हस्तकलाको महत्त्व

अरुणा हिङमाङ

नेपालको यिनै सेरोफेरोमा रहेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाम दिइएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ । जेठ १५ गतेदेखि सुरु भएको यसमा प्रदर्शनीमा हिमाल, पहाड, तराई–मधेशका आफ्ना मौलिक हस्तकलालाई एउटै छानामुनि हेर्न पाइन्छ

कला र संस्कृतिको धनी देश नेपाल, यहाँ विभिन्न जाति धर्म र संस्कृति र फरक भूगोल अनुसार यहाँ पाउने विभिन्न कलामा हस्तकला महत्वपूर्ण मानिन्छ । मुख्यतः कुनै उपकरण प्रयोग नगरी हातको प्रयोग गरी स्थानीय कच्चापदार्थ प्रयोग गरी कलात्मक र आर्कषक कुनै वस्तु तयार गरिन्छ भने त्यसलाई हस्तकला मानिन्छ । कुनै पनि सभ्यताको विकासको साथसाथै धर्म, संस्कृति, कालखण्ड त्यस समयमा बनिएका सामग्रीबाट पहिचान गर्न सकिन्छ । हस्तकला निर्माणमा नेपालको सामाजिक परिवेश यहाँको आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा वस्तुस्थितिलाई अँगाल्दै कलात्मक रुपले प्रस्तुत हँुदै आएको छ ।

नेपालको यिनै सेरोफेरोमा रहेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाम दिइएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ । जेठ १५ गतेदेखि सुरु भएको यसमा प्रदर्शनीमा हिमाल, पहाड, तराई–मधेशका आफ्ना मौलिक हस्तकलालाई एउटै छानामुनि हेर्न पाइन्छ । हाम्रा मौलिक हस्तकला लोप हुन दिनुहुँदैन र यसको संरक्षण गर्नुपर्छ भन्ने हेतु साथै कलाकारको सिर्जनालाई प्रोतसाहन दिनुपर्छ मान्यता राख्दै प्रतिष्ठानले कलाकारसँग हातेमालो गर्दै अगाडि बढिरहेको छ । नेपालको हस्तकला विश्वबजारमा लोकप्रिय बन्दै गइरहेको छ । जस्तै, भोजपुरको खुकुरी, पाल्पाको करुवा, काठमाडौं उपत्यकाको काष्ठकला, मूर्तिकला साथै पस्मिना, प्राकृतिक रेसाबाट बनिएका सामानहरु साथै परम्परागत पेसाहरु पनि पर्दछन् । हस्तकला थोरै लगानीमा पनि गर्न सकिने भएकाले धेरै युवा तथा महिला यसमा बढी आकर्षित भएको पाइन्छ । साथै यसबाट नेपाली अर्थतन्त्रमा समेत विशिष्ट योगदान पुगिरहेको छ ।

राज्यको हरेक स्थान र जातजातिको पनि आ–आफ्नो पहिचानको कलात्मक प्रस्तुति रहेको हुन्छ । हस्तकला दैनिक प्रयोजनदेखि लिएर सजावटको सामानलगायत काष्ठकला, प्रस्तरकला साथै धातुजन्य कला विश्वबजारमा समेत लोकप्रिय छन् । यी नेपालका गौरव तथा पहिचान हुन् । यिनीहरुको संरक्षण, सम्बद्र्धन हुन जरुरी छ । त्यसको लागि राज्यको योजना तर्जुमा विकास गरी यसलाई उत्पादनको लागि प्रोत्साहन गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्दै बजार व्यवस्थापन गराउनु पर्दछ । यसलाई मौलिक पहिचानको संरक्षणसँगै आयआर्जनसँग जोडेर अगाडि बढाउन जरुरी छ । यसका लागि प्रभावकारी गुरुयोजना बनाउनु जरुरी छ । जसले गर्दा हस्तकलामा संलग्न जातजाति वा समूहले यसबाट बढी लाभ लिन सक्छन् । नेपालमा विकसित रैथाने कलालाई संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा विकास गर्दै आयमूलक बाटोमा जोड्नु आजको मूल आवश्यकता हो । यसले समुदायको आर्थिक उन्नतिसँगै संस्कृतिको जर्गेनामा योगदान पुग्छ । हस्तकलाको विकासमा हाम्रो सामु विभिन्न बाधा–अडचन पनि रहेका छन्, । तिनको पहिचान गरी निराकरण गर्नुपर्ने आवश्यकता हाम्रासामु विद्यमान रहेको छ । समथै यी समस्याको समाधानसँगै पुस्तान्तरण गर्दै अगाडि लैजानु पर्दछ ।

नेपाली रैथाने कलाको विकास, विस्तार, संरक्षण तथा संवद्र्धन गर्दै राज्यमा लुकेर रहेका हस्तकलालाई राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु पर्ने चुनौती हाम्रासामु टड्कारो रुपमा आएको छ । यसगरी, क्षेत्रमा संलग्न पक्षलाई अगाडि ल्याई हाम्रो मौलिक हस्तकलाको संरक्षण तथा संवद्र्धन गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहल लिन जरुरी छ । यसैका कडीको रुपमा प्रतिष्ठानले हस्तकलामा कलाको सौन्दर्य पक्षलाई केन्द्रित गरी काम गर्ने योजनासमेत बनाउँदै छ । यस्तै, राष्ट्रिय ललितकला प्रदर्शनीमार्फत देशको हस्तकलालाई आमदर्शक सामु ल्याउने काम भइरहेको छ । देशभरी छरिएर रहेका कला र कलाकारका कलाकृतिको एकै स्थानमा प्रदर्शनी गर्ने महान लक्ष्यका साथ गरिएको कार्यक्रममा सातै प्रदेशका कलाकारको सहभागिता रहेको छ । हरेक वर्ष गरिने यस प्रदर्शनीमा हस्तकलाको उपस्थितिलाई अझै प्रभावकारी रुपमा बढाउनु पर्ने चुनौती हाम्रासामु टड्कारो रुपमा देखा परेको छ ।

रैथाने हस्तकला नै हाम्रो सभ्यताको पहिचान हो । रैथाने हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रतिष्ठानमार्फत आवश्यक पहल गरिरहेका छौँ । हुनत् कतिपय रैथाने हस्तकला लोप हुने अवस्था भने चिन्ताको विषय बनेको छ । रैथाने परम्परा, हस्तकला नयाँपिँढीमा सीप हस्तान्तरण हुन नसक्नु अर्को चुनौतीको रुपमा रहेको छ । यसको मुख्य कारण कतिपय सन्दर्भमा परम्परागत हस्तकलालाई हेयको दृष्टिले हेर्ने परिपाटी पनि एक हो । साथै हजारौँ युवाहरु विदेशिन्छन् तर आफ्नो पुख्र्यौली पेसा गर्न चाँहदैनन । यसमा राज्यका सबै निकायले गम्भीरतापूर्वक लिन जरुरी छ ।

हामीले लगाउनेदेखि लिएर दैनिक प्रयोगमा आउने हस्तकलालाई स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ । जस्तैः रत्न तथा आभूषण सौन्दर्यको लागि मात्र नभएर यसले स्वास्थ्यमा पनि औषधिको काम गर्ने मान्यता छ । खेर गएका वस्तुबाट पनि सुन्दर हस्तकलाका सिर्जना गर्न सकिन्छ । जस्तैः मकैका खोस्टा, प्लास्टिकका झोला, कपडा, जनावरका हड्डी आदिबाट साना तथा मझौला व्यवसाय चलाएर आत्मनिर्भर बन्न सकिन्छ । यस्ता सिर्जना देशमा मात्र नभएर विदेशमा समेत बिक्री गर्न सकिन्छ । ‘जाने ढुंगामा पनि सुन फलाउन सकिन्छ’ भनेजस्तै म केही गर्छु भनेर दृढइच्छाशक्ति बढाउनु पर्छ । हरेकसँग कुनै न कुनै सीप लुकेको हुन्छ । यस्ता प्रदर्शनीले सबैलाई मार्गदर्शन गराउँछ भन्ने लाग्दछ । एकथरी युवाहरु विदेशिएका छन् भने अर्काथरी युवाहरु आफ्नै देशमा केही गर्छु भन्ने पनि छन् । यस्ता युवाहरुलाई सीप विकास गरी हस्तकलामा लाग्न अभिप्रेरित गर्नु पर्दछ । यसलाई जोगाइराख्नु सबैको दायित्व पनि हो । सभ्यता जोगाउन र सामाजिक रुपमा मौलिकताको संरक्षणमा लाग्ने वातावरण निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।

राष्ट्रिय ललितकला प्रदर्शनीमार्फत प्रतिष्ठानले नेपालमा प्रचलित कलाको पहिचानलाई चिनाउने प्रयत्न गरेको हो । प्रदर्शनीले देशको भावनालाई कलात्मक रुपमा जोड्ने काम गरेको छ ।

प्रतिक्रिया