फजुल खर्च बचाएर क्याम्पसमा पुस्तकालय

रुकुम पश्चिम । गुणस्तरीय शिक्षाको बलियो आधार र संस्कृतिको विकास, शिक्षा, सूचना तथा ज्ञानका स्रोतको संकलन, जनचेतनाको विकास पुस्तकालय प्रयोगले हुने गर्दछ ।

पुस्तकालयको प्रयोग गर्ने पछिल्लो समयमा बढ्ने क्रम नै छ । तर, कतिपय पुस्तकालयको संरक्षण हुन नसक्दा भएका पुस्तकको अवस्था बेहाल छ । यता रुकुम पश्चिमको एक क्याम्पसले पुस्तकालय सञ्चालनमा जोड दिएको छ ।

विद्यार्थीहरुले नै योजना बनाएर सञ्चालन गर्न लागेको पुस्तकालयलाई पछिल्लो पुस्ताले सञ्चालनमा चासो दिएको देखिन्छ । गतसाता देखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ९ स्थित राडी ज्युला शिक्षा क्याम्पसले ‘फजुल खर्च घटाऔँ’ क्याम्पसमा पुस्तकालय बनाऔँ’ भन्ने मुल उदेश्यसहित सञ्चालन गरिएको अभियानले सार्थकता पाएको छ ।

क्याम्पसका विद्यार्थी, क्याम्पस प्रशासन, सञ्चालक समिति, स्ववियु पदाधिकारी विच भएको छलफलमार्फत फजुल खर्च बचाएर पुस्तकालय सञ्चालन गर्ने निर्णय अनुसार अभियान अघि बढाइएको सहायक क्याम्पस प्रमुख तेजबहादुर मल्लले जानकारी दिए ।

पछिल्लो समय पुस्तक पढ्ने बानी हराउँदै गएको र साजिक सञ्जालको प्रयोगले मानिसमा पढ्ने बानी हराउँदै गएकोले विधार्थी तथा सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पुस्तकालय सञ्चालन गर्न लागेको उनले बताए ।

अभियान सञ्चालन गरेको एक हप्तामै करिब एक लाख रुपैयाँ सहयोग स्वरुप जम्मा भएको जनाइएको छ । फजुल खर्च बचाएर सहयोग प्राप्त रकमले पुस्तक खरिद गर्ने जनाईएको छ विशेष गरी जन्म दिनमा गरिने फजुल खर्च बचाएर सहयोग गर्नेको संख्या बढीरहेको छ ।

पुस्तक पढे ज्ञान बढ्छ भन्ने हामी सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा झुण्डिने गर्छन् । यस्तो बानीको अन्त्य गरेर विधार्थीलाई पढाईप्रति प्रेरित गर्न पुस्तकालय सञ्चालन गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनिराज बटालाले जानकारी दिए ।

सबैले अध्ययन गर्न पाउने गरी पुस्तक पढ्ने व्यवस्थाको थालनी गर्न लागिएको क्याम्पसले जनाएको छ । समयसामयिक पुस्तकहरु निशुल्क उपलब्ध हुने र निःशुल्क पढ्ने व्यवस्था भएपछि फुर्सदको समय निकालेर पुस्तक पढ्न जाने पाठकहरु र पढ्ने बानीको विकास हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया