जब बर्खा लग्छ, तब हुल्दीवासीको निन्द्रा भाग्छ

ढोरपाटन । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुंगा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ ।

निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौंदेखि गइरहन्छन् । पहिरोकै कारण वर्षैजसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरू गाउँमाथिको दह जंगलतर्फ लाग्छन् ।
गाउँका करिब १ सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरू अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् ।

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरू चिरा परेका घर टालटुल गरी बसिरहेका छन् ।

निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानीयमा पर्छ । पालिकामा २ सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । ती घरहमध्ये २ सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा–२ खाडुका ११ घर, वडा–२ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा–३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्यांकमा छ ।
वडा–४ का तीन घर वडा–५ का आठ घर, वडा–६ का चार घर र वडा–७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गौतमले बताए ।

‘यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो दुई÷चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन’, सूचना अधिकारी गौतमले भने । यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यसवर्षको बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उनले जानकारी दिए । मौसमजन्य विपद्अन्तर्गत केन्द्र सरकारले दिएको चार लाखबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ ।

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौंदेखि पहिरोको डरमा बाँच्नुपरेको बताए । ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उनको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरू पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरू बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरू भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उनको भनाइ छ ।

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटकपटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरूलाई राखे ज्यान बचाउन सकिने उनको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जाली बताउँछन् ।

‘फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छे नै पुरिन्छन्, पाँच÷६ वर्ष अगाडि घरमा सुतिराख्नुभएको मेरो आमा नै पहिरोले पुरिदियो’, सिञ्जालीले भने ।
स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताइन् । ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको मल्लको भनाइ छ । पहिरोले कहिले पशुचौपाय कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उनको भनाइ छ ।

‘गाउँपालिकामा धेरैपटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ’, उनले भने, ‘पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ ।’

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौंदेखि नागरिकलाई दुःख दिइराखेको बताए । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदाबस्ती नै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उनले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागि रहेको बताए ।

प्रतिक्रिया