पर्यटकीय क्षेत्र नगरकोटमा पहिलो पटक प्राङ्गारिक उन्मुख तकारीको हाटबजार

काभ्रे । काभ्रे जिल्लाको पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाटबजार शुरु भएको छ । आजबाट प्राङ्गारिक उन्मुख तरकारीको हाटबजार सञ्चालनमा ल्याइएको हो । मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हाटबजारको नगरप्रमुख टोक बहादुर वाईबाले उदघाटन गरे । हाटबजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुने बताइएको छ । प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल व्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन वृद्धिमा सहयोग गर्न आग्रह गर्दै नगरप्रमुख वाईबाले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउन आग्रह गरे ।

‘नगरकोटका होटलले यहाँकै किसानले फलाएको तरकारी किनिदिनुपर्छ । सबै होटललाई त नपुग्ला तर जति उत्पादन हुन्छ र पुग्छ । त्यो यहाँकै होटलले खपत गरिदिने हो भने उत्पादनपछि किसानलाई बजारको चिन्ता हुँदैन् । यो मेरो अघिल्लो कार्यकालदेखिकै योजना हो । अहिले आएर शुरुवात भएको छ । यसलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने छौँ । म यहाँका होटल ब्यवसायीलाई आग्रह गर्न चाहान्छु स्थानीय उत्पादन खुवाउनुहोस्’ नगरप्रमुख वाईबाले भने ।

नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रमा शितभण्डारण निर्माण गर्न आवश्यक रहेको बताए । ‘तरकारी भनेको छिट्टै कुहिने चिज हो । शुक्रबारको हाट बजारमा बिक्री नभएका तरकारी त्यो रात यहीँ राख्न सकियो भने किसानलाई दुःख कम हुन्छ । त्यसका लागि शितभण्डारण आवश्यक छ । त्यो निर्माणका लागि नगरपालिकाले विभिन्न संघ संस्थासँग साझेदारी गर्ने नगरप्रमुख वाईबाले बताए ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रुपान्तरित नाम महामञ्जुश्री चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपालकाे काभ्रे शाखा अन्तर्गत काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको व्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । यो परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसान आबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले जानकारी दिए ।

हाटबजारको पहिलो दिन विक्री गर्ने किसान र खरिद गर्ने उपभोक्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । यसलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको नगरप्रमुख वाईबाले बताएका छन् । हाटबजार सञ्चालनमा आएपछि होटल तथा पर्यटन व्यवसायी निकै खुशी भएका छन् ।

कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईँले हाटबजारले किसानमा जागण ल्याएको बताए । ‘किसानले उत्पादन गरेको चिज, किसानले नै बिक्री गर्न पाउनु राम्रो कुरा हो ।’ वडाध्यक्ष बजगाईँले भने ।

वडा नम्बर २ का वडाध्यक्ष राजकुमार मल्लले पर्यटकीय क्षेत्रमा अति आवश्यक हाटबजार शुरु हुनु सकारात्मक पक्ष भएको बताए । ढिलै भएपनि राम्रो काम थालनी भएको भन्दै उनले हस्ताकलाका सामग्री समेत हाट बजारमा विक्रीका लागि राख्नु पर्ने बताए ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामाले नगरकोटमा अब हरेक हप्ता शुक्रबारे हाटबजारको रूपमा विकास गर्ने बताए । सबै पक्षसंग हातेमालो गर्दै प्रत्येक शुक्रबार मेलाकै रूपमा ब्यवस्थित गर्दै जाने उनको भनाइ छ ।

काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्री प्रसाद माकाजुले किसानलाई बजारीकरणमा हाटबजारले सहयोग पुगेको बताए । स्थानीय स्तरमा उत्पादन भएका प्राङ्गारिक तरकारी चिनो स्वरूप अन्य ठाउँमा समेत लैजान सकिने माकाजुले भने । माकाजुले हाट बजारमा किसानले बिक्रीका लागि ल्याएको तरकारी घर फिर्ता नलैजाने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीय स्तरकै तरकारी उपलब्ध गराउन हाट बजारले मद्दत पुग्ने बताए । नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरूको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाट बजारको शुरुवात गरिएको हो ।

मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहका सचिव गणेश घोरासैनीले प्राङ्गारिक तरकारी खेतीको उचित मूल्यांकन नभइरहेको अवस्थामा हाटबजारले किसानलाई हौसला प्रदान गरेको बताए । वडा नम्बर ३ नयाँगाउँ मानेडाँडाका किसान टुकप्रसाद तिमल्सिनाले बिना विषादी तरकारी उत्पादन तर्फ किसानहरु लागिसकेको भन्दै यस्ता बजारले थप उत्प्रेरणा दिने बताए ।

वडा नम्बर ४ सर्वझाङका किसान राम बहादुर बजगाईंले हाट बजारले किसान र उपभोक्तालाई विचौलियाबाट हुने ठगी नियन्त्रण गराउँदै सुपथ मुल्यमा स्वच्छ र ताजा तरकारी खान पाउने अवस्थाको सिर्जना भएको बताए ।

हाट बजारमा तकारी तर्फ गोलभेँडा, काँक्रो, फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, नास्पाती, रैथान कुखुरा, धनियाँ, कागती, रैथाने बोडी, निउँरो, जिम्बु सुकेको सिमी, प्याज, लसुन राखिएको थियो । त्यसै घ्यू, मह र विभिन्न जातका फलफूलका विरुवा समेत बिक्रीका लागि किसानले राखेका थिए ।

प्रतिक्रिया