‘विदेशको सीप स्वदेशको रोजगार’

सन्धिखर्क । सन्धिखर्क नगरपालिका–४ वाङला बस्ने बाबुराम सुनारले करिब दुई सय बाख्रा पालेका छन् । उनको पछिल्लो दैनिकी भनेको बाख्रापालनमै बितिरहेको छ । ३५ वर्षीय बाबुराम सानै उमेरमा वैदेशिक रोजगारीमा गरेको बताउँछन् । उनले १५ वर्षको उमेरमा भारतमा रोजगारी गरेको सुनाए । ‘सानै उमेरमा वैदेशिक रोजगारमा गइयो नेपाल बस्न लागेको धेरै भएको छैन यही पाँच÷६ वर्ष जति भयो, विदेशबाट फकिएर बाख्रापालन थालेको हुँ’ उनले भने, ‘विदेशमा पनि लामो समय बाख्राको फर्ममै काम गरे, त्यहाँ सिकेको ज्ञान र सीपलाई यहाँ प्रयोग गरेको छु ।’

भारत, दुबई र कुबेत गरी करिब २० वर्ष विदेशमा बसेको बाबुरामले सुनाए । उनी अहिले दिनभर बाख्राको स्याहारसुसारमा व्यस्त हुन्छन् । उनले सन्धिखर्कको वाङ्लामा बाख्रा फर्म सञ्चालन गरेको करिब डेढ वर्ष जति भयो । यसअघि पाणिनीको धातिवाङमा बाख्रापालन गरेका थिए । ‘यसअघि करिव पाँच वर्ष पाणिनीको धातिवाङमा बाख्रा पालेको थिएँ त्यहाँ खासै बाख्रा हुर्किएनन्, अनि त्यहाँबाट फर्म यहाँ ल्याएको हुँ’, उनले भने, ‘यहाँ धेरै सुविधा अनि बाख्रालाई चाहिने मिठो घाँस छ ।’

झट्ट हेर्दा कुनै रिसोर्टभन्दा कम छैन उषा बाख्रापालन तथा कृषि फर्म । मिहिनेती बाबुरामले आधुनिक तरिकाले बाख्रा पालेका छन् । उनले तीन सय रोपनी जग्गा लिजमा लिएर बाख्रापालन सुरु गरेको सुनाउँछन् । त्यहाँ उनले बाख्रा मात्र होइन भेडा र लोकल कुखुरासमेत पालेका छन् भने फलफूल, विभिन्न जातका तरकारीहरू बारीभरी लगाएका छन् । फलफूल तथा तरकारी पानीको अभावले गर्दा खास्सै मौलाउन नपाएको बाबुरामले सुनाए । ‘यहाँ अल्लि धेरै पानीको समस्या छ, त्यसको समाधानको लागि अहिले काम गरिरहेको छु,’ उनले भने । ‘पानी भयो भने यहाँ धेरै तरकारी उत्पादन गर्ने लक्ष छ ।’

उषा बाख्रापालन तथा कृषि फर्ममा अहिलेसम्म करिब १ करोड ५० लाख जति लगानी भएको उनको भनाइ छ । तीन सय रोपनी जग्गाभरी विद्युतीय तार लगाएका छन् । तारभन्दा बाहिर बाख्रा पनि जाँदैनन् र तारभित्र जंगली जनावर पनि नआउन भनेर विद्युतीय तार लगाएको उनले बताए । बाख्रा हेर्नका लागि उनले मुस्ताङबाट भोटे जातका कुकुर पनि ६ वटा ल्याएका छन् । ‘दिनभर बाख्रा पाखातिर लगेर छाड्ेपछि ती कुकुरले नै बाख्रा हेर्ने गर्छन्, साँझ लिन गए हुन्छ,’ उनले भने । ‘कुकुर भएपछि धेरै जनशक्तीको आवश्यक पर्दैन ।’ त्यहाँ दुईजनाले रोजगार पनि गर्छन् । उनीहरूले बाख्रा बस्ने ठाउँ सफा गर्ने, तरकारीको हेरचाह गर्ने लगायतका काम गर्छन् ।

बाबुरामले फर्ममा अझै धेरै बाख्रापालन गर्ने लक्ष राखेका छन् । उनी भन्छन्, ‘घरपरिवार पाल्न लामो समय विदेश बसियो त्यहाँ पनि यहीँ हो काम । आफ्नै देशमा केही गरौँ भन्ने सोचले फर्म सञ्चालन गरेको हुँ, काम गरेपछि एकदिन अवस्य सफल भइन्छ । सफल हुनका लागि भाग्यमा होइन मिहिनेतमा विश्वास गर्ने गर्छु ।’

यसो त उनले उत्पादन भएपछि बजारको अभाव नहुने पनि विश्वास लिएका छन् । उनले सकेसम्म यहि अर्घाखाँचीमै बिक्री गर्न सकिन्छ यहाँ भएन भने बुटवल तथा अन्य जिल्लामा पनि बिक्री गर्न सकिने बताए । ‘उत्पादन गर्न प¥यो उत्पादन भएपछि सामानले अवस्य बजार पाउन्छ,’ बाबुरामले भने । ‘फर्म सञ्चालन गरेपछि यो डेढवर्षको अवधिमा करिब पाँच÷सात लाखको बिक्री भएछ, लगानी उठ्न समय लाग्छ ।’
उषा बाख्रापालन फर्ममा अहिलेसम्म सरकारको नजर पर्न सकेको छैन । सरकारको अनुदान वास्तविक कृषक र व्यावसायिक कृषकले नपाउने गरेको धेरै पाइन्छ । बाबुरामले पनि अनुदान केही दिन देखिने कृषकले मात्रै पाउने गरेको बताए । विदेशबाट फर्किएका अन्य कैयौँको रोजाइमा बाख्रापालन गर्ने इच्छा हुन्छ तर उनीहरूसँग लगानी नहुँदा बाख्रापालन गर्न सकेका हुँदैनन् ।

प्रतिक्रिया