गायनमा जमेकी निरूता

काठमाडौं । सुदूरपश्चिम कला, संस्कृति र सभ्यताको धनी प्रदेशका रूपमा परिचित छ । सुदूरपश्चिमकोे कला, साहित्य र सभ्यताको विकास र विस्तारमा त्यहाँका कलाकारको ठूलो योगदान छ । सुदूरपश्चिम प्रदेशले हजारौं कलाकार जन्माएको छ । तीमध्येकी एक प्रतिभावान् गायिका हुन्, निरूता खत्री ।

अछामको ढकारी गाउँपालिका २ हिच्मामा जन्मिएकी गायिका खत्री करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन् । उनले हालसम्म दुई सय जति गीतमा आवाज भरिसकेकी छन् । उनले देउडाका साथै लोक तथा दोहोरी भाकासमेत गीत गाएकी छन् । उनले स्वर भरेका ‘बसेइ प्यारी जान्छु बम्बै, चुल्ठिमा रिबनको डोरी, बम्बै छैकी गोवा, जिन्स पाइन्ट लाउँदी, अछाम डौठेगडा, मेरी राईझुमा, खिर आउँला साहु खर्क, अछाम राम्रो मंगलशैन, मेरा जन्म्या देश, अब म प्रदेशी भयाँ, दैलेखकी रानी लगायतका देउडा गीत चर्चित छन् । त्यस्तै, म छु सल्यान, आँखैमा राखेनी, ए मेरी पियारी, माछी काँडैले, कहिल्यै आँसु नझारे, निष्ठुरी माया, मुटुभित्र चोट छ लगायत लोकदोहोरी गीतका साथै ‘दारू जन आया, मायामा जातभात, जुटौं नेपाली, नेताले देशबेची खायाजस्ता जनचेतनामुलुक गीतसमेत गाएकी छन् ।

उनले भनिन्, ‘हाम्रो घरपरिवारले कलाकारितामा लाग्न र टिक्नका निम्ति आर्थिक सहयोग गर्ने हैसियत राख्दैन । तर, राम्रो साथ, हौसला दिएको छ ।’ गायिका खत्री पछिल्लो समय देश तथा विदेशने सांगीतिक कार्यक्रममा व्यस्त छन् । कतार र छिमेकी देश भारतमा दर्जनौं पटक सांगीतिक प्रस्तुति दिइसकेकी उनी भन्छिन्, ‘देशभित्रका भन्दा भारतका कार्यक्रममा मलाई धेरै निम्तो आउने गर्छ । भारतमा रहेका नेपाली दाजुभाई दिदीबहिनीले नेपाली कला साहित्यलाई गरेको माया सर्वथा प्रशंसनीय छ ।’ गायिका खत्रीले हालसम्म राष्ट्रिय स्तरका ४ वटा अवार्ड र ४ वटै सम्मान प्राप्त गरेकी छन् ।

गायिका खत्रीको परिचय गीत लेख्ने र गाउनेमा सीमित छैन । उनी राम्रो भलिबल खेलाडीसमेत हुन् । तत्कालीन समयमा क्षेत्रीय स्तरका खेलकूद प्रतियोगितामा उत्कृष्टता हासिल गरेको अनुभव उनीसँग छ । भलिबलसँगै दौड र कबडीजस्ता खेल खत्रीको रोजाइका खेल हुन् ।

प्रतिक्रिया