स्रोत नखुलेको ९ लाख रकमसहित एक जना पक्राउ

गोलबजार । सिरहाबाट स्रोत नखुलेको करिब रु ९ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको रु दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको रु ६ लाख गरी जम्मा रु आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो ।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया