प्रचण्डलाई शंकर पाेखरेलकाे प्रश्न– खुलेयाम लुट र डकैतीलाई पनि भ्रष्टाचार भन्न मिल्छ र ?

काठमाडाैं । लडाकु शिविरमा भ्रष्टाचार भएकाे प्रमाणित भए आफैँ जेल जान तयार रहेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे घाेषणाप्रति प्रमुख विपक्षी दल नेकपा एमालेले तिखाे प्रतिक्रिया दिएकाे छ । एमाले महासचिव शंकर पाेखरलले प्रचण्डलाई कटाक्ष गर्दै खुलेयाम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र भनेर कडा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरूलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’

पाेखरलेलले ७-८ हजारको हाराहारीमा रहेको लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैँले हुंकारका साथ बाेलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेकाे स्मरण गराएका छन् ।

उनले वास्तविक लडाकु ७-८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसीएलका रूपमा राजनीतिक रूपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बाेल्ने गरेका दाबी पनि गरेका छन् ।

शिविरमा रहेकाहरूले बुझ्ने गरेकाे भत्ताको चेक उनीहरूका कमाण्डरले राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरू धेरैले धेरैपटक उठाउँदै आएको उल्लेख गर्दै पाेखरेलले अगाडि भनेका छन्, ‘अनमिनले प्रमाणिकरण गरेकाहरू मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेकै हुन् । यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भार बाेक्नु पर्‍याे र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरूले लुटे र क–कसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन ।’

‘तर पनि प्रचण्डजीहरू अझै पनि ठूलो स्वरमा हुंकार दिइनै रहेका छन्– लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन’, पाेखरेल भन्छन्, ‘नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।’

हिजाे संसदमा सांसदहरूले साेधेका प्रश्नकाे जवाफ दिँदै प्रचण्डले लडाकु शिविरमा भ्रष्टाचार नभएकाे जिकिर गर्दै फेरि पनि कसैले उजुरी दिए छानबिन हुने र दाेषी प्रमाणित भए आफैँ जेल जाने घाेषणा गरेका थिए ।

प्रतिक्रिया