नवलपुरको बुलिङटारमा पनि ७२ पशुमा लम्पीस्किन देखियो, ६ वटा मरे

नवलपुर । अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गइरहेका बेला पूर्वी नवलपरासीको नवलपुरुस्थीत बुलिङटार गाउँपालिकामा पनि लम्पीस्किन संक्रमण फैलिएको छ ।

हालसम्म गाउँपालिकाभित्र रहेका कुल ६ वटै वडाका ७२ पशुहरुमा लम्पीस्किन संक्रमण देखिएको गाउँपालिका– ४ मा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक नरबहादुर चितौरेले जानकारी दिए । उनका अनुसार तिमध्य ६ वटा पशु मरिसकेका छन् ।

पाँच गोरु र एक भैँसी मरेको चिताैरेको भनाइ छ । बुलिङटार गाउँपालिका वडा नम्बर १ को काफलडाँडामा ४६ वटा पशुहरुमा लम्पीस्किन संक्रमणको लक्ष्यण देखिएको र तिमध्य ३ वटा पशुको मृत्यु भएको उनले बताए ।

त्यसैगरी वडा नम्बर २ को भेल्लौरीमा एक पशुमा संक्रमण देखिएको छ भने वडा नम्बर ३ को चम्गाहमा १० वटा पशुहरुमा लम्पीस्किनकाे संक्रमण देखिएको छ ।

त्यस्तै वडा नम्बर ४ को चुलिबोझा, देउराली र तल्लो अर्खला गरी १० वटा पशुहरुमा लम्पीस्किन देखिएको मध्य दुई पशु मरेको नायव पशु स्वास्थ्य प्राविधिक चितौरेले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ५ को राइकोट र भदौरीमा गरी ४ पशुहरुमा लम्पीस्किन देखिएको छ भने वडा नम्बर ६ को ढाँसीमा पनि १ पशुमा लम्पीस्किन देखिएको उनले बताए । हाल आफू उपचारको लागि पालिकाका सबै ठाउँमा खटिइरहेको जानकारी दिँदै केही पशुहरु निको हुँदै गएको र केहीको उपचार जारी रहेको बताए ।

व्यवसायिक रुपमा बढी पशु पालिएका क्षेत्रमा संक्रमण फैलिए बढी नोक्सान हुन सक्ने उनको भनाइ छ । उक्त रोग निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्ने उनले बताए ।

विशेष गरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप भएकाले पालिकाका सचेतता आवश्यक रहेको नायव पशु स्वास्थ्य प्राविधिक चितौरेले बताए । खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया