आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि विशेष कार्यक्रम ल्याएका कारण यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष चर्चा पाएका छन् । सभापति लामिछानेले ल्याएको विशेष कार्यक्रम हो, ‘चितवन क्षेत्र नं २ का महिलाका लागि छुट्टै निःशुल्क बसको व्यवस्था ।’ यो बस सेवालाई उनले ‘ब्लु बस’ नाम दिएका छन् । ब्लु बसको उद्घाटन बुधबार उनले आफ्नो पार्टी कार्यालय रहेको स्थान भरतपुर बाइपास रोडबाट गरेका छन् । चितवन क्षेत्र नं २ का विभिन्न रुटमा चल्ने ब्लु बसमा निःशुल्क यात्राका लागि पहिलो चरणमा पाँच सय महिलालाई कार्ड वितरण गरिने सभापति लामिछानेले जनाएका छन् । ‘ब्लु बस’भित्र महिलाका लागि आवश्यक स्यानिटरी प्याडसहितका सामग्री राखिएको छ । साथै बसमा गुनासो सुन्न मिल्ने गरी ‘रविलाई पत्र’नामको बक्ससमेत राखिएको छ । महिलाका लागि छुट्टै बस सञ्चालन नेपालमा नयाँ प्रयोग भएकै कारण यतिबेला लामिछानेले थप चर्चा पाएका हुन् । त्यसमा पनि बसभित्रै स्यानिटरी प्याड तथा आफ्ना जनप्रतिनिधिलाई गुनासो पोख्न मिल्ने संयन्त्र राखिनु झन् नयाँ प्रयोग हो । जनताले तिरेको करबाट यो व्यवस्था गरिएको पो हो कि ? भन्ने आशंकालाई सभापति लामिछानेले इन्कार गरेका छन् । यो बस विभिन्न माध्यमबाट आर्थिक स्रोत जुटाएर सञ्चालन गरिएको लामिछानेले बताएका छन् ।
जनतालाई सेवा दिनु जनप्रतिनिधिको दायित्व हो । तर यसरी सेवा प्रवाह गर्दा खर्च हुने रकमको स्रोत भने पारदर्शी बनाइनुपर्छ । आर्थिक स्रोत अपारदर्शी बनाइयो भने हिजोका दिनमा मिर्जा दिलसाद वेगले आफ्नो क्षेत्रका जनतालाई सुत्केरी खर्च, बिहे खर्च, चाडपर्व खर्च दिएजस्तो हुन्छ । यसतर्फ लामिछाने सचेत बन्नै पर्छ । चितवन क्षेत्र नं २ मा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र पर्छ । ब्लु बस सेवा यही सहरी क्षेत्रलाई लक्षित गरी आरम्भ गरिएको हुनुपर्छ । यो क्षेत्रमा महिलाहरूको जनसंख्या ६० प्रतिशतभन्दा माथि छ । दुई–चार वटा बस देखाएर प्रचारप्रसार गर्ने मेलो मात्रै हो भने छुट्टै कुरा होइन सबै महिलाले आवश्यक परेका बेला सुविधा पाउने गरी बस सेवा सञ्चालन गरिएको हो भने चितवनको क्षेत्र नं २ ले छिटै नै काँचुली फेर्नेछ । यसै पनि भरतपुर भनेको सबै नेपालीका निम्ति पायक पर्ने ठाउँ हो । त्यसमा पनि महिलाका लागि निःशुल्क बसको व्यवस्था हुँदा चितवन बसोबास तथा घुमफिरका लागि थप आकर्षक हुन्छ । चितवनका उद्योग व्यवसायीहरूलाई थप फाइदा हुन्छ ।
लामिछानेले गरेको यो सुरुआतको केहीले आलोचना पनि गरेका छन् । कसैले भनेका छन्, ‘गरिब, अपांगता भएका, असाह्य, कमजोरहरूबाट सुरुआत गर्नुपथ्र्यो ।’ कसैले भनेका छन्, ‘महिला र पुरुषका लागि अलग स्कुल, अलग कलेज, अलग अस्पताल, अलग कुर्सी, अलग कोठा, अलग संरचना तयार गर्दै जा“दा समाजमा लैंगिक दुरी यति बढेर जान्छ कि, यसले डरलाग्दो खाडल तयार गर्छ ।’ तर के बुझ्नुपर्छ भने महिलाका लागि दिइने अवसर भनेको सबैका लागि हो । कुनै पनि घर परिवार महिलाविहीन हु“दैनन् । राज्यको ढुकुटी खर्च गरेर कुनै पार्टी विशेष या व्यक्ति विशेषले फाइदा लिएका घटना पनि नेपालमा थुप्रै छन् । वृद्ध भत्ताका नाममा सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण अभियानले नेकपा एमालेको जरो त बलियो भएको छ, तर देशचाहि“ आफ्नो आम्दानीले साधारण खर्च गर्नसमेत नपुग्ने अवस्थामा पुगेको छ । यस्ता मामिलामा भने जनताले खबरदारी गर्नै पर्छ ।
प्रतिक्रिया