घुमाउनेघाट पुलको कथा

तनहुँको दमौली र चितवनको नारायणगढलाई छोटो दुरीले जोड्न त्रिशूली नदीमाथि घुमाउनेघाटमा पुल निर्माण थालिएको १० वर्ष भयो । तर यो अवधिमा कामको भौतिक प्रगति जम्मा ३५ प्रतिशत मात्रै भएको छ । जम्मा १ सय ५ मिटर लम्बाइ सिंगल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरस“ग सम्झौता भएको थियो । सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपथ्र्यो । तर चौथोपटक गरी २०८० असार ३० गतेसम्म म्याद थप भएको सडक विभागले जनाएको छ । निर्माणको काम यही रफ्तारमा हुने हो भने यो पुल निर्माण सम्पन्न हुन अझै १७ वर्ष लाग्ने देखिन्छ । पृथ्वीराजमार्गको दमौली बजारबाट मुग्लिन–नारायणगढ राजमार्गको घुमाउनेघाट जोड्नका लागि यो पुल अपरिहार्य छ । यो पुल निर्माण भएमा पृथ्वीराजमार्गको दमौली बजारबाट नारायणगढको दुरी करिव २३ किलोमिटर छोटिन्छ । हाल ६२ किलोमिटर रहेको दमौली र नारायणगढको दुरी ३९ किलोमिटरमा झर्छ । आवश्यक पर्दा काडमाडौं–पोखरा पनि यही मार्ग प्रयोग गर्न सकिन्छ । एकातिर दैनिक करिव १० हजार गाडी ओहोरदोहोर गर्ने पोखरा–नारायणगढको दुरी २३ किलोमिटर घट्ने अर्कोतिर वैकल्पिक व्यवस्थासमेत हुने भएका कारण बुद्धसिंह सडकले आर्थिक तथा रणनीतिक रूपमा ठूलो महत्व राख्छ । १० हजार सवारी साधन ओहोरदोहोर गर्ने सडकको लम्बाइ २३ किलोमिटर घट्नु भनेको वार्षिक अर्बाैं रुपैयाँको इन्धन बचत हुनु मात्रै होइन, लाखौँ यात्रुहरूको अमूल्य समय पनि बचत हुनु हो ।

यतिबेला पृथ्वीराजमार्गको आँबु खैरेनी–पोखराखण्ड फराकिलो बनाउने काम भइरहेका कारण यात्रुले सास्ती पाइरहेका छन् । अर्कोतर्फ दुई वर्षअघि मात्रै फराकिलो बनाउने काम सम्पन्न भएको मुग्लिन–नारायणगढ खण्डमा पनि पहिरोले दुःख दिने गरेको छ । घुमाउनेघाटको पुल निर्धारित समयमै सम्पन्न भएको भए यतिविधि सास्ती हुने नै थिएन । यात्रुले विकल्प पाउँथे । घुमाउनेघाटमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म आवतजावत हुन्छन् । बास्तवमा मुग्लिन–नारायणगढ सडक खण्ड तथा पृथ्वी राजमार्गको आँबुखैरेनी–दमौली सडकखण्डको बिस्तारको काम थालिनु अगावै बुद्धसिंह सडक तथा घुमाउनेघाटको पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । यसो गरिएको भए सुल्टो पथ्र्यो ।

एकातिर आर्थिक तथा रणनीतिक हिसाबले देशकै महत्वपूर्ण, अर्कातिर राष्ट्रपति रामचन्द्र पौडेल मात्रै होइन, नवोदित राजनीतिक शक्ति रास्वपाका ज्वाजल्यमान नेताद्वय रवि लामिछाने र डा.स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रलाई जोड्ने पुलसमेत हो यो । यसबाहेक पनि तनहुँको राजनीतिक तहमा ठूलै पहुँच छ । यति मात्रै होइन, सिंगो गण्डकी प्रदेशका लागि आर्थिक समृद्धिको ढोका खोल्ने सामथ्र्य बोक्न सक्ने पुल हो यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाकैमुनिको पुल हो यो । यस्तो पुलको त यो हालत छ भने मुलुकका अन्य विकास आयोजनाहरूको हालत के भएको होला ? भ्रष्टाचार तथा बेथितिको चरम नमुना हो यो । सडक नै नभएका नदी तथा खोलामा, दिनको दुई–चार वटा पनि गाडी ओहोरदोहोर नगर्ने सडकमा निर्धारित समयमै पुल बनेका उदाहरणहरू पनि छन्, तर अत्यावश्यकीय ठाउँमा भने अनेकथरी बखेडा निकालेर ढिलाइ गरिनु आफैँमा रहस्यमय छ ।

प्रतिक्रिया