गुण्डागर्दी नमच्याउन पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए । बिहीबार पत्रकार भेटघाट कार्यक्रममा उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए ।

‘म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्,’ खनालले भने, ‘एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।’

पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए । साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ । उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए ।

त्यस्तै खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानविपरीत भएको बताएका छन् । उनले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताए ।

उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानविपरीत भएको बताए । उनले सभामुखले पठाएको विधेयकलाई १५ दिनभित्रमा प्रमाणकीरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने जिकिर गरे । उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपति समक्ष विधेयक जान नसक्ने स्पष्ट पारे । उनले सरकारले कानुुन मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री खनालले टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आममाफी दिनु गलत भएको पनि बताए । उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताए ।

प्रतिक्रिया