शिक्षण सिकाईलाई प्रविधिसँग जोड्न क्षमता विकास तालिम शुरु

प्युठान । झिमरुक गाउँपालिकाले सुचना प्रविधि सम्बन्धि शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका भरि रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई एक हप्ते सुचना तथा संचार प्रविधि सम्बन्धि क्षमता विकास तालिम शुरु गरेको छ ।गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाका विद्यालयलाई सूचना प्रविधिसँग जोडेर लैजाने उदेश्यले शिक्षक र कर्मचारीको लागि तालिमको आयोजना गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले एक कार्यक्रमकाबीच शुक्रबार तालिमको उद्घाटन गरे । तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले अहिलेको युग सुचना र प्रविधिको युग भएकोले सुचना प्रबिधिलाई अधिक्तम उपयोग गर्दै शैक्षिक गुणस्तर सवल बनाउन तालिम फलदायी हुने बताए ।

तालिमलाई अवसरका रुपमा लिन सहभागीहरुलाई आग्रह गर्दै उपाध्यक्ष पोख्रेलले शिपलाई प्रविधिसँग जोड़ने मात्रै नभई विद्यालयहरुलाई प्रविधी मैत्री बनाउन तालीम आवश्यक रहेको बताए । जनशक्ति अभावमा बिद्यालयलाई प्रबिधि विकास हुन नसकेकोले यस्लाई प्राथमिकता राखेर यो तालिमको आयोजना गरिएको बताए ।

त्यस्तै गाउँपालिकाको युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख मोहन बिसीले अहिलेको समय सुचना प्रविधि विषयको पाठ्यक्रम समेत रहेकोले तालिमको अपरिहार्यता भएको बताए ।

विद्यालयमा तथ्याङ्कहरु चुस्त दुरुस्त राख्न, प्रविधिको माध्यमबाट आवश्यक शैक्षिक सामग्री व्यवस्थापन र डिजिटल पाठयोजना निर्माणसम्मको योजना अनुसार तालिम अघि बढाइएको शाखा प्रमुख बिसीले जानकारी दिए ।

तालिम असार १ गते देखि एक हप्तासम्म गाउँपालिकाको सभाहल मच्छिमा सञ्चालन हुँदैछ। सुचना प्रविधि सम्बन्धि शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने उद्धेश्यले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम अन्तरगत ६ लाख बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।

सो तालिममा पालिका भरिका ४६ सामुदायीक विद्यालयका ५८ जना शिक्षक शिक्षिका तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया