लुम्बिनी प्रदेश सरकार र एमालेबीच सहमति : आजदेखि बैठक सञ्चालन हुने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटको विषयमा असहमति राख्दै आएकोमा प्रमुख प्रतिपक्ष दल एमाले सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।

यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दल एमालेले मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत च्यातेर बहिष्कार गरेपछि मंगलबार राति दुवै पक्षबीच वार्ता भएको थियो ।

उक्त वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी सहभागी थिए ।

सहमति भएपछि मंगलबार स्थगित भएको प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले जारी गरेको सूचनामा मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औंँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको उल्लेख छ ।

प्रतिक्रिया