काभ्रे । यतिबेला किसानका खेतबारीमा लगाइएको मकैबालीमा दाना लाग्ने समय हो । तर किसानलाई मकैको दाना जोगाउन रातभर जाग्राम बस्दा पनि जोगाउन नसक्दा उनीहरूको निदहरामको अवस्था आइरहेको छ ।
पनौती–५ सुन्दरबस्ती, मण्डनदेउपुर, तेमाल गाउँपालिकाको माथिल्लो भूभाग, भुम्लु गाउँपालिका, रोसी र महाभारत खानीखोला र पाँचखालका ग्रामीण भेगहरूमा लगाइएको मकैबालीमा बाँदर, दुम्सी र बँदेलले रातारात सताउँदा किसानको रगत पसिना जोगाउन हम्मेहम्मे परिरहेको छ । बन्यजन्तु आतंकबाट बालीनाली जोगाउन केही हप्ता अघिदेखि दिनहुँजसो नै खेतबारिमा लगाइएका पाक्न लागेको मकै बँदेलले सखाप पार्दै आएको किसानहरूको गुनासो छ । किसानहरूले बाँदर दुम्सी भगाउन तार जाली, भरुवा नक्कली बन्दुक, बुख्याँचा र टिनका अनेक सिस्टमका आवाज आउने घरेलु निर्मित उपकरण बनाएर वन्यजन्तुको निगरानी गरे पनि वन्यजन्तुलाई नियन्त्रण गर्न नसकेको उनीहरू बताउँछन् ।
नमोबुद्ध–१ मा बँदेल आतंकले सताइएका किसानहरू रविन्द्र सत्याल, बाबुराम सत्याल, लक्ष्मण सत्याल, कात्तिके टोलका उद्धव सत्यालले लगाइएको बिसौँ रोपनीको मकैबालीहरूमा बँदेलले सखाप पारेपछि उनीहरू स्थानीय सरकार घच्घच्याउन पुगेका छन् ।
रविन्द्र सत्याल भन्छन, ‘किसानले आफ्नो पसिना बगाएर लगाएको बाली देख्दा मन कुटुक खान्छ । यस्ता घटना हरेक साल आउँछ, किसानले टाउकोमा हात लगाएर बस्न मात्र बाध्य छन् । स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारका सबै निकाय छन् तर किसानका दुःखमा सारथी बन्ने कुरामा सबै प्रायः चुकेका छन् । न त समयमा बल, बिउ आउँछ न त लगाइएको बाली जोगाउन सकिन्छ तरकारी लगाए बिचौलियाको मारमा परिन्छ सत्याल भन्छन् ।
यस्तै वन्यजन्तुलाई नियन्त्रण गर्न किसानहरूले अपनाइएको केही प्रविधिले आफैँलाई क्षतिसमेत पु¥याएको छ । केही समयअघि मात्रै बेथाञ्चोक गाउँपालिका–४ राइडाँडामा किसानले बँदेललाई राखिएको विद्युतीय धरापमा परी सावधानी नअपनाउँदा मैना कोइरालाको निधनसमेत भएको थियो ।
पारिस्थितिक पद्धती अनुसारको संरक्षणको विविध विषयमा जिल्ला वन कार्यालयले काम गरे पनि किसानको पीडामा र क्षतिमा प्रत्यक्ष अनुदानको कार्यक्रम भने न्यून मात्रै उपलब्ध गराइरहेको छ । आफूले लगाएको मकैबाली सबै बाँदर, दुम्सीले नष्ट गरेपछि काभ्रेको पनौती नगरपालिका ¥याले, कुशादेवीका किसान पनि बाली के लगाउने भन्नेबारे चिन्तित छन् । आलुखेती गर्ने किसान लगाएपछि रातभर सुत्दैनन् । केही किसान खेतमा आगो बालिरहेका हुन्छन्, केही किसान खेतमा रेडियो बजाएर बत्ती लगेर बाल्ने गर्दै आएका छन् ।
कुसादेवीका किसान उद्धव चापागाईं भन्छन्, ‘मकै खेती गरौँ फल्ने बेलासम्म एक बोट बिरुवा बाँकी रहँदैन नगरौँ पशुपालन कसरी गर्ने ? भन्ने चिन्ता छ । विरुवा नहुकिँदा किराले नास गर्ला भन्ने पीर फल लाग्ने बेला भएपछि वन्यजन्तुको आतंकले जोगाउनै नसकिने अवस्था छ ।’
‘यस्तै तेमाल गाउँपालिका–१ मा घरकै चोटाबाट मकै झिकेर लान्छ बाँदरले’, त्यहाँका स्थानीय वडा अध्यक्षसमेत रहेका इन्द्र बहादुर अधिकारी भन्छन्, ‘बाँदर धपाउँदा आजित भइसकेका छौँ पहिले यस्तो थिएन अहिले यो कसरी यस्तो भयो अचम्मै लाग्दो छ । बार्षिक बजेट नै अभाव हुँदा हामीले पनि वडाबाट किसानमुखी ठूला लागतका कार्यक्रम गर्न सकेका छैनौँ । यसलाई माथिल्लो तहबाटै प्रभावकारी योजना बनाएर कार्यान्वययन गर्नु अति आवश्यक छ ।’ वन्यजन्तुको आतंक २०७२ सालको भूकम्पपश्चात बढ्दै गइरहेको छ । वन्यजन्तुका वासस्थान, आहारा, पानी र नीतिगत विषयमा सबै तहका सरकार लाग्नु अति आवश्यक छ ।,
जिल्ला वन कार्यालय वन्यजन्तु आतंकको विषयलाई किसानहरूले वैकल्पिक खेती, जोखिम न्यूनीकरणका लागि विभिन्न उपायहरू, सामूहिक खेती, सुरक्षात्मक उपायहरू, लगायतका धेरै विषयहरूको पहिचान गरी सरकारको सबै तह अघि बढ्नुपर्ने बताउँछन् । तर यता अधिकांश किसानहरूको हरेक वर्ष खाद्यबाली र केही तरकारी तथा नगदेबालीसमेत वन्यजन्तुले क्षति पु¥याएको गुनासो किसानहरूले गर्दै आएका छन् । जिल्लामा पछिल्लो समय निकै नै चितुवा, बँदेल, दुम्सी, बाँदर, लोखर्के लगायतले सताउने गरेको किसानहरूको भनाइ छ । उनीहरूले स्थानीय सरकारसँग बालीनाली जोगाउन र बिमा गर्ने गराउने प्रणालीलाई किसानमुखी बनाउन र वन्यजन्तु संरक्षण र बालीनाली जोगाउने रणनीति तय गर्न र आवश्यक थप कानुनसमेत बनाउन अपील गरिरहेका छन् ।
प्रतिक्रिया