निर्माण थालिएको ३ वर्ष ७ महिनापछि सिस्नेखोला सुरुङ सडकको आकस्मिक सुरुङ सोमबार छिचोलिएको छ । २०७७ पुस ८ गतेदेखि मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङ समानान्तर रूपमा निर्माण थालिएको थियो । मुख्य सुरुङ छिचोलिन भने अझै पाँच सय मिटर बाँकी छ । यी दुवै सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । आकस्मिक सुरुङ चार मिटर लम्बाइको छ भने मुख्य सुरुङ सात मिटर चौडाइको छ । कुनै कारणले मुख्य सुरुङ अवरुद्ध हु“दा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै समानान्तर रूपमा आकस्मिक सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ–काठमाडौं वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिएका छन् । चार मिटर चौडाइमा साना सवारी साधनहरू दोहरै चल्न सक्छन् भने ठूला सवारी साधन एकतर्फी रूपमा मात्रै चल्न सक्छन् । तर मुख्य सुरुङ नछिचोलिएसम्म आकस्मिक सुरुङ मार्गलाई तत्काल प्रयोगमा ल्याइने संभावना भने न्यून छ । आकस्मिक सुरुङ छिचोलिनुको अर्थ हो, अब मुख्य सुरुङ छिचोल्नका लागि कुनै भौगर्भीक कठिनाई उत्पन्न हुने छैन । आगामी मंसिरसम्म मुख्य सुरुङ पनि छिचोलिने आयोजनाले जनाएको छ । सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ ।
थानकोटको सुरुङमार्ग निर्माणले साविकको सडक मार्गको दुरी उल्लेख्य घट्ने चर्चा सुन्ने गरिएको छ । तर यो चर्चा यथार्थ होइन । जम्मा तीन किलोमिटर मात्रै घट्ने हो । अहिले गुर्जुधारादेखि सिस्नेखोलासम्मको साविकको सडक दुरी आठ किलोमिटर लामो छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि चार किलोमिटरमा झर्नेछ । तर चार किलोमिटर मात्रै छोटिनु पनि सामान्य उपलव्धी होइन । खासगरी धादिङको सिस्ने खोलादेखि काठमाडौं थानकोटको नागढुंगा भन्ज्याङसम्मको करिब तीन किलोमिटर सडक खण्ड घुम्ती तथा उकालो भएका कारण सडक जामको ठूलो सास्ती उत्पन्न हुने गरेको छ । यो तीन किलोमिटर खण्ड छिचोल्न करिव एक घण्टा लाग्ने गरेको छ । सुरुङमार्ग सञ्चालनमा आए पछि यो सास्ती कम हुनेछ ।
यो सुरुङ मार्ग निर्माणमा निकै ठूलो रकम खर्च भएको छ । यो सुरुङ मार्ग निर्माणका लागि खर्च भएको २५ अर्ब रुपैयाँ भनेको हुम्लामा जनताले तिरेको करसमेत हो । त्यसैले यो सुरुङमार्गको उपयोग कसरी गर्ने ? भन्ने सन्दर्भमा सरकारले अहिलेदेखि नै कार्ययोजना बनाउनु जरुरी छ । पूर्वाधार विकासका नाममा ठूलो रकम खर्च हुने, तर ती पूर्वाधारको सदुपयोग गर्न नसक्दा प्रतिफल नआउने अवस्थाका कारण हाम्रो मुलुक ऋणमा चुर्लुम्म डुबेको हो । यो सुरुङ मार्ग सञ्चालनमा आउनासाथ धादिङ जिल्लाको गल्छीभन्दा पश्चिमको खण्ड पनि संघीय राजधानी काठमाडौं सहरको एउटा हिस्सामा परिणत हुने निश्चित छ । यो हिस्साको क्षेत्रफल पनि करिब करिब काठमाडौं उपत्यका जत्रै छ । गल्छीबाट जम्मा १७ किलोमिटर दुरीमा त्रिशुली उपत्यका पुग्न सकिन्छ । त्यसैले दलालहरूले जग्गा नओगट्दै सरकारले यस क्षेत्रका केही जग्गाहरू आफ्नो नाममा ल्याउनुपर्छ । पहिलो कुरा त काठमाडौं उपत्यकालाई पश्चिम नेपालसम्म जोड्ने बसपार्क सिस्नेखोला आसपासमा निर्माण गर्न सकिन्छ । यही क्षेत्रमा ठूलो अस्पताल खोल्न सकिन्छ । सुक्खा बन्दरगाह तथा गोदामहरू यही क्षेत्रमा राख्न सकिन्छ । समग्रमा भन्नुपर्दा काठमाडौं उपत्यकाको कहालीलाग्दो जनचाप थप बढ्न नदिन सरकारले गल्छीदेखि सिस्नेखोला तथा त्यस आसपासको क्षेत्रलाई उपयोगमा ल्याउन कत्ति पनि ढिलाई गर्नुहुन्न । यो सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट धुलिखेल पुग्नभन्दा काठमाडौंबाट नौविसे पुग्न छिटो र पायक पर्छ ।
प्रतिक्रिया