श्रीलंकाको कोलम्बोमा ‘ग्लोबल टुरिज्म कन्फ्रेन्स’

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा दोस्रो ‘ग्लोबल टुरिज्म कन्फ्रेन्स’ सम्पन्न भएको छ । सो समारोहमा सहभागी हुन नेपालबाट करिव एक दर्जनभन्दा बढी कलाकार, पत्रकार, सामाजिक अभियन्ता एवं पर्यटन व्यबसायीहरुको कोलम्बो आएका थिए ।

श्रीलंका र नेपालमा पर्यटन प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यवसायी, समाजसेवीहरुको समेत सहभागिता रहेको नेपालबाट गएका नायक श्रीदेव भट्टराईले जानकारी दिए ।

श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको नायक भट्टराईले बताए ।

इस्ना होलीडेज तथा श्रीलंकन एयरलाईन्सको विशेष सहयोग रहेको कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागिता जनाउन आएका वरिष्ठ अभिनेता उद्धवराज भट्टराई, वरिष्ठ गीतकार प्रमोद भट्टराई प्रतिक,साहित्यकार राधादेवी पराजुली, नायक श्रीदेव भट्टराई, सञ्चारकर्मी राज लुईटेल, शिक्षाविद् सन्जय दाहाल, समाजसेवी रञ्जिता गुरुङ, सौन्दर्यविद् जेविशा थापा, समाजसेवी, शान्ता कुमारी दाहाल, शिक्षाविद् कावेरी दाहाल, आरुषी दाहाल, पर्यटन व्यवसायीहरु नरेन्द्र थापा, रमेश क्षेत्रीलगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै श्रीलंकाका निशानत परेरा, दनुस्का जयसिंघे लगायत केही पर्यटन व्यवसायी तथा एवं सामाजिक अभियन्ताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्रीलंकाका पर्यटन व्यवसायी वक्ताहरुले श्रीलंकनहरुले नेपाललाई प्रमुख धार्मिक पर्यटक स्थलको रुपमा चित्रण गरिने गरेको र वार्षिक नेपाल भ्रमणमा जाने श्रीलंकन पर्यटकहरुको संख्या बढेपनि नेपालबाट श्रीलंका भ्रमणमा आउने नेपाली पर्यटकहरुको संख्या न्यून रहेकोले यस कार्यक्रमले श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्या बढ्नेमा आशावादी भएको बताएका थिए ।

यसैगरी नेपाली वक्ताहरुले पनि श्रीलंका र नेपालको निकै पुरानो सम्बन्ध भएको र दुवै देश बुद्ध धर्ममार्फत संसार भर चिनिएकाले बुद्ध धर्मालम्वीहरुको देश भनेर परिचय बनाएको दुवै देशले लामो समयदेखि भोगेको अशान्ति बाट मुक्त भए पनि राजनीति अस्थिरताले सोचे अनुरुप विकास हुन नसकेको गुनासो गरे ।

कार्यक्रमका प्रमुख अतिथि मिश्रले यस किसिमको उत्कृष्ट कार्यक्रम गर्न श्रीलंका रोजेकोमा आयोजक कमिटीलाई धन्यवाद दिँदै श्रीलंकनहरुले नेपालीहरुलाई असाध्यै स्नेह र आदर गर्ने र नेपालीहरु भनेको बुद्ध जन्मभूमिका नागरिक हुन् भन्दै श्रद्धापूर्वक व्यवहार गर्ने गरेको बताए ।

श्रीलंका विश्वकै सवैभन्दा बढी साक्षर भएको देश भएको र नेपालबाट वर्षेनी शिक्षाका लागि अर्बौँ बहििरिएको सन्दर्भमा श्रीलंकाबाट पाइने छात्रवृत्तिका लागि समेत नेपाली विद्यार्थीहरुले धेरै फाइदा लिन सक्ने जानकारी दिए ।

कार्यक्रममा उपस्थित नेपाली दूतावासको तर्फबाट द्वितिय सचिव विश्वास भट्टले दुवै देशका भाषामा कार्यक्रमको सफलता शुभकामना दिदै यस समारोहले श्रीलंकाबाट नेपाल भ्रमण गर्न जाने पर्यटकहरु बढ्नेमा आशावादी भएको र यसका लागि नेपाली दुतावासले समेत विशेष योजना ल्याउन लागेको बताए ।

प्रतिक्रिया