नेपालमा बंगलादेशी पर्यटक

नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको छ । शुक्रबार बंगलादेशका सात सय पर्यटकहरु नेपाल घुम्नका लागि जहाज चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । यो टोली ऐतिहासिक सम्पदाको भ्रमण गर्न नेपाल आएको हो । बंगलादेशको पर्यटक टोलीलाई गरिएको स्वागतका विषयमा विभिन्न खालका टिप्पणी नभएका होइनन् । तर कुनै पनि देशबाट एकै चोटी विमान मार्फत यति धेरै पर्यटक आएको सायद यो पहिलो अवशर हो । नेपाल पर्यटन बोर्डको काम भनेकै पर्यटन व्यवसायको पर्वधन गर्नु हो । विदेशी पर्यटकलाई सेवा सात्कारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्नु हो । यसका लागि बोर्ड सँग राम्रै बजेट छ । बजेट खर्चगरी कमिसन खाने नियतका साथ गरिएको स्वागत होइन भने यसलाई नकरात्मक रुपमा लिनु जरुरी छैन । नेपालको पर्यटन विकासका लागि बंगलादेशले राम्रो संभावना बोकेको यर्थाथतालाई नजर अन्दाज गर्न मिल्दैन ।

हिँजोको बंगलादेश र आजको बंगलादेशमा धेरै ठूलो अन्तर आइसकेको छ । १७ करोड जनसंख्या रहेको बंगलादेशले विगत सात वर्ष देखि बार्षिक सरदर ७ प्रतिशतका दरले संवृद्धि हासिल गरेको छ । पछिल्लो एक दशकको आँकडा हेर्ने हो भने छोटो अवधीमा सबै भन्दा बढी आर्थिक प्रगति गर्ने देशहरुको सूचिमा बंगलादेशको नाम अग्रपंक्तिमा आँउछ । बंगलादेशको जिडिपी नेपालको भन्दा करिव दोब्बर छ । जीडिपीमा बंगलादेशले भारतलाई पनि उछिनिसकेको छ ।

चमत्कारिक आर्थिक उन्नती सँगै बंगलादेशमा धनाढ्यहरुको संख्या पछिल्लो समयमा ५ करोड नाघेको अनुमान गरिएको छ । बार्षिक १ करोड वंगलादेशीहरु पर्यटकका रुपमा विदेश भ्रमणमा जान थालेको तथ्यांक छ । तर पछिल्लो समय विविध कारणले गर्दा बंगलादेशी पर्यटकहरुको नेपाल आउने क्रम घटेको छ । उदाहरणका लागि सन् २०१७ मा २९ हजार ६० जना बंगलादेशी नेपाल आएकोमा सन् २०१९ मा घटेर २५ हजार ९ सय ५९ मात्र आएका थिए । त्यस पछिका तीन वर्ष त कोरोनाको कहरका कारण बंगलादेशी पर्यटक घट्नु स्वभाविकै थियो । तर कोरोनाको कहर सकिए पछि पनि र चमत्कारिक आर्थिक उन्नती हासिल गरिसकेपछि पनि बंगलादेशी पर्यटक आगमनमा सुधार हुन सकेको छैन । पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बंगलादेशबाट करिव १३ हजार छ सय पर्यटक नेपाल आएका छन् ।

नेपालका पोखरा, चितवनजस्ता गन्तव्य बंगलादेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । धनाढ्य बंगालदेशीहरु भने क्यासिनो खेल्न नेपाल आउने गर्छन् । परिवारसहित आरामदायी यात्रामा निस्कनेहरु पनि उल्ल्ेख्य छन् । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटका लागि समेत कतिपय बंगालादेशी पर्यटक आउने गरेका छन् । बंगलादेशका पर्यटकलाई प्राथमिकता दिँदा तुलनात्मक रुपमा नेपाललाई बढी फाइदा हुन्छ । पहिलो कुरा त नेपालमा असारदेखि भदौसम्म पश्चिमा तथा चिनियाँ पर्यटकका लागि आफ सिजन मानिन्छ । त्यतिबेला नेपालका होटलहरु खाली हुन्छन् । तर बंगलादेशीहरु यही सिजनमा विदेश घुम्न निस्कन्छन् । यो सिजनमा डुवान तथा अत्याधिक गर्मीका कारण बंगलादेशको आर्थिक गतिविधि करिव करिव ठप्प हुने भएकोले उनीहरु विदा मनाउन विदेश घुम्न निस्कन्छन् । यसैगरी भारतले आफ्ना शहरमा उडान अनुमति नदिएका कारण पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल खाली छ । बढीमा १ सय ५० यात्रु क्षमताको विमान अवतरण गर्नसक्ने पोखरा विमानस्थलबाट १५ सय किलोमिटर भन्दा लामो गन्तव्यमा व्यवसायिक उडान संभव छैन ।

करिव १ हजार किलोमिटर दुरीका बंगलादेशका विमानस्थलहरु पोखराका लागि निकै उपयुक्त हुन सक्छन् । बार्षिक १ करोड बंगलादेशीहरु विदेश घुम्न निस्कन्छन् । जसमध्ये १० प्रतिशतलाई मात्रै नेपाल ल्याउन सक्ने हो भने पोखरा विमानस्थल मज्जाले संचालनमा आउन सक्छ । नेपालको पर्यटन व्यवसायले काँचुली फेर्छ । नजिक दूरीमा रहेको बंगलादेश नेपालका लागि पर्यटकीय सम्भावना बोकेको बजार हो । बंगलादेशीका लागि नेपालका हिमाल तथा हावापानी पर्यटकीय हव हुन् । नेपालको पर्यटन प्रर्वधनका लागि बंगलादेशका पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम ल्याउन ढिलाई भइसकेको छ ।

प्रतिक्रिया