‘क्विन्टल सुन साहु’का ज्यामी बाबु

यही साउनको ३ गते अहिलेम्मकै ठूलो परिमाणमा सुन (पहेँलो धातु) बरामत भएको समाचार बाहिरियो । राजधानी मात्रै होइन, मुलुकै सुन समाचारले तात्यो । जब सुन भित्र्याउने व्यापारीको नाम दोलखाका २१ वर्षे ठिटो दिलीप भुजेल भएको खुलासा भयो, त्यसले अर्के तरंग पैदा ग¥यो । समाचार सुन्ने, लेख्ने र पढ्नेका लागि मात्रै होइन, दोलखा घर भएका र भुजेलको परिवार चिन्नेका लागि पनि यो आश्चर्यजनक खबर बन्यो । उनको पारिवारिक अवस्था र आर्थिक अवस्था जानेकाहरू तिन छक्क परे । ‘यो हुनै सक्दैन, दुई छाक खान धौ धौ भएको भुजेलले अर्बौको सुन कसरी ल्याउन सक्छ ?’ भन्दै थिए उनीहरू । त्यो आश्चर्यजनक अविश्वास अहिले पनि उस्तै छ ।

घरको आर्थिक अवस्थाले थेग्न नसकेपछि १२ कक्षा पढ्दापढ्दै धन कमाउला र जीवनमा रमाउला भनेर राजधानी छिरेका दिलीप यति बेला एक क्विन्टल सुन तस्करी प्रकरणमा हिरासतमा छन् । कानुनी रूपमा उनको नाममा दार्ता भएको ‘रेडी ट्रेड’ कम्पनीले सुन नेपाल भित्र्याएको देखिन्छ । तर, उनका बाबु रामबहादुर भुजेल यो मान्न तयार छैनन् ‘मेरो छोरा सय किलो सुन तस्करी गरेको आरोपमा हिरासतमा छ । मैले भने, जीवनमा अहिलेसम्म दुई किलो नुन पनि एकैपटक किन्न सकेको छैन ।’ उनको भनाइमा कतै छलकपट वा बनावटी देखिन्न । कैयौँ दिन साबुन पानी नपरेका झै लाग्ने मैला साधारण लुगा र धुलाम्मै चप्पलमा भेटिएका उनको हुलियाले भन्छ, उनको घरमा एक बोरा खाने चामल पनि छैन । उनले भने, ‘घरमा एक बोरा अन्न छैन बिहान बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ता छ हामीलाई । त्यसमाथि यो सुनको भाउतो आइलागेको छ ।’

दोलखाको मेलुङ घर भएका दिलीपले एक वर्ष अगाडि आफैँले मनपराएर भित्र्याएकी श्रीमतीलाई अहिलेसम्म चार आना सुनको मुन्द्री लगाइदिन सकेका छैनन् । गाउँमा रहेकी श्रीमती समेत चकित छिन्, कानमा एक जोर मुन्द्री झुण्डाइदिन नसक्ने श्रीमानले सय किलो सुन किनेर ल्याए भन्ने सुन्दा । न हुन पनि किन ? दिलीपको नाममा रहेको कम्पनीले नेपाल भित्र्याएको सुनको मूल्य एक अर्बभन्दा बढी मूल्यको छ । एक अर्ब कति हो उनको परिवारलाई पत्तो छैन । मान्छेले अनुमान लगाउँदा अर्बौं सुनका मालिकको सान सौकत कम छैन होला भन्छन् नै । महँगो गाडी, आलिसान महल यस्तै अनुमान लगाउँछन् । तर, उनी भने सय किलो सुन तस्करी अभियोगमा पक्राउ पर्दाका केही घण्टा अघिसम्म मासिक पाँच हजार रुपैयाँमा मजदुरी गर्थे । पक्राउ पर्दासम्म न सुनको पत्तो पाए न तस्करी के हो भन्ने नै ?

दिलीपलाई के थाहा कुनै दिन आफैँले बनाएको नागरिताको सही प्रयोग गर्न नसकदा यो हविगत बेहोर्नुपर्ला भनेर ! उनका मामा रामकुमार भुजेलले एकदिन भने, ‘भान्जा तिम्रो नाममा एउटा कम्पनी खोल्नुप¥यो, २० हजार आउँछ ।’ महिना भरी काम गरेर पाँच हजार कमाउने उनका लागि २० हजार ठूलै रकम थियो । केही गर्नु पर्दैन, नागरिता दिएर केही कागजमा सहि गरे हुन्छ’ मामाले यति भनेपछि उनी लोभिए । सित्तैमा पाइने २० हजार उनले जीवनका लागि ठूलै ठाने । यता आफ्नै मामाले ल्याएको प्रस्तावमा उनले दायाँ दायाँ केही सोचेनन् । मामाको चिनजानमा रहेका भोजपुरका हर्कराज राईले भनेअनुसार गरिदिए । त्यहि २० हजार उनको लागि ठूलो अभिषाप भएको छ अहिले ।

केही समय पहिलासम्म ज्यामी काम गर्ने दिलीप दुई महिना अगाडिबाट साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगि बिक्री गर्ने काम गर्दै आएका थिए । त्यहाँ उनले खाने बस्ने सुविधासहित महिनाको पाँच हजार पाउने गरी काममा लागेका थिए । उनलाई चाउचाउ बनाउने ठाउँमा काम सिकौँला र आफैँ केही गरौँला भन्ने लोभ पनि थियो । तर उनको लोभ लामो समय टिक्न पाएन । भर्खर बिहे गरेकी श्रीमती गाउँमा छोडेर धन कमाउने लोभमा आएका उनको अहिले प्रहरी हिरासतमा बास छ । उनले सुन तस्करी गरेको पत्याउन सबैलाई गाह्रो छ । उमेर र अनुभवले अल्लारे दिलीप बाबु भेटन जाँदा निरीह बन्छन् । यो संकटबाट कसरी उम्कने हो थाहा छैन उनीहरूलाई । न त बाबु छोराका बीचमा नै त्यस्तो केही कुरा हुन्छ ।

दिलीपका बुबा रामबहादुर बिहान ८ बजेदेखि रत्नपार्कमा काम पाइन्छ कि भनेर ढुकेर बस्छन् । ‘बिहान ८ बजेदेखि रत्नपार्कमा कामको खोजीमा ढुकेर बस्छु । त्यहाँ म जस्ता एक डेढ सय हुन्छौँ,’ रामबहादुरले भने, ‘कोही मान्छे आफ्नो नजिक आउँदा पनि कामदार खोज्न आएकी भन्ने आशा लाग्छ । कहिले काम पाउछौँ कहिले त्यसै फर्कन पर्छ ।’ काम पाएको दिन उनले हजार १२ सय कमाउँछन् । बाबुको दैनिकी यस्तो छ । उता छोरा सुन तस्करीको आरोपमा हिरासतमा ! उनले मलिन अनुहार बनाउँदै भने, ‘मेरी श्रीमतीको नाक कानमा एक साना मुन्द्रा छन्, त्यो पनि उनको माइतीले दिएको, मैले त केही दिन सकेको छैन । बिहान बेलुकाको छाक टार्नै मुस्किल छ । कसरी जोड्नु सुन ! बुहारीलाई चाहिँ बाबुछोराले कमाएर कान भरि दिउला भन्ने थियो ।’ उनले घरको अवस्था सुनाए । दुई पोका नुन एकैपटक बोक्ने आँट नभएका उनीहरू यति बेला सुन तस्करको आरोप झेल्दै छन् । फोटामा देखाइएका सुन हो रे भन्दा अचम्म मान्छन् । एक बोरा भरी चामल किन्न मुस्किल पर्ने उनले पत्याउन पनि कसरी !

दिलीपका बुबाले भने, ‘धन कमाउने धनी, सास्ती भोग्ने गरिब भएको छ ।’ हुुन पनि उनी कानुनी रूपमा नराम्रोसँग फसेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब एक सय किलो सुन बरामद हुँदा सुनसँग ‘कनेक्सन’ देखिएका हर्कराज राई बुढानीलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानीलकण्ठमा बस्दै आएका थिए । अहिले उनी पनि हिरासतमा छन् । दिलीपका बुबाले भने, ‘पक्राउ पर्नु केही दिनअघि छोरोका नागरिकता पनि उनीहरूले लगेका रहेछन् ।’ किन लगे भन्ने बारेमा उनलाई थाहा छैन । पक्राउ पर्ने र दोषी देखिएका मध्ये उनले चिनेको आफ्नै जेठान मात्रै हो । अरू को हुन् कहाँका कुन उनलाई केही पत्तो छैन । समाचारमा आएको नाम सुनेका मात्रै हुन् ।

००००

नेपालमा १९ वर्ष कैद भुक्तान गरेर आफ्नो देश फर्किएका कुख्यात सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराजले भनेका थिए, ‘नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु ।’ उनले हाम्रो विमानस्थलको सुरक्षा व्यवस्थाप्रति धावा बोल्दै भनेका थिए । बेला बेला विमानस्थलमा देखिएको हेलचेक्राइँ वा त्यहाँ खटिने कर्मचारीको नियत हेर्दा उनले भनेको सही सावित हुन्छ । शोभराजको उक्त दाबीलाई सत्य सावित गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लापरवाहीका घटना अनगिन्ती छन् । पछिल्लो समय सय किलो सुन प्रकरण पनि त्यसैको एक कडी हो । हङकङबाट तस्करी गरी ल्याइएको एक क्विन्टल हाराहारी अवैध सुन विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर सजिलोसँग बाहिरियो कसरी ! विमानस्थलबाट सुन बाहिरिएका घटना यो पहिलो होइन् । अझ उदेकलाग्दो कुरो के छ भने, यति बेला नेपाल सरकारसँग भन्दा तस्करीको सञ्जालसँग सुन गाल्ने मेसिन शक्तिशाली छन् । यसले पनि नेपालमा सुन तस्करीको अवस्था डरलाग्दो छ भन्ने देखाउँछ ।

दिलीपकी ठुलीआमाका अनुसार उनले मंगलबार र बुधबार दिनभर फ्याक्ट्रीमै काम गरेका थिए । यस्तै साँझपख भने उनी चाउमिन डेलिभरी गर्न हिँडेका थिए । ‘बुधबार पनि साँझ सामान डेलिभरी गरेर डेरामा फर्किएको थियो । कसैलाई भेट्न भनेर १० बजेतिर बाहिर निस्किएको हो, अरू कुरा हामीलाई थाहा भएन,’ ठुलीआमाले भनिन् । त्यसपछि उनलाई प्रहरीले पक्राउ ग¥यो । पत्याउन कठिन कुरो यहि हो, महिनाको पाँच हजारमा काम गर्ने ठिटोले अबौँको सुन तस्करी कसरी ग¥यो भन्ने । नागरिकता दिएवापतको २० हजार उनको घाँटीमा अड्किएको बल्छी जस्तै भएको छ ।

दिलीपका बुबा रामबहादुर भुजेलका अनुसार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने उनका जेठान रामकुमारले भनेअनुसार नै दिलीपले कम्पनी खोलिदिएका हुन् । कम्पनी र त्यसको कारोबार बारे भने उनी बेखबर थिए । मामाले कम्पनी कसलाई चलाउन दिएका थिए, दिलीपलाई त्यो पनि थाहा छैन । जेठानले गर्ने कामका बारेमा पनि रामबहादुर पूर्ण जानकार छैनन् । यद्यपि कम्पनी खोलिसकेपछि बैंक खातासमेत खोलेर चेक र केही कागजमा हस्ताक्षर गर्ने लगायतका काम सकिएपछि दिलीपलाई २० हजार रुपैयाँ दिइएको थियो । यति ठूलो तस्करीको अभियोग लागेको उनले पाएको यति हो ।

रामबहादुरका अनुसार उनको जेठानकै विश्वास गर्दा छोरा तस्करी अभियोगमा हिरासतमा भए पनि जेठानको आर्थिक अवस्था पनि उस्तै हो । ‘जेठानले कोठमा भाडा तिर्न नपाएको कति भइसक्यो,’ उनले भने, ‘जेठान र मसँगै ज्यामी गर्थेउँ ।’ जेठानले तिब्बतीयनको घरमा काम गर्ने बारेमा उनी पूर्णरूपमा जानकार छैनन् । दिनभरी ज्यामी कामको आसमा चाहार्नुपर्ने उनलाई यति बेला छोरा हिरासतमा भएर अर्को भाउतो आइलागेको छ । छोराको माया लाग्छ । भेट्न जान्छन्, के गर्ने कसो गर्ने उनले केही भेउ पाउन सकेका छैनन । छोरालाई बाहिर कसरी निकाल्न सकिन्छ ? उनले केही बुझेकासम्म छैनन् । न त उनी छोरालाई हप्काउन सक्छन् । ‘भेट्न जाँदा केही भन्दिन अनुहार देख्दा माया लाग्छ । मैले केही गरेको छैन भन्छ । गरे जस्तो पनि लाग्दैन,’ उनले छोरा भेट्दाको अनुभव सुनाए ।

००००

‘छोरालाई सुन तस्करी आरोपमा पक्राउ ग¥यो भन्ने सुन्दा म भकुण्डेबेँसीमा ज्यामी काम गर्दै थिएँ, त्यो खबर सुनेपछि के गर्ने सोच्नै भ्याइन र गाउँ गएँ । गाउँ गएर पनि कसैलाई केही भनिन्, घरमा परिवारलाई भनँे,’ उनले सुरुका दिन सुनाए । त्यसपछि के गर्ने भन्दै उनी काठमाडौं आएर छोरालाई भेटे । भेटमा बाबु छोराको केही कुरा भएन । भन्ने कुरा पो के नै थियो र ? ‘मैले कम्पनी खोल्ने भनेर नागरिकता दिएको हो । के कम्पनी खोल्ने के काम गर्ने केही थाहा भएन,’ भेटमा छोराले भनेको सम्झँदै उनले भने, ‘मामाले कागजमा सही गर भने, गरिदिएँ । २० हजार पाउने भनेर सही गरेको हुँ । २० हजार लिएँ ।’ छोराले लिएको २० हजार के ग¥यो उनले सोधेनन् । न त यस्तो काम किन गरेको भनेर छोरालाई हप्काउने आँट नै आयो ।
दोलखामा उनको टिनले बारेको सानो घर छ । त्यो घरमा उनको पाँच जनाको परिवार बस्छन् । उनको घर भने पनि जमिन भने आफ्नो भने होइन् । उनले भने, ‘गाउँ गएर के गर्नु ? न जोत्ने जमिन छ न खन्ने बारी ! चार वटा बाख्रा र एउटा भैँसी मात्रै छ, त्यो श्रीमती र बुहारीले हेर्छन् ।’ सुन्दा अचम्म लाग्छ सय किलो सुनको तस्करी अभियोग लागेका भुजेलको सम्पत्ती भनेको टिनले बारिएको घर, चार थान बाख्रा र एक भैँसी । भावुक हुँदै रामबहादुरले भने, ‘मलाई त मान्छेसँग भेट्न पनि मन लाग्दैन के के सोध्छन् । आफ्नो दुःख र पीडा पहिला आफैँलाई मात्रै थाहा थियो । जसोतसो भोगेकै थियौँ । अब दुनियाँले थाहा पाए । घर कस्तो सम्पत्ती कति ? गर्ने काम के भनेर कतिलाई सुनाउनु !’ बोल्दै जाँदा उनी बेला बेला अक्मकाउथेँ । कहिलेकाहीँ भावुक हुन्थेँ । अनुहार टीठलाग्दो, लवाइ मायालाग्दो । एक घण्टाको बसाईमा लाग्यो, यस्ता सोझा गरिबलाई किन फसाइयो होला !
अझ उनलाई पत्रकार भेट्न नपरे हुन्थ्यो जस्तो लाग्छ । ‘तपाईंको छोराले एक क्विन्टल सुन ल्याएको रे हो ?’ यस्तै प्रश्नसहित उनको अगाडि टेलिभिजनका क्यामेरा र बुम तेर्सिन्छ । उनले मसँग पनि भेट्न आनकान गर्दे भने, ‘कतिलाई भेटेर गुनासो सुनायो केही हुँदैन । किन भेट्नु ? भेटेर के हुन्छ ? उनको विरक्ति स्वभाविक थियो । ‘कतिलाई सुनाएँ कसैले केही गरेन,’ आशालाग्दो अनुहार बनाएर उनले निश्छल मनको बह पोेखे, ‘सबै जना समस्या मात्रै सुन्छन्, सम्पत्ती र काम सोध्छन् । तिम्रो छोरा यसरी निस्कन सक्छ भन्दैनन् ।’

००००

रामबहादुरको काठमाडौं बसाईं पनि कम कष्टकर छैन । उनले आफैँ कोठासमेत भाडामा लिन सकेका छैनन् । आफू जस्ता चार–पाँच जना मिलेर एउटै कोठमा बस्ने गरेको उनले सुनाए । ‘गाउँ गयो, फर्कर आउँदा कोठमा सँगै बस्ने साथी अर्को हुन्छन् ।’ उनले भने, ‘आफैँ भाडामा लिएर बस्न सकिन्न । काम र कमाइको ठेगान भए पो भाडामा कोठा लिनु ?’

उनलाई मनमा भने छोरा निस्कन्छ भन्ने छ । ‘प्रहरीले राम्रोसँग छानविन गरोस् । छोराले सुन तस्करी गरेको हो भन्ने प्रमाण र आधार देखियो भने जेल बस्छ । दोषी नै हो भन्ने प्रमाण भए जेल बस्यो भने केही भन्दिन । जो ग¥यो भोग्यो भनौला’ उनले भने, ‘मलाई छानविनमा केही भन्नु छैन । त्यतिका सम्पत्ती भए म दिनभरी ज्यामी कामको खोजिमा भौतारिन्थे होला ?’ उनले उल्टै प्रश्न तेस्र्याए । उनका विश्वास छ, आफ्नो आर्थिक अवस्था र काम हेरेर प्रहरी, कानुन र सरकारले पक्कै छोरालाई न्याय दिनेछ भन्नेमा ।

हिरासतमा भएका छोरा अल्लारे छन् । यता उनका बाबुले त उपल्लो तहमा कसैलाई चिनेको छ न केही जानेको । ‘मेरो छोराको कम्पनीले सुन ल्याएको भनेर समातेको छ । मेरो छोराको अवस्था घरको अवस्था सबै राम्रोसँग हेरुन् । निर्दोष र गरिबलाई फसाएर साहुले मुक्ति नपाओस् भन्ने मेरो माग छ’, उनले भने । उनले प्रहरी र सरकारको भूमिकामा कुनै शंका नभएको र राम्रोसँग छानविन गरयोस् भन्ने माग गरे ।

सय किलो सुन तस्कारी प्रकरणमा गएको सोमबार सम्ममा १८ जना पक्राउ परेका छन् । यही प्रकरणले संसद्समेत अवरुद्ध छ । यो पहिलो भने होइन यस्ता विषयमा कैयौँपटक अपराधीले उन्मुक्ति पाउने र निर्दोषलाई दोषी प्रमाणित गर्न लोभलालच देखाउन सम्मका काम हुने गरेका छन् । योपटक विगतका जस्ता कुनै कार्य नहोस् र नेपालको विमानस्थलबाट गैरकानुनी रूपमा आएका हात्ती होइन, सियो पनि छिर्दैन भन्ने कुराको आममान्छेलाई विश्वास दिलाइयोस् । फेरी पनि दिलीपजस्तो सोझा र निमुखालाई बलिको बोका बनाउन खोज्नेलाई कडा कारबाही होस् ।

प्रतिक्रिया