रुकुमको ब्राण्ड बन्यो, झारमारेको मुलपानी

रुकुमपश्चिम । जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको कर्णाली वेभरेज प्रालिले व्यावसायिक पानी उद्योग सञ्चालन गरेको छ । आठबिसकोट नगरपालिका–१२ मा रहेको वेभरेजले ‘रुकुमको’ नामक स्थानीयस्तरबाट शुद्ध पिउने पानी बजारमा ल्याएको हो ।

वन संरक्षणको अभावमा कतिपय स्थानमा पानीको स्रोत सुक्दै गएको बेला यहाँ भने बनको संरक्षणका कारण पानीको स्रोतबढ्दै गएपछि पानी उद्योग सञ्चालन गर्ने जमर्को गरिएको वेभरेजका अध्यक्ष दलबहादुर शाहले बताए ।

उनका अनुसार बनको बीच भाग आठबिसकोट–१० खापेको माथिल्लो भाग र झारमारेबाट जंगल, पहरा हुँदै झरेको स्रोतबाट धेरै पानी बगेर गयो, केही भाग मात्र घरायसी प्रयोगका लागि उपयोग गरिएको थियो, यतिखेर भने त्यही मूलको पानी बजारमा बिक्री गरेर थप आम्दानी गर्ने लक्ष्य वभरेजले लिएको छ ।

जंगलदेखि बग्दै खेर गएको पानी उपयोगमा नआएपछी मुहानलाई संरक्षित गरिँदै आएको र पानी उद्योग सञ्चालनसँगै बजारमा बिक्री गरी आम्दानीको स्रोतमा परिणत गरिने उनले सुनाए । पानी बिक्रीबाट राम्रो आम्दानी गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त पानी उद्योगमा दैनिक पन्ध्र हजार लिटर पानी उत्पादन हुने भएको हो ।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पछिल्लो समय उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको अवस्थामा पिउने पानी उत्पादन गरेको मूलको पानी बजारको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पानी उद्योगमा एक लिटरको बोतल एवं २० लिटरको जार निर्माण गरेर बजारमा पठाएको छ ।’

प्रयोगशालामा पानीको नमूना परीक्षण गरी पिउन उपयुक्त भएको प्रमाणपत्र प्राप्त गरेको बताउँदै अध्यक्ष शाहले भने, ‘हामीले उत्पादन गरेको पानी मंगलबारदेखि बजारमा पु¥याएका छौँ । वार्षिक एक करोड बराबरको रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको सो वेभरेजले सञ्चालन गरेको पानी उद्योगबाट बजारमा प्राकृतिक स्रोतको शुद्ध पानी उपलब्ध गराउनुका साथै ३० जनाले प्रत्यक्षरूपमा रोजगार प्राप्त गर्ने अध्यक्ष शाहको जिकिर छ ।

पछिल्लो समय लहरकै रुपमा खुलेका अधिकांश उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमिन मुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत दिएको छ । स्थानीय स्रोतमा आधारित उद्योग जीविको पार्जनसँगै मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य बनेको छ ।

आठबिसकोटको झिनचौरमा रहेको कर्णाली वेभरेजले शुद्ध पानी उत्पादन गरेसँगै किसानले फलाएको किबि, सुन्तला खरिद गरिएको अन्य फलफूलको वाइन र जुस उत्पादन गर्ने कर्णाली वेभरेजका अध्यक्ष शाहले जानकारी दिए ।

‘कर्णाली बेभरेजले शुद्ध खानेपानीको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित पानी घटाउने र स्थानीय स्तरमै रोजगार सिर्जना गर्न नगरले पिउँने पानी उद्योग तथा किसानको मागको आधारमा किवि, सुन्तला उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ,’ नगरप्रमुख रवि केसीले भने । उनका अनुसार यस कार्यक्रममा करिब दुई सय किसान आबद्ध छन् ।

यस अघि आठबिसकोटमा उत्पादन भएको कृषि उपजसो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै किवि र सुन्तला खेति गरेका छन् । पछिल्लो समय आठबिसकोटमा किवि र अन्य फलफुलको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको दरिलो माध्यम बनेको छ ।

उक्त उद्योगले मंगलबारदेखि शुद्ध खानेपानी बजारमा ल्याएको हो । शुद्ध पानीले रुकुम, जाजरकोट, सल्यान, डोल्पालगाएतका जनता ‘रुकुमको’ पिउने पानीबाट लावान्भित हुने बताइएको छ । स्थानीय युवाहरुको संयुक्त शेर लगानीको करिव १८ करोडमा बनेको कर्णाली वेभरेजमा नगरपालिकाले चालिस प्रतिशत लगानी गरेको छ ।

होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मका लागि दैनिक पिउन मिनरल वाटर भन्दै बोतल र जारको पानी यस्तै उद्योगबाट आपूर्ति हुँदै आएको छ । बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि उद्योगी यतातिर लगानी गर्न तम्सिएका हुन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया