अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ सर्वसाधरणको लागि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । सो मध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सो सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरिरहेको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ३२ गतेसम्म लम्बिने जनाइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया