नगरलाई उज्यालो र समृद्ध बनाउँछौँ

रवि केसी, आठबिसकोट नगरपालिका प्रमुख

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका भौगोलिक रूपमा विकट र जिल्लाको आधा क्षेत्रफल ओगटेको ठुलो नगरपालिका हो । सोही नगरपालिकामा विद्यार्थी राजनीतिबाट उदाएका एक युवा हुन्, रवि केसी । उनी गएको स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भए । कर्णाली प्रदेशकै कान्छा नगरप्रमुख केसीले कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर समृद्ध नगरको सपना बोकी स्थानीय तहको मैदानमा उत्रिएका थिए । केसी निर्वाचित भएको एक वर्ष पुगिसकेको छ । आठबिसकोट नगरपालिकाबाट लोकप्रिय मतसहित निर्वाचित भएका केसीको एक वर्षे कार्यकालमा के–कस्ता कार्यहरू सम्पन्न भए ? स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा स्थानीय सरकारले के–कस्ता कार्य गर्यो ? र, स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा देखिएका समस्या र चुनौती बारे उनै केसीसँग सौर्य दैनिकका लागि रुकुम पश्चिम समाचारदाता अर्जुन बिष्टले गरेको संवादको सम्पादित अंश :

निर्वाचित भएर आएको एक वर्ष बित्यो, यो अवधिमा के कस्ता काम गर्नुभयो ? कसरी काम गर्ने योजना छ ?

– सर्वप्रथम त सम्पूर्ण आठविसकोटबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई म धन्यवाद दिन चाहन्छु । सम्पूर्ण आठबिसकोटबासीले म प्रति ठुलो विश्वास राखेर अत्यधिक बहुमतले विजय गराइदिनुभएको छ । उहाँले ममाथि ठूलो भरोसा राख्नुभएको छ । ठूलो आशा राख्नुभएको छ । म जनताको बीचमा घरदैलो कार्यक्रममा जाँदा सबैसँग भेटघाट भयो । उहाँहरूले आफ्ना समस्या सुनाउनुभएको छ । उहाँहरूको ती वास्तविक समस्याहरूसँग म जानकार छु । जसरी मैले चुनावमा जनतासँग बाचा गरेको थिएँ सोहीअनुसार काम गर्नेछु । यो निर्वाचित भएको एक वर्षको समय केही कुराहरू सिक्नमै बिते भने केही नयाँ अनुभव लिने अवसर पनि मिल्यो । एक वर्षमा तीन जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने, विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा र कृषिमा आत्मनिर्भर बनाउन योजना बनेका छन् । ठूला योजनाहरू लिएर अलपत्र पार्नुभन्दा जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका ससाना कुराहरूलाई समेटेर अगाडि बढ्ने योजना तय गरेको छु ।

कर्णाली प्रदेशकै कान्छो मेयरमा विजय हुनु भयो । तपाईसँग नागरिकले के कस्ता आशा गरेका छन् ?

– मलाई लाग्छ । मैले अहिले जुन प्रतिफल पाएँ त्यो म सानैदेखि विद्यार्थी राजनीति र पार्टीको अध्यक्ष हुँदाको कामको मूल्यांकन हो भन्ने ठानेको छु । उमेरका हिसाबले कान्छो मेयर भए पनि मेरो भिजन र क्षमताका आधारमा जिम्मेवारी पाएको हुँ भन्ने लागेको छ । काम गर्न उमेर होइन, प्रष्ट भिजन सहितको परिपक्वता चाहिन्छ । २०६२ सालमा बिद्यार्थी राजनीतिमार्फत नेतृत्व सम्हालेको थिएँ । त्यस पश्चात मैले यो पालिकामा धेरै काम गरेको छु । यहाँको एकमात्र क्याम्पस राडीज्युला शिक्षा क्याम्पसको अध्यक्ष हुँदा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामहरू देखेर मलाई आठबिसकोटबासीहरूले आशा र भरोसा गरेर बहुमतका साथ जिताएर पठाएका हुन् । निर्वाचनको समयमा मैले जनतासँग जनु प्रतिवद्धता गरेको छु ती वाचा गरे अनुसारका सबै काम गर्नेछु । विशेषगरी म युवा भएकाले आमनगरवासीले मबाट केही नयाँ काम होस् भन्ने अपेक्षा राख्नुभएको छ । त्यो उहाँहरूको आशा र भरोसालाई टेकेर धेरै काम गर्ने योजना छ ।

जनताको त्यो आशा र भरोसाअनुसार तपाईं के कस्ता काम गर्नुहुन्छ त ? के कस्ता विषयहरू तपाईंको मुख्य प्राथमिकतामा छन् ।

–कृषि क्षेत्रको पहिचान गरी कृषि पकट बनाएर आत्मनिर्भर बनाउने योजना छ । यो चाहिँ हामीले वडा लेबलबाट नै सुरु गरेका छौँ । धेरै काम गर्ने योजना छ । केही काम क्रमशः हुँदै जानेछ । मैले सबैभन्दा पहिले गर्नपर्ने काम आठबिसकोट नगरपालिकामा किसानद्वारा उत्पदित कृषि उपजको बजारीकरण, स्वच्छ सफा खानेपानी, सबै वडामा विद्युतको केन्द्रीय लाइन विस्तारको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु । प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पु¥याउने योजनाअन्तर्गत अहिले केही वडामा ‘एक घर एक धारा’ सञ्चालनमा छन् । कुनैमा काम भइरहेको छ । मेरो पहिलो प्राथमिकतामा रहेको कृषि क्षेत्रको कुरा गर्नुहुन्छ भने । किसानलाई अनुदानमा बिरुवा, बिउ र कृषि उपजको व्यवस्थापन र बजारीकरणका लागि निःशुल्क ढुवानी गरिरहेका छौँ । पालिकाको वडा–१, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १३ र १४ का प्रायः ठाउँमा बिजुली बत्तीको केन्द्रीय प्रसारण पुगिसकेको छ । त्यस्तै १२ नम्बरमा तार कस्ने काम भइरहेको छ । म मेरै कार्यकालमा सकेसम्म पालिकाका सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पु¥याउने काम गर्नेछु ।

माथि भनिएका योजनाहरू सञ्चालन गर्दा के–कस्ता चुनौतीको सामना गनुप¥यो ?

–चुनौती समस्या मात्रै होइन, एक अवसर पनि हो । संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने कुरामा कैयौँ कानुनी समस्याहरू छन् । वडाहरू, नगरपालिकाको भर्खरै मात्र नयाँ संरचना बन्दै छन् । भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, कानुनी अस्पष्टता लगायतका थुप्रै समस्या हामीमाझ रहे । केही कानुनी अस्पष्टता रहे पनि काम गर्ने तरिकाहरू थाहा हुँदै गएपछि ती समस्याहरूको समाधान हुँदै गयो । जनअपेक्षाअनुसार हाम्रो प्रतिबद्धता पनि फलदायी नै रह्यो ।

तपाईंको नगरपालिकामा विद्युत्, सञ्चार र सडकको अवस्था कस्तो छ ?

मान्छेका आधारभूत आवश्यकता तथा विकासका पूर्वाधारको उचित व्यवस्था हुनुपर्छ । हरेक वर्ष झैँ विकासका निर्माणका कार्यहरूलाई निरन्तरता दिँदै विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौँ । नगरपालिकालाई उज्यालो र समृद्ध नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाको केन्द्रदेखि दुर्गम वडाहरू केन्द्रीय लाइनमा जोडिएका छन् । जसले दुर्गमका वडाहरूमा अहिले कार्यसम्पादन गर्न निकै सहज भएको छ । दियालो र टुक्की बाल्नुपर्ने बाध्यता हटेको छ । स्थानीय उत्पादनका विद्यु्त भरोपर्दो नहुँदा निकै समस्या झेल्नुप¥यो । विद्युत् प्राधिकरणसँगको सहकार्यमा अहिले बजारमा केन्द्रीय लाइनमार्फत बत्ती बलिरहेको छ । यहि कार्यकाल भित्रमा सबै वडामा बत्ती बाल्ने योजना बनाएका छौँ । विश्वास छ त्यो योजना सफल हुनेछ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया