‘संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे । प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’

प्रधानमन्त्री दाहालले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए । उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।

सांसद चौरसियाले मधेशमा किन कम बजेट विनियोजन गरिएको भन्ने प्रश्न गरेका थिए ।

प्रतिक्रिया