नेपाली कांग्रेसका सभापति एवं संसदीयदलका नेता शेरबहादुर देउवाले सुन तस्करी रोक्न आयात खुला गर्नुपर्ने बताएका छन् । आइतबार बसेको संसदीयदलको बैठकमा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । माग अनुसार आयात हुन नपाउँदा सुन तस्करी बढेको र राजस्व गुमेको तर्क कांग्रेस सभापति देउवाको छ । सरसर्ती हेर्ने हो भने देउवाको यो तर्क गलत होइन । त्यसमाथि पनि पाँच–पाँचपटक देशको प्रधानमन्त्री बनेको नेता हुन् देउवा । नेपालमा व्यावसायिक प्रयोजनका लागि व्यक्तिले सुन आयात गर्न सक्ने व्यवस्था छैन ।
नेपाल राष्ट्र बैंकको नेतृत्वमा बैंकहरूले कोटा प्रणालीअनुसार व्यावसायिक कारोबारका लागि सुन आयात गर्न पाउने प्रावधान छ । व्यक्तिले तीन तोलासम्म सुनका गहना ल्याउन पाउने कानुनी प्रावधान भए पनि व्यावसायिक प्रयोजनका लागि व्यक्तिले सुन ल्याउनै नपाउने भएकाले चोरी तस्करीको माध्यमबाट सुन आउने गरेको यथार्थतालाई नकार्न सकिन्न । नेपाल राष्ट्र बैंकले दैनिक १० देखि २५ किलोसम्म सुन बजारमा उपलव्ध गराउने गरेको छ । त्यो सुनले नपुगेकै कारण तस्करी भएको हो भन्ने पूर्वप्रधानमन्त्री देउवाको तर्कलाई नाजायज भन्न मिल्दैन । तर सुन तस्करीको कारण यत्ति मात्रै होइन । स्वदेशभित्र हुने खपतका लागि मात्रै क्विन्टलका क्विन्टल सुन तस्करी हु“दैन । भारतमा सुन पुर्याउनका लागि तस्करहरूले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका हुन् । किनकी नेपाल र भारतमा सुनको मूल्य उस्तै उस्तै छ, तर अन्य देशहरूमा भने नेपालमा भन्दा झण्डै प्रतितोला १७ हजार रुपैयाँ सस्तो छ । अर्थात सुनको अन्तर्राष्ट्रिय बजार मूल्य नेपाल र भारतमा भन्दा प्रतितोला १७ हजार रुपैयाँ सस्तो छ ।
सुन आयतको कोटा नतोक्ने हो र भन्सार तिरेर जति पनि सुन ल्याउन दिने हो भने तस्करी घट्न सक्ला, र राजस्व पनि बढ्न सक्ला, तर नेपालमार्फत भारतमा सुन तस्करी हुँदैन भन्ने कुराको सुनिश्चितता कसरी गर्ने ? एउटा मात्रै ढोका भएको र चेक जाँच उपकरण तथा सुरक्षाको भरपुर व्यवस्था भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त सुन तस्करी रोक्न सकिएको छैन भने करिब दुई हजार किलोमिटर खुला सिमाना भएको भारतमा कसरी सुन तस्करी रोक्न सकिएला ? भन्ने प्रश्न निकै पेचिलो छ । भारतीय बजारलाई लक्षित गरेर नेपाली व्यापारीहरूले सुन आयात गर्दा प्रसस्त पैसा कमाउन सक्छन्, नेपाललाई पनि ठूलै परिमाणमा राजस्व आम्दानी हुनसक्छ । तर त्यसका लागि डलरको स्रोत के ? एक वर्षअघि मात्रै नेपालले डलरको कमी भएका कारण केही बस्तुको आयातमा बन्देज लगाएको होइन र ? अत्यावश्यकीय बस्तु आयात गर्नसमेत डलरको अभाव हुने अवस्थामा सुन आयात खुला गर्नुपर्ने कांग्रेस सभापति देउवाको सुझाव अर्थपूर्ण छ ।
परिमाणात्मक बन्देज लगाउँदा पनि सुन आयातका लागि वार्षिक ५० अर्ब रुपैयाँ रकम बिदेसिने गरेको छ । परिमाणात्मक बन्देज नलगाउँदा एक खर्ब रुपैयाँभन्दा बढी बिदेसिने निश्चित छ । यति ठूलो परिमाणमा अनुत्पादक बस्तु आयात हुँदा मुलुकमा रोजगारी बढ्छ कि घट्छ ? भन्ने हेक्का पाँच–पाँचपटक प्रधानमन्त्री भइसकेका देउवालाई अवश्य पनि हुनुपर्ने हो । औद्योगिक कच्चा पदार्थ आयातमा भन्दा सुन आयातमा बढी फाइदा हुने देखेपछि व्यापारीहरू त्यतै लाग्छन् । अर्को कुरा भारतले सुन आयातमा किन परिमाणात्मक बन्देज लगाएको छ ? किन चर्को भन्सार लगाउने गरेको छ ? भन्नेतर्फ छिमेकीको नाताले नेपाल पनि गम्भीर बन्नुपर्छ, छिमेकीलाई जानाजान अप्ठेरोमा पार्दा भोलि छिमेकीले पनि हामीलाई अप्ठेरोमा पार्न सक्छ । सुन तस्करी नियन्त्रणका लागि नाँना भा“तीका तर्क तथा कुतर्क पेस गर्नुपर्ने कुनै आवश्यकता छैन ।
एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारलाई इमानदारीतापूर्वक सञ्चालन गरिदिए पुग्छ । ढोका एउटा मात्रै छ । सुन नजिक आउने बित्तिकै टुइँय कराउने उपकरणहरू ढोकामा जडान गरिएको छ । पा“च मिटर तल जमिनमुनि पुरिएको एक तोला सुनसमेत पत्ता लगाउन सक्ने उपकरणहरू विमानस्थल भन्सार कार्यालयमा छन् । चाहिएजति कर्मचारी र सुरक्षाकर्मी छन् । यसको सही परिचालन गर्न छाडेर सुन आयात खुला गर्नुपर्ने तर्क पाँच–पाँचपटक प्रधानमन्त्री भइसकेको र फेरी प्रधानमन्त्री बन्न ‘रोस्टर’मा उभिएको नेताले अघि सार्नु भनेको जनतालाई थप निराश बनाउनु हो ।
प्रतिक्रिया