नेपालको भूगोल पश्चिम महाकालीदेखि पूर्वमा मेचीसम्म र उत्तरमा हिमाली भोट क्षेत्रदेखि दक्षिणमा दशगजासम्म फैलिएको छ । यसको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ । शाहलाई राष्ट्रनिर्माता भन्ने गरिएको छ । यसैगरी नेपालीभाषी पुस्तौनी रूपमा बसोबास गर्दै आएको भूगोल भने पश्चिममा भारतको देहरादुनदेखि पूर्वमा थाइल्यान्डसम्म फैलिएको छ । यति लामो दुरीमा फैलिएका विश्वका थोरै भाषाहरूमध्ये नेपाली भाषा हो । नेपाली भाषाको भूगोल यति लामो हुनुको श्रेय भानुभक्त आचार्यलाई जान्छ । आचार्यलाई आदिकवि भन्ने गरिएको छ । तर भानुभक्तका लागि आदिकविको खिताब सानो हुन्छ । अहिले त रोजगारीका सिलसिलामा नेपालीहरू विश्वका धेरै देशमा फैलिइसकेका छन् । केहीले उतै स्थायी बसोबास पनि सुरु गरेका छन् । तर माटो सहितका नेपालीहरू बसोबास गर्ने देशहरू नेपालका अलवा भारत, भुटान, बर्मा (म्यानमार) र थाइल्यान्ड हुन् । यसरी विश्वका पाँच वटा देशमा भानुभक्तका शालिक छन् । यी देशमा रहेका नेपालीहरूले हरेक वर्ष असार २९ गते धुमधामका साथ भानुजयन्ती मनाउने गर्छन् । पछिल्लो समयमा थाइल्यान्ड र म्यानमारका नेपाली भाषीहरू आफ्नो भाषा र संस्कृति जोगाउने चुनौतीको सामना गर्न संगठित भएका छन् । उनीहरूले कुनै सामाजिक संघसंस्था निर्माण गरेपछि भानुभक्तको रामायण शीलमा राखेर सफथ ग्रहण गर्ने चलन छ । हरेक घरमा भानुभक्तको रामायण पुस्तक राखिन्छ ।
आफू नेपाली भएको मुख्य पहिचानका रूपमा उनीहरूले भानुभक्तको तस्बिर पनि राखेका हुन्छन् । भानुभक्तका शालिक नेपालको भूगोलभित्र भन्दा नेपाल बाहिर धेरै छन् । भानु जयन्ती मनाउने चलन पनि नेपालमा भन्दा नेपाल बाहिर नै पहिले सुरु गरिएको हो । भानुजयन्तीको दिन भारतको दार्जिलिङको चौरास्तामा रहेको शालिक र म्यानमारको मोगोकमा धेरै ठूलो भिड लाग्ने गर्छ । तर म्यानमारमा भानुभक्तको शालिक निर्माण गरी संगठित र औपचारिक रूपमा भानु जयन्ती मनाउन थालिएको २०४३ सालदेखि मात्रै हो ।
जनसंख्याको हिसाबले नेपाली भाषा धेरै बृहत् छैन । नेपालभित्र करिब साढे दुई करोड, भारतमा करिब ५० लाख, भूटानमा करिब तीन लाख, म्यानमारमा करिब दुई लाख र थाइल्यान्डमा करिब ८० हजार नेपाली भाषीको परम्परागत बसोबास छ । तर क्षेत्रफल, इतिहास तथा साहित्यको हिसाबले नेपाली भाषा विश्वका उल्लेखनीय भाषाहरूको सूचीमा पर्छ । नेपाली भाषाको लिखित प्रमाणित इतिहास नै एक हजार वर्षभन्दा बढी पुरानो छ । त्यति पुरानो नेपाली भाषाका साहित्यिक तथा धार्मिक कृतिको सुरुआत भने भानुभक्तका पालादेखि मात्रै भएको हो । अहिले हामी २१०औँ भानुजयन्ती मनाउँदै छौँ । नेपाली भाषाको साहित्यिक तथा धार्मिक इतिहास पुरानो हुन नसक्नुको पनि विशेष कारण छ । बोलीचालीको भाषाका रूपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत भाषा इज्जतिलो मानिने भएकाले लेख्य रूपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो । भानुभक्त आचार्यले बाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर घरघर पु¥याएपछि नै नेपाली भाषा लेख्य रूपमा बढी प्रयोग हुन थालेको हो । रामायण प्रकाशनमा आए लगत्तै नेपाली भाषाको क्रान्ति भएको हो । यतिसम्मकी प्रकाशन भएको केही वर्षपछि नै भानुभक्तरचित रामायण टाउकोमा राखेर शपथ गराउने चलन सुरु भयो । जुन चलन नेपालको भूगोल बाहिरका नेपालीहरूमा अहिले पनि छ ।
शासन सत्ताबाट धेरै टाढा रहेका सर्वसाधारण जनताका छोरा हुन् भानुभक्त । खरदारभन्दा माथिल्लो जागीरको पदमा उनी पुग्न सकेनन् । बाबुले जागिर खाँदा सरकारी हिसाबकिताब मिलान गर्न बाँकी रहँदाको सजाय भोग्दै भानुभक्तलाई तत्कालीन सरकारले केही महिना जेलमा समेत कोचेको थियो । भानुभक्त भुइँमान्छे थिए भन्ने कुरा थाहा पाउन उनलाई बिनाकसुर जेलमा कोचेर दिइएको यातना नै काफी छ । गौतम बुद्धलाई अपवाद मान्ने हो भने भानुभक्तभन्दा ठूलो योगदान गर्ने नेपाली अहिलेसम्म जन्मेकै छैनन्भन्दा अत्युक्ति हुँदैन । नेपाली जातिले जनस्तरबाट सम्मान गर्ने पात्रहरू मध्ये पनि भानुभक्तसँग अरू कसैको पनि तुलना हुँदैन । तर, राज्यको स्तरबाट भने भानुभक्त अझै ओझेलमा छन् । यतिसम्मकी भानुभक्तका नाममा नेपालमा एउटा विश्वविद्यालय पनि छैन । न कुनै राष्ट्रिय राजमार्ग छ । भानु जन्मस्थल तनहुँको चुँदी रम्घा ओझेलमा छ । न त भानुभक्तका नाममा उल्लेख गर्नलायक कुनै पुरस्कार गुठी छ ।
प्रतिक्रिया