विकासप्रेमी अभियन्ताका रूपमा प्रख्याती कमाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ यतिबेला धार्मिक तथा साप्रदायिक विवादमा तानिएका छन् । मेयर साङपाङ मात्रै विवादमा तानिएका होइनन्, धार्मिक तथा साप्रदायिक खलबल मच्चाउन चाहनेहरू उत्साहित बन्दै कोही धरान पुगेका छन् भने कसैले सामाजिक सन्जाल दुरुपयोग गरेका छन् । स्थानीय गोपाल मन्दिरको सामुन्ने इसाइ धर्मावलम्बीहरूले चर्च निर्माण गरेको विषयले विवाद निम्त्याएको हो । मन्दिरको सामुन्ने चर्च निर्माण गर्न मिल्छ कि मिल्दैन ? भवन निर्माण गर्दा उपमहानगरपालिकाको स्वीकृति लिनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न हिन्दूहरूले उठाए । यो प्रश्न अदालतले निरुपण गर्ने भन्दै मेयर साङपाङ पन्छिन खोजे । त्यस पछि इसाइको पक्षधर भन्दै समाजिक सन्जाल तथा सार्वजनिक रूपमा मेयर साङपाङको कटाक्ष गर्न हिन्दूवादी संघसंस्था तथा अभियन्ताहरू सक्रिय देखिए । मेयर साङपाङ पनि संयमित हुन सकेनन् ।
उनको नाममा पनि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति प्रकट भए । उनी स्वयंले चलाउने फेसबुकबाट यस्ता अभिव्यक्ति सार्वजनिक भएका हुन् कि उनको नाममा खोलिएका फेक एकाउन्टबाट यस्ता अभिव्यक्ति आएको हो ? भन्ने एकीन अझै भइसकेको छैन । तर दुवै पक्षबाट भएको वाकयुद्ध निकै खतरनाक देखिएको छ । यो विवाद धरानमा मात्रै सीमित छैन । एकातिर काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी सार्वजनिक स्थानमा बनाइएका विद्यालय भवन, वृद्धाश्रम भवन मात्रै होइन मन्दिर पनि भत्काइरहेको जनताले देखेका छन् । त्यसैले पुरातात्विक महत्वको मन्दिरका सामुन्ने नक्सा पाससमेत नगरी चर्च बनाइएको विषयमा धरानका मेयर साङपाङले अपनाएको शैली विवादमा परेको हो ।
नेपाल धर्म निरपेक्ष देश हो । हिन्दूधर्म सापेक्ष देश हुँदा पनि नेपालमा चर्च, गुम्बा तथा मस्जिद निर्माणमा प्रतिबन्ध दिएन । हरेक वर्ष चर्च, गुम्बा तथा मस्जिदको संख्या थपिँदो थियो । त्यसैले धरानमा चर्च निर्माण हुनु अस्वभाविक कुरा होइन । तर चर्च बनाउने स्थान छनौटले विवाद निम्त्याउनु पनि अस्वभाविक होइन । त्यसमाथि पनि नक्सा पाससमेत भएको छैन । नेपालमा इस्लाम धर्माबलम्बी तथा वुद्धधर्माबलम्बीहरूको संख्या पनि उल्लेख्य छ । तर गुम्बा र मन्दिरको विवाद कहीँ सुनिएको छैन । मस्जिद र मन्दिरको विवाद पनि कहीँ सुनिएको छैन । अत्यन्त सहिष्णुता देखिएको छ । यता धरानमा विवाद भयो । त्यसमा पनि विकासप्रेमी मेयर साङपाङ विवादमा तानिए । विवाद सल्टाउने जिम्मेवारी जसको हो, उही व्यक्ति विवादमा तानिनु राम्रो संकेत होइन । धर्मको नाममा खेती गर्नेहरूले ठाउँ पाएका छन् ।
धरानमा देखिएको यो विवादबाट अन्य स्थानीय सरकारहरूले पनि पाठ सिक्नु जरुरी छ । प्रदेश सरकार तथा संघीय सरकारले पनि पाठ सिक्नु जरुरी छ । मन्दिर, मस्जिद, चर्च, गुुम्बाजस्ता धार्मिक भवन निर्माणका लागि मापदण्ड तयार गर्नु जरुरी देखिएको छ । होइन भने भोलि झन्झन् ठूला विवाद उत्पन्न हुन सक्छन् । नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परिवेश अरू मुलुकको भन्दा फरक छ । सिंगै हिमालय पर्वत श्रेणीलाई नेपालको स्थानीय धर्म संस्कृतिले ईश्वरको अवतार मानेर पूजा गर्छ । हरेक पहाडका टाकुरामा स्थानीयहरूले पूजा गर्छन् । पहाडी क्षेत्रमा तेर्सो बाटोबाट उकालो लाग्ने ठाउँलाई देउराली भन्दै पूजा गर्ने चलन छ ।
नदी नालाहरूलाई ईश्वरका रूपमा पूजा गरिन्छ । कतिपय रुख विरुवा तथा जनावरलाई समेत भगवानको अवतार मानेर पूजा गर्ने चलन छ । यो संवेदनशीलतालाई इस्लाम धर्माबलम्बी नेपालीहरूले जसरी आत्मासात गरेका छन्, त्यसरी नै इसाइ धर्माबलम्बी नेपालीहरूले पनि गरिदिए भने यस्ता विवाद आउँदैनन् । तर धरानमा जस्तो तिमीहरूको मन्दिरको नक्सा पास खोइ त ? भनेर इसाइहरूले प्रश्न उठाए भने अवश्य पनि द्वन्द्व निम्तिन्छ । किनकी नेपालका सनातनी धार्मिक स्थलहरूको निर्माण नक्सा पास हुनुभन्दा अघि नै भएका हुन् ।
प्रतिक्रिया