धनगढी । कृषिजन्य बस्तुमा परनिर्भता बढ्दै गएको छ । ठूलो परिमाणमा आयात हुने कैलाली भन्सार कार्यालय धनगढीबाट निर्यात भने न्यून रहेको छ । कैलाली भन्सार कार्यालयबाट गत आव २०७९÷८० मा ४५ करोड ५६ लाख २७ हजार मूल्यको आलु मात्रै भारतबाट आयात गरिएको छ ।
त्यस्तै प्याज २१ करोड ७७ लाख १४ हजार, टमाटर १ करोड ५७ लाख ३१ हजार र लसुन ५ लाख ३८ हजार रुपैयाँको आयात भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
त्यस्तै गत आवमा ३३ करोड ९३ लाख २९ हजारको बिउबाहेक मकै, २३ करोड ५२ लाख ९७ हजारको चामल, २६ करोड ९२ लाख १६ हजारको तोरीको दाना, ८ करोड ५४ लाख ६३ हजारको दाल आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै १० करोड ५० लाख ४६ हजारको गहुँ, १५ लाख ३५ हजारको मटर, १५ लाख ११ हजारको अन्य तरकारी आयात भएको कैलाली भन्सार कार्यालयको तथ्यांक छ । त्यस्तै फलफूल पनि ठूलो परिमाणमा कैलाली भन्सार हुँदै आयात भएको छ ।
फलफूलमा १४ करोड ९९ लाख ३४ हजारको अंगुर, ८ करोड ८६ लाख ३६ हजारको स्याउ, ७ करोड ३२ लाख ३८ हजारबो अनार, ४ करोड २० लाख १७ हजारको केरा, ३ करोड १६ लाख ४२ हजारको सुन्तला र १ करोड १९ लाख ७३ हजारको नरिवल आयात भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
त्यस्तै गत आवमा पेट्रोलियम पदार्थ बढी आयात भएको छ । ९ अर्ब ५२ करोड ५३ लाख ३८ हजारको डिजेल, २ अर्ब ६७ करोड १३ लाख ४७ हजारको पेट्रोल, १ अर्ब ६७ करोड २१ लाख ८८ हजारको खाना पकाउने ग्यास र ३६ करोड २५ लाख ३१ हजारको हवाई इन्धन आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
राजस्व संकलन निरन्तर घट्दै
कैलाली भन्सार कार्यालयको राजस्व संकलन विगत दुई वर्ष यता निरन्तर घट्दैै गएको छ । भन्सार कार्यालयले विगत दुई वर्षदेखि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन् । आव २०७७÷७८ मा लक्ष्यभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले विगत दुई आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको हो ।
आव ०७८÷७९ मा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ९ अर्ब ५८ करोड २६ लाख मात्रै राजस्व संकलन गरेको थियो जुन लक्ष्यको ८१ दशमलव शून्य ४ प्रतिशत हो ।
गत आव २०७९÷८० मा १२ अर्ब २० करोड ६६ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ८ अर्ब २९ करोड ६३ लाख राजस्व असुली भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । जुन राजस्व संकलन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत हुन्छ । आव ०७९/८० मा पनि लक्ष्यअनुसारको राजस्व संकलन भएको छैन भने अघिल्लो वर्षभन्दा राजस्वसमेत घटेको छ । आव ०७८/७९ मा ९ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन भएकोमा आव २०७९/८० मा ८ अर्ब २९ करोड ६३ लाख मात्रै राजस्व असुली भएको छ ।
कसिलो मौद्रिक नीति, कर्ता प्रवाह नहुनु, बैंक व्याजदर बढ्नु लगायतका कारण व्यापारीहरूको लगानी बढाउने, विस्तार गर्ने अवस्था नभएका कारण आयात घटेकाले राजस्व संकलनमा कमि आएको सूचना अधिकारी खड्काले बताए ।
कैलाली
प्रतिक्रिया