पक्राउ पर्ने डरले सहकारी सञ्चालकहरूको भागाभाग

बचतकर्ता र नियामक निकायलाई झुक्याएर एक वर्ष टारेका रविन्द्र चौलागाईं

शर्मा पक्राउ परेसँगै सहकारी क्षेत्रमा हालसम्मकै सबैभन्दा ठुलो घोटालाकाण्ड सार्वजनिक भएको छ ।

काठमाडौं । ठगीको आरोपमा एकपछि अर्को गर्दै पक्राउ पर्न थालेपछि धेरैजसो सहकारी सञ्चालकहरूको भागाभाग भएको छ । हरेक दिनजस्तो सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगरेको, सञ्चालक फरार भन्ने समाचार आइरहेको बेला केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सक्रियता बढाएपछि सहकारीको नाममा रजगज गरिरहेकाहरू भाग्न थालेका हुन् ।

बचतकर्ताको रकमले महँगो गाडी चढ्ने, घरजग्गा तथा हाउजिङमा लगानी गरेर रातारात अर्बपति बन्नेहरूको यतिबेला भागदौड चलेको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा बचतकर्ताको साढे १२ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेपछि सहकारीको नाममा लुटधन्दा चलाउनेहरू झस्किएका छन् ।


बचतकर्ताको रकम फिर्ता नगर्ने र हिनामिना गर्नेविरुद्ध सहकारी विभाग र प्रहरी आक्रामक शैलीमा उत्रिएपछि अधिकांश ठूला सहकारीका सञ्चालकहरू कार्यालय नै बन्द गरेर सम्पर्कविहीन हुन थालेका छन् । यसैक्रममा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप खेपिरहेका ललितपुरको पुल्चोकमा कार्यालय रहेका सुमेरु सेभिङ एन्ड क्रेडिट सहकारीका अध्यक्ष भरत महर्जन उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

त्यस्तै, विगत एक वर्षभन्दा लामो समयदेखि बचतकर्तालाई झुलाइरहेका ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं पनि पछिल्लो समय बचतकर्ताको सम्पर्कमा छैनन् । २०७९ को असार १ गते सूचना टाँसेर कार्यालय बन्द रहेको सो सहकारीको कारोबार अझै बन्द छ ।
त्यस्तै, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि दुई वटा छुट्टाछुट्टै सहकारीमा सर्वसाधारणको दुई अर्ब रकम अपचलन गरेर जेठ पहिलो हप्तादेखि फरार छन् । मेयर नेपालीले पोखरा र बागलुङमा कार्यालय रहेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ मा रहेको सर्वसाधारणको दुई अर्ब निक्षेप अपचलन गरेको आरोप छ ।

यी त प्रतिनिधि पात्र मात्रै हुन्, देशभरमा सहकारीमार्फत सर्वसाधारणको बचत अपचलन गर्ने सयौँ छन् । राजनीतिक र आर्थिक पहँुच भएकाहरूको सहकारी क्षेत्रमा बढेको ठगी धन्दाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम हुन पुगेको छ । यसअघि सहकारीको रकम अपचलन गरेको अभियोगमा पूर्व सांसद इच्छाराज तामाङसहित दर्जनबढी सहकारीका सञ्चालकहरू जेल चलान भइसकेका छन् ।

सहकारी क्षेत्रमा हालसम्मकै ठूलो घोटाला

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै सहकारी क्षेत्रमा हालसम्मकै सबैभन्दा ठुलो घोटालाकाण्ड सार्वजनिक भएको छ । शिवशिखर ग्रुप अन्तर्गतको सहकारीमा हालसम्मकै धेरै बचतकर्ताको १२ अर्ब रकम हिनामिना भएको देखिन्छ । यसअघि ओरियन्टल सहकारी र सिभिल सहकारीमा बचतकर्ताको ठूलो रकम हिनामिना भएको घटना बाहिरिएका थिए । तीमध्ये ओरियन्टलमा करिब पाँच अर्ब र सिभिलमा सात अर्ब रुपैयाँ हिनामिना भएको विवरण सार्वजनिक भइसकेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा

भक्तपुर कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाबाट समेत गरी सर्वसाधारणको करिब साढे १२ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा प्रहरीले पूर्वअध्यक्ष शर्मालाई पक्रिएको थियो । नेपालभर शिवशिखरका ३५ वटा सेवा केन्द्र छन् । केन्द्रीय कार्यालय र सेवा केन्द्रबाट १ लाख ६८ हजार ७ सय २५ जना बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ हिनामिना भएको छ ।
तुलसी बहुमुखी सहकारी संस्थाका झापा, सुनसरी र उदयपुरमा शाखा कार्यालय छन् । उक्त संस्थामा २१ हजार १ सय ५४ बचतकर्ताको करिब १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना भएको छ  । उल्लिखित रकम बचतकर्ताले सहकारी संस्थामा बचत तथा मुद्दती खातामा जम्मा गरेको मात्रै हो  ।

शर्माले यी दुवै सहकारीमा गरी १२ अर्ब २३ करोड र अन्य बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट लिएको ऋण तथा सापटी गरी करिब १५ अर्ब रुपैयाँ बराबर रकम हिनामिना गरेको बताइएको छ  । पूर्वअध्यक्ष शर्माले आफ्नै लगानीमा शिखर अर्गनाइजेसन खडा गरी त्यसअन्तर्गतका विभिन्न कम्पनीमा विभिन्न बैंकबाट साढे ५ अर्ब रुपैयाँ लिएका थिए । कारोबारमा समस्या देखिन थालेपछि शर्मा फरार थिए ।

शर्माले प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू र नजिकका व्यक्तिहरूका नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गराई उक्त रकमको साँवा–ब्याजसमेत सहकारी संस्थालाई फिर्ता नगरेको, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानिनोक्सानी पु¥याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता सञ्जयसिंह थापाले बताए  ।

प्रवक्ता थापाका अनुसार हालसम्म शिवशिखर सहकारीका सात जना पक्राउ परिसकेका छन् । जसमा मुख्य आरोपी पूर्वअध्यक्ष केदारनाथ शर्मा, गीता शर्मा, अमिश राजभण्डारी, पुष्कर मल्ल, रमेश सैंजु, रस्ना शाक्य र शिवप्रसाद पौडेल पक्राउ परेका छन् । गीता शर्मा, अमिश राजभण्डारी, पुष्कर मल्ल यसअधि नै पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । बाँकीलाई सिआइबीले अनुसन्धान गरिरहेको छ । रस्ना शाक्य काठमाडौं शाखाकी प्रबन्धक हुन् । हालसम्म १ हजार १ सयभन्दा बढी जाहेरी दर्ता भइसेकको सिआइबीले जनाएको छ ।

विगतमा शर्माले भक्तपुरको सल्लाघारीमा शिवशिखर कृषि सहकारी र कौशलटारमा शिखरदीप बहुउद्देश्यीय सहकारी सञ्चालन गर्दै आएका थिए । यी दुई सहकारीलाई २०७७ सालमा आपसमा गाभेर शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बनाएका थिए । सहकारीमा समस्या आउन थालेपछि शर्माले संस्थाको अध्यक्ष सुशील बानियाँलाई बनाएका थिए । त्यसपछि विराटनगरमा तुलसी बचत तथा ऋण सहकारी खोलेका थिए  ।

६ बैंकको साढे पाँच अर्ब कर्जा जोखिममा

सहकारीको स्रोतको मात्रै दुरुपयोग नभएर शर्माका विभिन्न कम्पनीमा बैंकहरूको अर्बाैं लगानीसमेत जोखिममा परेको छ । बैंकहरूबाट करिब साढे पाँच अर्ब हाराहारी कर्जा लगानी भएकोमा बैंकहरूको केही कर्जामा धितो छ भने केहीमा धितोसमेत नभएको स्रोतको दाबी छ । शर्माले स्थापना गरेका विभिन्न कम्पनीहरूमा नेपाल एसबीआई बैंकबाट पौने दुई अर्ब, नबिल बैंकको करिब २० करोड, हिमालयन बैंकको एक अर्ब भन्दाबढी, नेपाल इन्भेस्टमेन्ट बैंकको करिब ९० करोड कर्जा लगानी रहेको बताइन्छ । त्यस्तै, माछापुच्छ«े बैंकले दुई वटा उद्योगमा करिब ६८ करोड, प्रभु बैंकको पनि ३५ देखि ४० करोड, एनएमबी बैंकको करिब ८ करोड कर्जा लगानी रहेको स्रोतको दावी छ ।

बचतकर्ता र नियामक निकायलाई झुक्याएर एक वर्ष टारेका रविन्द्र चौलागाईं

ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं गत वर्षको असार १ गते सहकारीमा समस्या आएको भन्दै कार्यालय बन्द गराउन लगाएका थिए । त्यसयता उनको ध्यान बचतकर्ताको रकम फिता गर्नतिर होइन हप्ताहप्तामा अनेक विज्ञप्ति निकालेर मिडिया, बचतकर्ता र नियामक निकायलाई समेत गुमराहमा राख्न सफल रहे । उनले यो एक वर्षमा बचतकर्ताको रकम फिर्ता गर्नुको साटो अनेक ‘स्टन्ट’ गरेर आश्वासन मात्र दिइरहे । अहिले बचतकर्ताको उजुरीसहितको फाइल सहकारी विभागले सिआइबीलाई पठाएपछि उनी फरार छन् । हप्तैपिच्छे विज्ञप्ति निकाल्ने उनको फाइल सिआइबीमा पुगेपछि कुनै विज्ञप्ति आएको छैन ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं

सातदोबाटोमा केन्द्रीय कार्यालय, भक्तपुर र न्युरोड समेतमा गरी ताी वटा काउन्टर रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले करिब २० हजार सदस्यबाट तीन अर्ब बचत संकलन गरेको छ । संस्थामा सात जनाको सञ्चालक समिति छ । सात जना मध्ये दुई जना सञ्चालक विदेशमा छन् । संस्थाका कर्मचारी सम्पर्कविहीन बनेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनअनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको थियो । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदनअनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा थियो । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरू आफैँले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ ।

संस्थाले २०७८ पुस २४ गते सातौँ वार्षिक साधारणसभा गरेको देखिन्छ । तर, साधारणसभामा संस्थाका सञ्चालक, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी र केही सदस्यको मात्र उपस्थिति रहेको देखिन्छ । संस्थाकै कार्यालयमा सम्पन्न गरेको साधारण सभामा सय जनाको पनि उपस्थिति थिएन । तर, संस्थाको सदस्य भने २० हजारको हाराहारीमा छन् । साधारणसभा गर्न ५१ प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनुपर्छ । २०७६÷०७७ देखि संस्थाले नियामक निकायमा समेत विवरणसमेत नबुझाएको भेटिएको छ ।

संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्था संकटमा परेसँगै राष्ट्रिय सहकारी बैंकको २३ करोड ५ लाख रुपैयाँ समेत उच्च जोखिममा छ । २०७८ असार ३१ गतेसम्म संस्थाको कुल वासलात २ अर्ब ३६ करोड ३१ लाख ९२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल वासलास जम्मा १ अर्ब ४३ करोड ७१ लाख १० हजार ६ सय ६० मात्र थियो । एक वर्षको अवधिमै संस्थाले झण्डै १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीले निक्षेप संकलन गरेको देखिन्छ । हाल संस्थाको कुल वासलात ३ अर्बको हाराहारिमा रहेको बुझिएको छ ।

६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी निक्षेप संकलन गरेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । संकलित रकम कानुन विपरित घरजग्गालगायत अध्यक्षका निजी ब्यवसायमा लगानी गरेको योसहकारीले बचतको सट्टा जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउने प्रयास गरेको थियो । सञ्चालक विरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि संस्थाले साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएको थियो ।


संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले सीमित सदस्यको भेला गरेर नौ बुँदे योजना सार्वजनिक गरेका थिए । उनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको योजनामा पाँच लाख रुपैयाँसम्म बचत भएका सदस्यलाई क्रमशः नगद र त्यसभन्दा बढि भएकालाई चितवनको मेघौलीमा रहेको जग्गा दिने योजना अघि सारेका थिए ।

चितवनको भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ बिघा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको र उक्त जग्गा ठूला बचतकर्तालाई दिने प्रक्रिया गत असोज ७ गतेबाट सुरु गरिने उनले त्यतिखेरै जानकारी दिएका थिए । २०७९ असार ११ गते सूचना निकालेर बचतकर्तालाई सम्पर्कमा आउन आग्रह पनि गरिएको थियो । बचतकर्ता संस्थाको न्युरोड शाखामा लाम लागे तर रकम फिर्ता पाएनन् । त्यसपछि बचतकर्ताहरूकै समूह बनाई उक्त समूहका बचतकर्ता कृष्ण प्रसाद कँडेल, नकुल आचार्य, जीवन श्रेष्ठहरूको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठ्ठामा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सिना, यशोदा सिलवाल, रञ्जु सिलवाल, लिला शाक्यलगायत सदस्यहरूले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको भन्दै उनले सञ्चारमाध्यममा सार्वजनिक गराएका थिए । तर ती सबै कुरा आश्वासन मात्र भएको गुनासो बचतकर्ताहरूको छ । उनीहरू एक रुपैयाँ पनि फिर्ता नपाएको भन्दै प्रहरीमा धाइरहेका छन् ।

६८ सहकारीलाई कारबाही गर्न काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारीका कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ । बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको भन्दै कारबाही गर्न प्रहरीलाई पत्र पठाएको हो ।

२०७२ सालदेखि २०८० सालसम्म करिब २ हजार ७ सय बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै पत्र पठाएको हो । सहकारीबाट ठगिएको भन्दै महानगरमा बचतकर्ताले दिएको उजुरीका आधारमा कारबाहीका लागि प्रहरीमा पत्र पठाएको महानगरको सहकारी विभागले जनाएको छ ।

महानगरले प्रहरीमा पठाएको पत्रअनुसार सबैभन्दा बढी गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले रकम हिनामिना गरेको छ । उक्त सहकारीले हालसम्म ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यस्तै अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ७ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यस्तै, तीन करोडभन्दा धेरै बचत हिनामिना गर्नेमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

सुमेरु पीडितलाई वडाले वार्तामा बोलायो

सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट ठगिएका बचतकर्ताहरूलाई ललितपुर महानगरपालिका–२३ ले एक सूचना जारी गर्दै छलफलको लागि बोलाएको छ । सूचनामा भनिएको छ, ‘सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभस्थित बचतकर्ताहरूको यस वडामा प्राप्त निवेदन बमोजिम आवश्यक छलफल तथा परामर्श गर्नका लागि भेला हुन अनुरोध गरिन्छ ।’ उक्त छलफल यही असार २१ गते बिहान ७ बजे सनात गुठी घर धापाखेलमा हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया