बालश्रम मुक्त नगर बनाउन पनौतीको अग्रसरता

रणनीतिक कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता

काभ्रे । जिल्लाको पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन नगरपालिकाले अग्रसरता देखाएको छ । शुक्रबार बालश्रममुक्त नगर बनाउन नगरपालिकाले खेल्नुपर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरूसँग छलफल गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका साथ नगरपालिकालाई बालमैत्री घोषणा गरिए अनुरूप बालश्रम मुक्त बनाउने बताएका छन् ।

‘बालश्रम मुक्त नगर बनाउन कार्ययोजना तयार गर्ने, बालमैत्री नगरको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रमलाई थप ऐन, कानुन तथा कार्यविधि तयार गरी कार्यान्वयन गरिने भन्दै भण्डारीले ‘नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, जोखिममा परेका बालबालिकाहरूको उद्धार गर्ने तथा परिवारलाई आय आर्जनमा जोड्ने, बालगृहहरूलाई नगरपालिका भित्र बेहोर्नुपर्ने सामाजिक दायित्वभित्र ल्याई समन्वयको भूमिकामा राख्ने र नगरपालिकाले तथ्यांकको अभिलेख राख्दै काम गर्ने, सराकोरवालाहरूसँगको समन्वयमा आवश्यक कार्य गरेर बालश्रम मुक्त नगर बनाउन आवश्यक रणनीतिक कार्ययोजना बनाउन र काम गर्न सरोकारवालाहरूसँग सहकार्य गरिने बताएका छन् ।

नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले पनौती बालमैत्री नगर भएकाले बालश्रम मुक्त बनाउन विगतमा गरिएका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने भन्दै ‘पनौतीमा विभिन्न पालिका तथा जिल्ला र देशबाट समेत नागरिकहरू आउने र उनीहरूका सन्तान बालश्रममा लाग्ने गरेको तथ्यांक देखिएको छ’, उपप्रमुख गीता बञ्जाराले भनिन्, ‘बालश्रममा लागेका बालबालिकाहरूलाई उद्धार गरेर सम्बन्धित देशमा पठाउन नसक्दासम्म नेपाल भित्रको समस्या समाधान भए पनि छिमेकी देशका बालबालिकाहरूको अवस्थालाई सुधार्न कठिन छ । नगरभित्र भारत लगायतका देशबाट बालबालिकाहरू गाडी ग्यारेज लगायतका उद्योगहरूमा कार्यरत छन् ।’ विभिन्न पालिका तथा छिमेकी जिल्लाबाट समेत पनौती र आसपासका पालिकाहरूमा बालबालिकाहरू श्रममा संलग्न छन् । सहभागी वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले बालश्रम मुक्त नगर बनाउन सबै पक्षका उत्तिकै समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, सामाजिक विकास शाखा प्रमुख केशव बञ्जारा, विभिन्न शाखाका प्रमुखहरूले बालश्रम मुक्त नगरका लागि समन्वय र नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । सरोकार समाज नेपालका अध्यक्ष अशोक खनालले बनेपा र पनौतीमा बालश्रम मुक्त नगर बनाउने उद्देश्यले सरोकार समाज नेपाल, स्वतन्त्रता अभियान र ग्लोबल मार्च लगायतको सहयोगमा अभियान सुरु गरिएको बताउँदै विगतदेखि नै काभ्रेको प्रायः सबै पालिकाहरूमा बालबालिकाको अवस्था र पालिकाहरूले गर्नुपर्ने दायित्व र भइरहेको गतिविधिलाई सुधार्नुपर्नेतर्फ आफूहरूले सुझाव सहितको अभियान चलाइरहेको बताए । उनले पहिले ३९ वटा सूचक भएकोमा हाल सूचकहरू ५१ वटा पूरा गर्नुपर्ने र बालश्रम उन्मुलन अभियानका सन्दर्भमा आएका कानुन तथा नीति एवं निर्देशिका कार्यान्वयन तथा परिमार्जनको आवश्यकतासमेत रहेको बताए । उनले जनप्रतिनिधिहरूले बालबालिकाको क्षेत्रमा छुट्याइने बजेटको प्रभाव तत्कालिन नदेखिए पनि दीर्घकालीन रूपमा त्यसले समाजलाई स्थायित्व र दिगो उन्नतिको बाटोमा प्रवेश गर्न सकिएकोले यो कुरा जनप्रतिनिधि एवं कर्मचारीहरूले बुझ्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा नेपालको विद्यमान ऐन, कानुन तथा संविधानका बुँदा र अधिकारका बारेमा बालअधिकारर्मी उद्धवराज पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले हरेक वर्ष जुन १२ लाई विश्व बालश्रम विरुद्धको दिवसको रूपमा मनाइहेको सन्दर्भलाई लक्षित गर्दै बालबालिकामा लगानी सुरुआतबाट नै राम्रो गर्नसके त्यसको प्रतिफल पनि राम्रो आउने बताए । उनले बढ्दो प्रविधिको प्रयोगले बालबालिकामा कुन खाले मार्ग पहिल्याइरहेका छन् ? उनीहरूलाई अभिभावकले गर्ने हेरचाह र अभिभावक नै नभएका बालबालिकाको सन्दर्भमा राज्य संयन्त्रहरूले गर्नुपर्ने भूमिकाप्रति सन्तोषजनक काम नभएको पनि बताएका छन् । यस्तै पनौती नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउन नगरका लागि आवश्यक कार्ययोजना, कार्ययोजनाभित्र गरिने गतिविधि तथा त्यसका लागि सम्पर्क व्यक्ति लगायतका कार्यमा सहजीकरण गरिएको अशोक खनालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेशाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लाको समग्र बालबालिका क्षेत्रको विभिन्न बस्तुस्थिति प्रस्तुत गर्दै बालविवाह जटिल सवाल लाई दृष्टिगत गरी लाग्नुपर्ने सुझाएका छन् । उनले केही समय अघि मात्रै काभ्रेको मुख्य बजार बनेपामा भएको अपराधिक क्रियाकलाप र दुव्र्यसनमा समेत बालबालिकासंलग्न भइरहेको घटनालाई स्मरण गराउँदै विद्यालय स्तर परिवार स्तर र सामुदायिक स्तरदेखि नै बालश्रम र बालबालिकाहरूको भविष्यको सवालमा लागि पर्नुपर्ने बताए ।

प्रतिक्रिया