ड्राइभर भिसामा साउदी गएर कुकुर मार्नेको ब्यथा

काम पाएका मध्ये सात स्वदेश फर्किए

दोहा । ड्राइभर भिसामा साउदी पुगेका २२ नेपालीलाई कुकुर मार्ने काम दिएपछि उद्धार माग गर्दै आफन्त वैदेशिक रोजगार विभाग निवेदन दिएपछि सात जना नेपालीको उद्धार भएको छ ।
काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट रोजगारीका क्रममा साउदीको पुगेका २२ मध्ये सात जनालाई उद्धार गरी स्वदेश फर्काइएको हो ।

उनीहरूले उद्दारको लागि अन्तर्राष्ट्रिय रोल्पाली समाज साउदी, नेपाली साझा मञ्च, नेपाली रेस्टुरेन्ट लालीगुराँसका सञ्चालक याम तमुलगायतलाई उद्धारका लागि अनुरोध गरेका थिए । उद्दार सहजीकरणका लागि रियादस्थित नेपाली दूतावाससँग सहकार्य गरी सम्बन्धित मेनपावर र कम्पनीसँग समन्वय गरेका थिए ।
बाँकी रहेका १५ पीडितलाई पनि उद्धारका लागि मेनपावरले ४५ दिन लिखित सहमति गरेको छ । अलपत्र परेका नेपालीका आफन्तले मेनपावरविरूद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनासाथ मेनपावर सञ्चाल दीपक बस्नेतले वैदेशिक रोजगार विभागसँग साउन १८ गते उद्दारका लागि ४५ दिनको समय मागेका थिए ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरले उनीहरूलाई ड्राइभर भिसामा साउदी पुर्याएर कुकुर मार्ने काम दिएपछि अलपत्र परेका थिए । पटक–पटक मेनपावर कम्पनीलाई उद्धारको आग्रह गर्दा पनि नसुनेपछि विभिन्न जिल्लामा रहेका उनीहरूका आफन्तलाई काठमाडौं पठाएर उद्धारका लागि मेनपावर तथा वैदेशिक रोजगार विभागलाई दबाब दिएका थिए ।

दलाललाई चर्को पैसा बुझाएर टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका उनीहरूले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म बुझाएर उनीहरू त्यहाँ पुगेका थिए ।

पीडितहरूले यसअघि एक भिडियो सन्देश जारी गर्दै मेनपावरले ड्राइभर भिसामा साउदीको रिकन्स्ट्रक्स्न एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा पठाएको भए पनि अहिलेसम्म कुनै लाइसेन्स तथा अकामा पनि नबनाई दिएको अलपत्र अवस्थामा छोडेको बताएका थिए ।

पीडितहरूका अनुसार ६ महिना काम गरेको भए पनि अहिलेसम्म दुई महिनाको मात्र तलब दिएको र बाँकी चार महिना तलब नदिएको बताएका थिए । नेपालबाट मेनपावर कम्पनीले महिनाको १ हजार ५ सय साउदी रियालसम्म तलब हुने आश्वासन दिएर पठाएको भए पनि अहिले सम्झौता अनुसारको काम र तलब नपाएको भन्दै उनीहरूले भिडियोमार्फत गुनासो पोखेका छन् ।

उनीहरूले सम्झौता पत्रमा उल्लेख गरिएअनुसार काम र तलब माग्दा कम्पनीले प्रशासनले उल्टै शारीरिक तथा मानसिक यातना दिने गरेको बताएका थिए । यस मेनपावरबाट साउदी अरब पुगेका सयाैं नेपाली कामदार अझै पनि अलपत्र परेको बताइएको छ ।

प्रतिक्रिया