‘नाम पोलेकै आधारमा पक्राउ गर्न मिल्दैन’

नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्री पछि हटेको संकेत

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेताको नाम जोडिन थालेपछि यो प्रकरणमा नाटकीय मोडको संकेत देखिएको छ । यसबाट दलका शीर्ष नेताहरू आफू पानीमाथिको ओभानो बन्ने प्रयास गर्न थालेका छन् ।
एमालेका सचिव टोपबहादुर रायामाझी र उपाध्यक्ष रामबहादुर थापा बादलसमेत यो प्रकरणमा मुछिएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा रायमाझीविरुद्ध प्रहरीले प्रमाण जुटाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आक्रोशित हँुदै सो अनुसन्धानमा प्रश्न उठाएका थिए । त्यसैकारण ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग बाक्लो छलफल गरेका थिए ।

तर पछिल्लो समयमा उनका स्वकीय सचिव राजेश बज्राचार्यको नक्कली शरणार्थी प्रकरणमा संलग्नता रहेको अन्य अभियुक्तको बयानले भने ओली अहिले रक्षात्मक अवस्थामा देखिएका छन् । उनले अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै आफ्नो भाका फेरेका छन् । तर उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अभियुक्तहरूले दिएका बयानका आधारमा मात्र उनीहरूमाथि कुनै करबाही नगर्ने बताएर पन्छने प्रयास गरेका छन् । यसबाट गृहमन्त्री नक्कली शरणार्थी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ब्याक हुने देखिएको छ ।

ओलीले २१ वैशाखदेखि जोड्दारसँग बोलिरहेको एउटै विषय थियोे – नक्कली भुटानी शरणार्थी प्रकरण । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बारम्बार भेटेपछि ओलीमाथि प्रश्न नै उठ्यो, कतै शरणार्थी प्रकरणमा जोडिएकालाई बचाउन ओलीले दबाब दिइरहेका त छैनन् ।
वैशाख अन्तिम सातादेखि जेठ दोस्रो सातासम्मका हरेक सम्बोधनमा ओलीले शरणार्थी प्रकरणमा एमालेको बचाउ गरे । एमालेका नेता फसाउन खोजेको अझै आरोप ओलीको छ । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी वैशाख ३१ सम्म फरार रहे । त्यतिबेला पनि ओली चर्को बचाउमै रहे । फरार रायमाझीसँग पनि संवाद भइरहेको संकेत ओलीले आफ्ना भाषणमा दिइरहेकै थिए ।

ओलीले एमालेको केन्द्रीय कमिटीको वैशाख २८ को बैठकमै जेठ ४ को प्रतिनिधिसभाको बैठकमा थप रहस्य खोल्ने घोषणा नै गरे । तर, ओली ४ गते त संसद्मा अनुपस्थित रहे नै ७ गतेको बैठकमा समेत नयाँ कुनै रहस्य खोलेनन् । बरु उनले अहिले सार्वजनिक भएकै विषयबारे थप प्रस्टीकरण दिएका थिए ।

ओलीले सत्ता गठबन्धनका नेताहरूलाई बचाउन र प्रतिपक्षलाई फसाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको आरोप पनि लगाइरहेका छन् । तर ओलीले बारम्बार जति धेरै प्रस्टीकरण दिइरहेका छन् आरोपितहरूको बयानले उनीसँगको कनेक्सन पनि त्यति बलियो देखाइरहेको छ । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसमेत नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीमाथि थप प्रश्न उठेको छ ।

बज्राचार्यले फेसबुकमार्फत आरोपबारे खण्डन गरेका छन् । ‘चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन । नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन’, नक्कली शरणार्थी प्रकरणबारे बज्राचार्यले भनेका छन् ।

ओली निकट मानिने नेता अजय क्रान्ति शाक्यको नाम पनि अनुसन्धानका क्रममा आरोपितहरूले लिएपछि ओली कनेक्सन झन् बलियो देखिएको हो । नक्कली शरणार्थी प्रकरण ओलीको नजिक कति पुग्न थालेको छ भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट माओवादी केन्द्र र एमाले अलग भएका बेलामा ओलीसँग निकट भएका नेता र उनीहरूका परिवार नै यस प्रकरणमा मुछिएका छन् । ओलीको सरकारमा उपप्रधानमन्त्री रहेका रायमाझी र उनका छोरा मात्रै होइन ओलीकै क्याबिनेटमा गृहमन्त्री रहेका रामबहादुर थापा बादल पनि नक्कली भुटानी शरणार्थी प्रकरणबाट अलग छैनन् । थापाका छोरा प्रतीक पनि उक्त प्रकरणमा तानिएका छन् भने पत्नी नैनकलाको नाम पनि अनुसन्धानका क्रममा आरोपितले लिएका छन् । बादल गृहमन्त्री रहेका बेलामा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई त यस प्रकरणमा सुरुमै पक्राउ परेका आरोपित हुन् ।

ओलीको टिम र नजिकका नेताहरू धमाधम नक्कली शरणार्थी प्रकरणमा तानिँदा एमालेका केही नेताहरूले भने अनुसन्धानमाथि नै प्रश्न उठाएर बचाउ गरिरहेका छन् । एमालेका महासचिव शंकर पोखरेलले प्रहरी अनुसन्धान निष्पक्ष नभएको आरोप लगाएका छन् । ‘काँक्राचोरले काक्रा आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ’, पोखरेलले फेसबुकमा भनेका छन् ।

एमालेका नेताहरूले बचाउ गर्दा ओलीमाथि नक्कली शरणार्थी प्रकरणबारे प्रश्न उठिरहेको छ । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री ओली र शेरबहादुर देउवाले नै अनुसन्धानमा नसघाएर ढाकछोपमा लागेको आरोप लगाएका छन् । ‘दुई पूर्वप्रधानमन्त्री किन ‘चोरको खुट्टा काट’ शैली अपनाउँदै ‘दल’ तथा नेताको बचाउमा लागिपरेका हुन् भन्ने यी घटनाक्रमले प्रश्न उठाएका छन् । दुवैको नैतिक कर्तव्य अनुसन्धान प्रक्रियालाई सहयोग गर्नु हो ।

बुधबारको संसद् बैठकमा सांसदहरूले पनि अनुसन्धान क्रममा नाम आएका सबैमाथि अनुसन्धान हुनुपर्ने माग गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका थिए ।

‘सलाम गर्ने मान्छे होस् वा सलाम लिने मान्छे । जसको नाम आएको त्यसको फेयर अनुसन्धान होस् । सरकारको परीक्षा छ । सरकारको परीक्षा सकेपछि न्यायालयको परीक्षा सुरु हुन्छ । घरको मान्छे होस् वा बार्दलीको चाहे नेता होस् या नाता,’ थापाको भनाइ थियो ।

एमाले अध्यक्ष मात्र होइन यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई बयानमा पोलेपछि देउवा आफैँ संकटमा परेको बताइएको छ । यस विषयमा देउवाले पनि आरजुको संलग्नतामा मुद्दा कमजोर बनाउनसमेत प्रहरी प्रशासनलाई दबाब दिएको बताइएको छ । तर प्रहरी प्रशासन देउवा पत्नी आरजु राणा र ओलीको स्वकीय सचिव राजेश बज्राचार्यलाई थप अनुसन्धानको दायारामा ल्याउन सक्ला भन्ने प्रश्न पनि उठेको छ ।

पछिल्लोपल्ट सरकार तर्फको भनाई हेर्दा पनि प्रहरीलाई देउवा र ओलीका निकट व्यक्तिहरूलाई कारबाही नगर्ने संकेत देखिएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् ।
बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताए ।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको उनले बताए । उनले देशको नागरिकलाई अनागरिक बनाई विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने बताए । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए ।

‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धेरैँ व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन ।’ उनले भने,’अहिले हाम्रो मिसन, सुशासन, अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाई, अर्काको देशको शरणार्थी बनाई विदेश पठाई सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ ।

अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपालप्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाई देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुनेसमेत बताए । नेकपा एकीकृत समाजवादीले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

शरणार्थी प्रकरणका आरोपीहरूसँग शुक्रबारदेखि अदालतमा बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको शुक्रबारबाट अदालतमा न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा १६ जना पक्राउ परेका छन् भने १७ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको न्यायाधीशसमक्ष बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो । शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले) का निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।

प्रतिक्रिया