मकवानपुरको राक्सिराङ गाउँपालिकाले अन्य क्षेत्रबाट बसोबास गरी आउनेहरुलाई सित्तैमा घर उपाहर दिने निणर्य गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । अन्यत्र बसाँई सर्ने क्रम बढेका कारण जनसंख्या घटेकोले यस्तो निर्णय गर्नु परेको यी पालिकाका जनप्रतिनिधिहरुको भनाई छ । राजधानी काठमाडौं तथा शहरी क्षेत्रको नजिक रहेका राक्सिराङ र रिब्दीकोट गाउँपालिका मात्रै होइन पहाडी क्षेत्रका प्राय सवै गाउँ पालिकाको साझा समस्या हो यो । यता कर्णाली तथा सुदुरपश्चिम प्रदेशको पहाडी क्षेत्रका पालिकाहरुले भने बसाँइ सराई रोक्नका लागि स्वास्थ्य र शिक्षामा जोड दिएका छन् ।
गाउँ पालिका भित्रकै गरिव तथा मेधावी विद्यार्थीलाई एमविविएस अध्ययनका लागि छात्रवृत्ति उपलव्ध गराउने र यस वापत उनीहरुले कम्तिमा पाँच वर्ष आफ्नै गाउँमा सेवा गर्नु पर्ने शर्त राखिएको छ । जस अनुसार डोटीको आदर्श गाउँपालिका (गापा)ले २ जना , जुम्लाको पतराशी गापाले १ जना , रोल्पाको परिवर्तन गापाले १ जना , रोल्पा नगरपालिकाले १ जना , बझाङको दुर्गाथली गापाले १ जना , जाजरकोटको बारेकोट गापाले २ जना , कुशे गापाले १ जना , डडेलधुराको अमरगढी नपाले १ जना , भागेश्वर गापाले १ जना , अजयमरु गापाले १ जना , सुर्खेतको लेकबेसी नपाले १ जना विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएर एमविविएस पढाई रहेका छन् । आफ्नो पालिकामा डाक्टर अभावको समस्या समाधान नभए सम्म यो अभियानलाई निरन्तरता दिने निर्णय यी पालिकाहरुले गरेका छन् ।
गाउँबाट शहर तर्फ तथा पहाडबाट तराई तर्फ बसाँई सराँइ बढ्नुको कारणहरुको पहिचान गर्न नसकेसम्म समस्या समाधान हुँदैन । मुख्य कारण भनेको पहाडका गाउँहरुमा स्तरीय शिक्षा तथा उचित स्वास्थ्य सेवाको अभाव हो । रोजगारीका लागि छोराहरु विदेश जान्छन् , नाती नातिना पढाउन भन्दै बुहारीहरु तराई तथा शहर पस्छन् । बुढा बुढी गाउँमा कतिन्जेल अडिने ? बुढेसकालमा नानाथरी रोग लाग्छ, नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल धाउनु पर्ने हुन्छ । त्यसैले पहाडतिरका दुर्गम गाउँका अधिकांश घरहरुमा भोटे ताल्चा लागेका छन् । गाउँका अस्पताल तथा स्वास्थ्य चौकीमा कम्तिमा एक जना डाक्टर हुने हो भने धेरै हदसम्म बसाँई सराँइ नियन्त्रण हुन्छ । बसाँइ सराइँ नियन्त्रण भयो भने गाउँमै स्तरीय विद्यालयहरु खुल्छन् । मानिसको चहल पहल बढेपछि रोजगारीका संभावना पनि बढ्छन् ।
राक्सिराङ र रिव्दीकोट गाउँपालिकाले चालेको अभियान भन्दा कर्णाली र सुदुरपश्चिम प्रदेशका पालिकाहरुले चालेको अभियान कयौं गुणा दूरदर्शी हो । गाउँ गाउँमा सिंहदरबार भन्ने नारा यी गाउँ पालिकाहरुले चरितार्थ गरेका छन् । डाक्टरहरु बरु सरकारी जागिरबाट राजिनामा दिन तयार हुन्छन् तर गाउँमा जान मान्दैनन् । शहरमा जागिर नपाए विदेश जान्छन् । केही वर्ष अघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले गाउँमा डाक्टर पुर्याउनका लागि महिनाको डेढ लाख रुपैंया तलव दिने घोषणा गरी विज्ञापन प्रकासित ग¥यो । तर आवश्यक आवेदन परेन । जिल्ला अस्पतालमा समेत डाक्टरहरु जान नमानिरहेको अवस्थामा गाउँ पालिकाका स्वास्थ्य चौकीको हालत कस्तो होला ? जिल्ला अस्पतालमा डाक्टर नहुँदा सर्वसाधारणले खेपिरहेको सास्ती सानो छैन । त्यसैले गाउँकै अस्पतालमा कम्तिमा पाँच वर्ष सेवा गर्ने शर्तमा स्थानीय विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर एमविविएस पढाउने निर्णयय स्वागत योग्य छ ।
यस्तो राम्रो निर्णय गरेकोमा ती पालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद दिनै पर्छ । देशका अन्य पालिकाहरूले पनि पालिकाभित्रका भविष्यका डाक्टरहरूलाई आफ्नो गच्छेअनुसारको संख्यामा छात्रवृत्ति दिने निर्णय गरून । राक्सिराङ र रिब्दीकोट पथमा होइन, पतराशी र दुर्गाथली पथको अनुसरण अन्य दुर्गम क्षेत्रका पालिकाहरुले गरुन । कम्तिमा पनि एउटा वडामा एक जना एमविविएस डाक्टर भएन भने त्यो वडा अबको युगमा बस्न लायक हुँदैन । अन्य जति सुकै सुविधा दिइए पनि मान्छेहरु बस्दैनन् ।
प्रतिक्रिया