एक जेठले गर्मी सकिँदैन

डेढ सातादेखि तराई तथा भित्री मधेसमा अत्यधिक गर्मी बढेको छ । बढ्दो गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको छ । मानिसको शरीरको तामक्रम ३६ डिग्री सेन्टिग्रेड हुन्छ । मानिसको शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम बढी हुनु भनेको गर्मीले खतराको रेखा पार गर्नु हो । गत बुधबार जनकपुरमा ४२ दशमलव २, विराटनगरमा ४१, नेपालगञ्जमा ४१ दशमलव ६, सिमरामा ४१ दशमलव ७ र भैरहवामा ४१ दशमलव ८, धनगढीमा ३९ दशमलव ९ र धरानमा ३९ दशमलव ३ डिग्री सेन्टिग्रेड तापक्रम मापन भएको छ । अझै पाँच दिन तापक्रम बढ्ने मौसम विज्ञान विभागले जनाएको छ । पानी पर्न सुरु नहुँदासम्म गर्मी घट्दैन । मनसुन सुरु नभई नियमित पानी पर्दैन । मनसुन सुरु हुन अझै दुई साता लाग्ने मौसम विज्ञान विभागले जनाएको छ । ४० डिग्री सेन्टिग्रेडभन्दा माथि तापक्रम पुगेपछि तातो हावा चल्न थाल्छ । जसलाई ‘लु’ भन्ने गरिन्छ ।

‘लु’बाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता असर देखिने भएकोले सतर्कता अपनाउनु जरुरी छ । सतर्कता अपनाउन नसकेका कारण नेपालमा हरेक वर्ष ‘लु’ बाट प्रतिलाख दुई जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

संसद्को जारी बैठकमा समेत गर्मीका कारण तराईमा उत्पन्न समस्या बारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘लु’ को समस्याबाट नागरिकलाई जोगाउनका लागि विद्युत् आपूर्ति नियमित गर्न विद्यालयहरूमा पंखाको व्यवस्था गर्न सांसदहरूले माग राखेका छन् । साथै विद्यालयहरूमा रहेको जस्तापाताको छाना हटाई ढलान गर्न, तथा अन्य दीर्घकालीन उपायहरू अवलम्वन गर्न पनि सांसदहरूले माग गरेका छन् ।

विगतमा विद्युत्को व्यवस्था नहुँदा ‘लु’ का कारण प्रभावित हुनेहरूको संख्या निकै ठूलो हुन्थ्यो । तर अहिले विद्युत्को व्यवस्था भएका कारण सक्नेहरूले घरमा एसी राखेका छन्, फ्रिज राखेका छन् । अधिकांशले पंखा राखेका छन् । तर घरमा विद्युत् जोड्न नसक्नेहरूको संख्या पनि उल्लेख्य छ । यसैगरी ‘लु’ चलिरहेको अवस्थामा घरबाहिर काममा निस्कनु भनेको निकै ठूलो जोखिम हो, तर दिनभरी काम नगरे बिहान बेलुकाको छाक टार्न नसक्ने मजदुरहरूको संख्या पनि उल्लेख्य छ ।

जनचेतनाको पनि अभाव छ । किनकी ‘लु’ भनेको आफ“ैमा रोग होइन । गर्मीका कारण पसिना बग्दा शरीरमा नुन र पानीको मात्रा घट्न जाने भएकोले रक्तचाप ह्वात्तै घट्छ । मस्तिस्कमा रक्त प्रवाह कम हुनासाथ मान्छे बेहोस् हुन्छ । चर्को घाम लागेको बेला बाहिर हि“डडुल तथा शारीरिक श्रम नगर्ने र प्रसस्त चिसो पानी पिउने हो भने ‘लु’ बाट बच्न सकिन्छ । तर यति सजिलो कुरामा पनि जनतालाई सचेत गराइएको छैन । फोस्रा नारा र गुलिया भाषणले जनताको ज्यान बच्दैन । ठोस काम हुनुपर्छ । घर बनाउने जग्गासमेत कतिपयको छैन । घरबारविहीन परिवारले बिजुली कहाँ जोड्नु ? दिउँसो काम गर्न नपाउँदा बिहान बेलुकाको छाक टार्न नसक्नेहरूका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्छ ।

‘लु’ का कारण कृषि मजदुरले पहिलो कुरा त काम पाएका छैनन्, दोस्रो कुरा काम गर्न नसक्ने अवस्था छ । रिक्सा चलाएर जीविकोपार्जन गर्नेहरूको हालत पनि कृषि मजदुरको भन्दा कम विजोग छैन । ‘लु’ को समस्या यस वर्ष मात्रै आएको पनि होइन, अब टर्ने पनि होइन । एक माघले जाडो सकिँदैन भने जस्तै एक जेठले ‘लु’ सकिँदैन । यस्ता जेठ हरेक वर्ष आउँछन् । अनि हरेक वर्ष संसद्मा भाषण गर्यो सकियो । छेपाराको उखानजस्तो भएको छ ।

प्रतिक्रिया