प्रभावकारी बन्दै दुर्गममा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’

रुकुम पश्चिम । गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दै आएको स्थानीय नागरिकको भनाइ छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ बस्ने २१ वर्षीया मनिषा शाहीलाई सुत्केरी बेथा लाग्यो । सामान्य परिवारमा शाहीको स्थानीय स्वास्थ्य संस्थाभन्दा बाहिर सुत्केरी गराउन सक्ने अवस्था थिएन । घरमै सुत्केरी व्यथाले च्यापेपछि शाहीका श्रीमान नरेन्द्र बोहोराले नजिकैको स्यालाखदी स्वास्थ्यचौकीमा पु¥याए । अस्पताल भर्ना भएकी मनिषालाई जटिलता थपिँदै गयो ।

शनिबार स्वास्थ्यचौकी पुगेकी मनिषा लामो समयसम्म सुत्केरी हुन सकिनन् । जटिलता थपिँदै गएपछि स्वास्थ्यकर्मीले आइतबार बेलुका रेफर गर्न अनुरोध गरे । स्वास्थ्यचौकीमा कार्यरत चेतना यरीले मनिषाको सानैमा विवाह भएका कारणले पनि त्यो समस्या आएको बताइन् ।
हेलिकोप्टरमार्फत मनिषाको १७ गते उद्धार भएपछि ज्यान जोगियो । सामान्य परिवारका बोहोराले सरकार भएको आफूलाई महसुस भएको बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आठबिसकोट नगरपालिका जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारको समन्वयमा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

आठबिसकोट–२ कि चेतना यरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दै गएको बताइन् । उनले त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ । यो हाम्रो जस्तो दुर्गम बस्तीका नागरिकका लागि उत्तम रहेको छ ।
सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ । प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्यु दर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रमअन्तर्गत हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रुपैयाँ खर्च सरकारले बेहोर्दै आएको छ । राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ । २०७५ पुस ६ गतेबाट सुरु गरिएको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम हालसम्म ४८ जिल्लामा लागू भएको जनाइएको छ । ४८ जिल्ला मध्ये १९ वटा जिल्लामा पूर्ण रूपमा लागू भइसकेको छ भने २९ जिल्लामा आंशिक रूपमा लागू गरिएको छ ।

ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम र दार्चुलामा पूर्ण रूपमा लागू भइसकेको छ भने पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी, गुल्मी, प्युठान, रोल्पा, जुम्ला, सल्यान, डोटी, बैतडी र डडेलधुरामा आंशिक रूपमा निःशुल्क हवाई उद्धारकार्यक्रम लागू भइसकेको राष्ट्रपति महिला उत्थान कार्यक्रम इकाइले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया