन सीमा क्षेत्रमा छन् । उदाहरणका लागि रसुवाको सीमावर्ती चीनको केरुङ बजार र सिन्धुपाल्चोकको सीमावर्ती चीनको खासा बजार दुई हजार किलोमिटरभन्दा कम उचाइमा छन् ।

जसलाई क्रमशः रसुवागढी नाका र कोदारी (तातोपानी) नाका भन्ने गरिन्छ । यी नाकाहरूमा दुवै देशका तर्फबाट सुविधा सम्पन्न पक्की सडक जोडिएका छन् । अपवादबाहेक हिउँ नपर्ने भएकोले यी नाकाबाट बाह्रै महिना व्यापार गर्न सकिन्छ । नेपालको राजधानी काठमाडौंबाट यी दुई नाकासम्म पुग्ने दुरी भारतीय नाकामा पुग्ने दुरीभन्दा निकै छोटो छ । यसमध्ये कोदारी नाका त आजभन्दा ६ दशकअघि सडक यातायातले जोडिएपछि गुल्जार बन्न थालेको थियो । एक दशकअघिसम्म पनि नेपाल र चीनबीचको व्यापार को सबैभन्दा ठूलो हिस्सा कोदारी नाकाले ओगट्ने गथ्र्यो ।

२०७१ सालमा अरनिको राजमार्गको जुरे क्षेत्रको सडक खण्ड पहिरोले भासिएपछि कोदारी अर्थात तातोपानी नाका केही महिना अवरुद्ध भयो । सडक मर्मत हुनासाथ २०७२ वैशाख १२ र २९ गते विनासकारी भूकम्प गयो । भूकम्पका कारण तातोपानी नाकाका दुवै तर्फका बजारहरू ध्वस्त भए । सीमा क्षेत्र भएका कारण तातोपानी क्षेत्रको उद्धार तथा राहतमा चिनियाँ जनशक्ति आफैँ खटियो । चिनियाँ उद्धार टोलीले तातोपानी बजारका घरघरमा आफ्ना पृथकतावादी नेता दलाई लामाको तस्बिर देख्यो ।

यही कारण सशंकित भएको चीनले तातोपानी नाकालाई सूचारु गर्ने जाँगर देखाएन । नेपालका तर्फबाट पनि दलाई लामाको तस्बिर राखिनुको बास्तविकताबारे जानकारी गराउने प्रयास भएन । चीनले तातोपानी नाकाको विकल्पका रूपमा अझ सुविधासम्पन्न रसुवागढी नाका तयार गर्यो । तर रसुवागढी नाकाको पूर्वाधार तयार हुँदानहुँदै कोरोनाको महामारी सुरु भयो । जसका कारण रसुवागढी नाका पनि निर्वाध रूपमा सञ्चालन हुन सकेन ।

२०८० सालको सुरुआतदेखि भने यी दुवै नाकाहरू बिस्तारै तंग्रिन थालेका छन् । व्यापार बढ्दो क्रममा रहेको छ । गत साउन महिनाको आँकडा हेर्ने हो भने नेपाल चीनबीच सीमानाकाको व्यापार नौ वर्षअघि अर्थात जुरे पहिरो अघिकै अवस्थामा पुगेको छ । यी दुवै नाकाको व्यापार अनुमान गरिएभन्दा बढी फस्टाएको छ । उदाहरणका लागि तातोपानी भन्सार नाकाबाट साउनमा ३२ करोड रुपैयाँको राजस्व उठाउने लक्ष्य राखिएकोमा ५३ करोड रुपैयाँको उठेको छ । यो लक्ष्यको तुलनामा ६५ प्रतिशत बढी हो । यसैगरी रसुवागढी नाका भन्सार कार्यालयबाट साउनमा ८० करोड रुपैया“को राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ४ करोड रुपैया“को राजस्व उठेको छ । यसरी तातोपानी र रसुवा नाकाबाट साउनमा १ अर्ब १२ करोडको भन्सार महसुल उठ्ने लक्ष्य लिएकोमा १ अर्ब ५२ करोड रुपैयाँ असुल भएको छ ।

यी नाका निर्वाध रूपमा सञ्चालनमा आएसँगै नेपाल तर्फको निर्यात व्यापार पनि वृद्धि भएको छ । तर मानिसको आउजाउमा भने चीनले अझै पनि कडाइ गरेको छ । जसका कारण यी दुई नाकाबाट हुने पर्यटकको अवागमन ठप्पजस्तै छ । अब तिज, दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वहरू नजिकै आउँदैछन् । पर्यटकीय सिजन पनि सुरु हुँदै छ । असोजको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तय भएको छ । नेपाल र चीनबीचको सम्बन्ध पूर्ववत अवस्थामा फर्काउन हरसंभव प्रयास गर्नु जरुरी छ । किनकी चीनसँगको असल सम्बन्ध जहिले पनि नेपालको हितमा हुन्छ ।

प्रतिक्रिया