काभ्रे । काभ्रेको पनौती नगरपालिका– २ मा रहेको कुशादेवी माविका छात्राहरुले आफूहरुलाई विद्यालयका गणीत पढाउने शिक्षकले कक्षा कोठाभित्रै यौन हिंसा गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् ।
पीडित छात्राहरु ११ जनाले विद्यालयमा उजुरी दिएको ६ दिनपछि पनि आरोपी शिक्षक छवी गौतमलाई चित्त बुझ्दो कारबाही नभएको भन्दै सरोकारवालाहरुको तीव्र दबाबपछि विद्यालयले पीडित छात्रासहित इलाका प्रहरी कार्यालय बनेपामा आरोपी शिक्षक गौतमविरुद्ध संयुक्त किटानी जाहेरी दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा गणीत विषयका शिक्षक गौतमले आफूहरुलाई पटक–पटक विभिन्न बहानामा यौनजन्य हिंसा गरेको पीडित छात्राहरुले दिएको जाहेरीमा उल्लेख छ । यस्तो हर्कत गर्दै आएको भनी कक्षा १० मा पढ्ने ११ जना छात्राहरुले सामूहिक विद्यालय व्यवस्थापन समितिलाई गत शुक्रबार नै उजुरी दिएका थिए ।
उजुरी परेपछि पनि विभिन्न बहाना गर्दै विद्यालयले प्रहरीमा उजुरी दिन नगएपछि (हिजो) मंगलबार पनौती वडा नम्बर २ को कार्यालयमा भेला भएका स्थानीय अभिभावक, बुद्धिजिवि, नागरिक समाज, विभिन्न विद्यार्थीहरुको संघ संगठन एवं शुभचिन्तकहरुको चर्को दबाबपछि विद्यालयले प्रहरीमा किटानी जाहेरी दिएको हो ।
भेलामा विद्यालयका प्रधानध्यापक श्यामकुमार भुजुले यसभन्दा अगाडि पनि यसै विद्यालयका एक छात्रामाथि निज आरोपी शिक्षक गौतमले यस्तै हर्कत गर्दा उनलाई माफी मगाएर छाडेको बताएपछि झनै भेलामा सहभागिहरु आक्रोसित भएका थिए ।
यस्ता शिक्षकलाई विद्यालयले केको आधारमा राखेको भन्दै विद्यालय प्रशासनसगँ सहभागिहरुले प्रष्टिकरण दिनु पर्ने माग गरेका थिए । किटानी जाहेरीमा विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारीसहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको बोहोराले बताए । उनले जाहेरी दर्ता भएसँगै घटनाबारे आवश्यक कानूनी प्रक्रिया अनुसन्धान अघि बढिसकेको डिएसपी बोहराले जानकारी दिए ।
घटना भएको चौथो दिनमा मात्रै पनौती नगरपाकिलालाई र शिक्षा शाखामा विद्यालयले लिखित जानकारी आएको नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए । घटनाको गम्भिर विषयप्रति ध्यानाकर्षण भएको भन्दै शिक्षण सेवा जस्तो पवित्र संस्थामा कार्यरत शिक्षकबाट बालबालिकाहरुको भावनामा ठेस पुग्ने गरी हुने त्यस्ता कार्यहरु निन्दनिय तथा भर्त्सना योग्य भएको उनले बताए ।
बालबालिकाहरुले स्वतन्त्रतापूर्वक, शान्त वातावरणमा अध्ययन कार्यमा संलग्न हुन पाउने बालअधिकारको सुनिश्चितताको लागि हामी सदैव क्रियाशिल रहेको, छात्राहरुमाथि भएको दुर्व्यवहारको सन्दर्भमा त्यस विद्यालयको मिति २०८०–०४–१५ (साउन) को पत्र जानकारीका प्राप्त भएके उनले बताए ।
विद्यालय व्यवस्थापन समितिबाट उक्त सन्दर्भमा शिक्षकलाई सोधिएको स्पष्टीकरण तथा आरोपी शिक्षकबाट दिइएको लिखित जवाफ चित्त बुझदो नभएको भनी विद्यालय व्यवस्थापन समितिले आरोपी शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णयपश्चात् विषयवस्तु झन् गहन तथा गाम्भिर्यतापूर्ण लिई तत्काल नगरपाकिलाले कानूनी दायरमा ल्याउन भनि आवश्यक कानूनी प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा र इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयबाट प्राप्त भएको सम्पूर्ण कागजातहरु संकलन गरी पठाइसकिएको नगरप्रमुख भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया