छात्राहरूमाथि शिक्षकले यौन हिंसा गरेको आरोप

काभ्रे । स्कुले छात्राहरूमाथि शिक्षकले यौनहिंसा गरेको आरोप छात्राहरूले लगाएका छन् । जिल्लाको पनौती नगरपालिका–२ मा रहेको कुशादेवी माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक छवी गौतमले स्कुले छात्राहरूलाई कक्षाकोठाभित्रै विभिन्न बाहना गरेर छात्राहरूको नजिक भई यौनजन्य हिंसा गरेको भन्दै कक्षा १० मा अध्ययनरत १० जना छात्राहरूकोे विद्यालयमा सामुहिक उजुरी गरेपछि यस्तो घटना बाहिरिएको हो ।

उजुरीकर्ता छात्राहरूमध्ये एक छात्रासँगको कुराकानीमा ती शिक्षकले आफूहरूलाई कैयौँपटक त्यस्तो दुव्र्यवहार गरेकोले आफूहरू असह्य भएर उजुरी दिन बाध्य भएको बताइन् । ‘ती आरोपी सर कक्षामा पढाउन आउनुहुन्थ्यो हामीलाई पटक–पटक होमवर्क गर्ने गराउने र सिकाउने बाहना गरेर हाम्रो नजिक आउने संवेदनशील अंगहरूमा हात हाल्ने लगायतका हर्कत गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘हामीलाई अति भएपछि हामी सबै पीडितहरूको सल्लाहमा विद्यालयमा सामुहिक उजुरी दिएका हौँ ।’
विद्यालयमा उजुरी परे लगत्तै अभिभावकहरूको रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी ती आरोप लागेका शिक्षकलाई हाजिर नगराउने र विद्यालयमा नराख्ने निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले बताए ।

उनले विद्यालयमा आएको उजुरीका आधारमा विद्यालयले नै प्रहरीमार्फत कारबाही गर्न निवेदन दिने विषयमा समेत छलफल भइरहेको बताएका छन् । थापाका अनुसार ती आरोपी शिक्षकलाई घटनाबारे पहिला स्पष्टीकरण सोधिएकोमा ती शिक्षकले आफूलाई छात्राहरूले लगाएको त्यस्तो जघन्य आरोप नगरेको लिखित स्पष्टीकरणसमेत दिएको बताएका छन् । उनको प्रष्टोक्ति पत्र अनुसार छात्राहरूलाई आफूले गरेको व्यवहारले त्यस्तो अनुभूत भएको भए माफीसमेत माग गरेको बताए । शुक्रबार घटना बाहिरिँदा आरोपी शिक्षक नगरपालिकाको कार्यक्रममा उपस्थिति रहेका थिए ।

यस विषयमा पनौती नगरपालिकाको शिक्षा शाखाका महेश्वर जंगमले विद्यालयको घटनाबारे आफूले पनि सुनेको मात्र हो, त्यसका विषयमा आइतबार विद्यालय व्यवस्थापन सहितको टोली नगरपालिकामा विद्यालयले गरेको निर्णयसहित आउने भने पनि कार्यालय समय बेलुका ५ बजेसम्म वहाँहरू नआएपछि आफू निस्किएको बताए । यसका बिषयमा लिखित जानकारी नआइकन सुनेको भरमा हामीहरू केही बोल्न नमिल्ने उनले बताए । यसअघि पनि गौतमको छात्रामाथिको दुव्र्यवहारका घटना आइरहेको र अन्तिमपटक भन्दै माफी माग्दै छोडिने गरेको बताइन्छ । आरोपी शिक्षकलाई घटनाबारे सम्पर्क गर्न खोज्दा पहिला फोन लागे पनि उनले फोन नउठाएर जवाफ दिन चाहेनन् । त्यसलगत्तै उनी सम्पर्कविहीन बनेका छन् ।

प्रतिक्रिया