आठबिसकोटले विकासमा धेरै फड्को मारेको छ

मणिराज शाह, प्रमुख प्रशासकीय अधिकृत – आठबिसकोट नगरपालिका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका जिल्लाको ४६ प्रतिशत क्षेत्रफल ओगटेको पालिका हो । भूगोलका आधारमा दुर्गम र ठुलो नगरपालिकाको रूपमा रहेको छ । आठबिसकोटलाई समृद्ध पालिकाको रूपमा चिनाउन नगरपालिका लागिरहेको नगरपालिकाले बताउँदै आएको छ । आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह स्वास्थ्य क्षेत्रमा लामो काम गरेको अनुभव छ । नगरपालिकालाई स्वच्छ, समृद्ध, प्रभावकारी, निष्पक्ष, पारदर्शी, जवाफदेही र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी छ । यसका लागि शाहले विभिन्न रणनीति बनाएका छन् । उनै शाहसँग आठविसकोट नगरपालिकाको समग्र विकासको अवस्थाबारे सौर्य दैनिकका लागि जिल्ला संवाददाता अर्जुन विष्टले गरेको विशेष कुराकानीको संपादित अंश :

आठविसकोट नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत भएपछि के कस्ता रणनीति बनाउनुभएको छ ?

–नगरपालिकाको कामकाजमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने पहिलो रणनीति लिएको छु । जसका लागि पालिकाको विभिन्न क्षेत्रको महत्वमा जोड दिएको छु । अन्य रणनीतिमा निर्णय प्रक्रियामा नागरिकको सहभागितालाई बलियो बनाउनु रहेको छ । स्थानीय सरकारले नागरिकको आवाज सुन्नुपर्छ र यसलाई प्राप्त गर्नका लागि सामुदायिक बैठक, सार्वजनिक सुनुवाइ र परामर्श महत्वपूर्ण माध्यमहरू रहेको छ । त्यसैगरी नगरपालिकामा सेवा प्रवाह सुधार गर्ने हो । सरसफाइ, स्वास्थ्य, शिक्षा, पूर्वाधारजस्ता आधारभूत सेवाहरूलाई प्रभावकारी रूपमा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेका छौँ । नगरपालिकाको कार्यशैलीमा नवीनता र रचनात्मकतालाई प्रवर्धन गर्ने प्रयासमा छौँ ।

आठबिसकोट नगरपालिकाले गरेका पछिल्ला उपलब्धीहरू के के हुन् ?

–हाम्रो पालिकाभित्र झण्डै चार सय किलोमिटर सडकको ट्रयाक खोलिएको छ । फुसको छाना हटाएका छौँ, एक घर एक धाराको नीति कार्यान्वयन, नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरूप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधारअन्तर्गत भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको छ । पर्यटनको हिसाबले प्रसिद्ध, राजदरबार ठुलाकोट, बिजारे, झारमारे, चित्रीपाटन, शाहीकुमारी, लगायतका ठाउँमा पदमार्ग निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको छ । सबै वडाहरू सडक सञ्जालमा जोडिएका छन् । सडकको स्तर बढाउने र धमाधम कालोपत्रे गर्ने कार्य अगाडि बढिरहेको छ ।

तपाईं प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा भोगेका अवसर र चुनौतीहरू केके हुन् ?

–अवसर भनेको स्वास्थ्य क्षेत्रभन्दा फरक क्षेत्रमा प्रमुख भएर कामगर्दा विभिन्न संस्था, व्यक्ति, निकायहरूसँग सम्पर्क हुन्छ । केही काम गरेर देखाउने अवसर हुन्छ र सोही काममार्फत आफूलाई चिनाउने अवसर पनि हुन्छ । कामले नै परिचय गराउँछ भने अर्कातिर चुनौती भनेको आमजनताको चाहना, आवश्यकतालाई परिपूर्ति गर्न विभिन्न विषयमा भनेजस्तो काम गर्न कठिन छ । जनअपेक्षा अनुरूप कतै काम नहुन सक्छ । त्यसका लागि स्रोतसाधन जुटाउनुपर्ने हुन्छ । यस्तै अन्तरनिकाय समन्वय गर्न चुनौती छ । राजनीतिक जनप्रतिनिधिसँग एकाकार भएर विकास निर्माणका कामहरू गर्न, कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिकामा कहीँकतै कमी–कमजोरी हुन्छ कि भनी सचेत हुनुपर्ने अवस्था पनि छ ।

आठविसकोट नगरपालिकालाई काम गर्न के–के कुराले समस्या पारिरहेको छ ?

–मुख्यतः स्रोत साधनको कम छ । संघीय निजामती ऐन बनेन । प्रदेश लोकसेवा ऐन पनि बनेन । केही दरबन्दी खाली छ, तर करारमा कर्मचारी लिन पनि समस्या छ । करारमा राखेपछि हटाउन सक्ने अवस्था छ । करिव पाँच सय जति करार कर्मचारी लिएका छौँ । अर्कातिर काम गर्ने विज्ञता पनि छैन । विकासका काम गर्न चाहिने विज्ञता भएका कर्मचारीको संख्या अपुग छ । अन्य मुलुकमा स्थानीय तहमा प्राविधिक क्षेत्रको काममा सहयोग गर्न अलग्गै प्राविधिक निकाय छ । तर, हाम्रोमा स्थानीय तहले आफैँ गर्ने भन्ने भयो । यसबाट कहीँ कतै विकास निर्माणमा कमजोरी भएकै छ । सुधार र दिगोपनाका लागि हामीले तीव्र प्रयास गरिरहेका छौँ ।

सिंहदरबार गाउँमा पुग्यो भन्ने महसुस आठविसकोट नगरवासीले कत्तिको गरेका छन् ?

–सिंहदरबार गाउँगाउँ पुग्यो भन्नुभन्दा पनि अहिले सिंहदरबारका सिंहहरू गाउँगाउँमा पुगे भन्न थालिएको छ । हाम्रो नगरपालिकामा सिंहदरबारको सिंह गाउँगाउँ नपुगेर जनताको सिंह गाउँगाउँ पुगेको छ । प्रत्येक वडाहरूमा अहिले स्वास्थ्य चौकी, विद्युत, सञ्चार र टोलटोलमा स्वास्थ्यकर्मीहरू खटाइरहेका छौँ । गर्भवती महिलाहरूका लागि घरघरमै स्वास्थ्य जाँच, अपांगता भएकाहरूलाई उचितस्वास्थ्य जाँच, सहिद, घाइते परिवारलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइरहेका छौँ । त्यसकारण यहाँका नागरिकले गाउँमै सरकार भएको महसुस गरेका छन् ।

अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व चलिरहन्छ, तपाईंको नगरपालिकामा के अवस्था छ ?

–प्रशासनिक काम गर्ने अधिकार निर्वाचित जनप्रतिनिधिलाई हुँदैन । कार्य सम्पादन मूल्यांकन निर्वाचित जनप्रतिनिधिले गर्न मिल्दैन । अधिकांश पालिकाहरूमा यही कुरामा विवाद आउने गर्दछ । स्थानीय सरकारले आफ्नो लक्ष्य पूरा गर्न जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ । जुन हाम्रो पालिकामा छ । राम्रो समन्वय छ । जुनसुकै कामकारबाहीमा जनप्रतिनिधि र कर्मचारीबीच दोहोरो छलफलद्वारा नै चलिरहेका छौँ । हाम्रो पालिकामा त्यस किसिमको समस्या छैन ।

तपार्इं प्रमुख प्रशासकीय अधिकृत भएर कार्यभार सम्हालेपछि शिक्षा स्वास्थ्य क्षेत्रमा थप उपलब्धी के भएको छ ?

–हुन त म पहिलेदेखि यस नगरपालिकाको स्वास्थ्य क्षेत्रमा कार्यरत थिएँ । मेरो पहिलो विशेषता नै स्वास्थ्य र शिक्षा हो । स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधारपछि नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको महसुस गरेको छु । म अधिकृत हुनुभन्दा पहिले केही वडामा मात्रै स्वास्थ्य चौकी थिए । स्वास्थ्य सेवा लिनलाई सेवाग्राही एकदिन हिँडेर पालिका केन्द्रसम्म आउनुपथ्र्याे अहिले नगरपालिकाको १४ वटै वडाको गाउँगाउँमा स्वास्थ्यचौकी छन् । जनशक्ती बाँडफाँड गरेर सबै वडामा सेवा सञ्चालन भइरहेको छ । आठबिसकोट नगरपालिकाभित्र १८ वटा सामुदायिक मावि विद्यालय छन् । त्यो सँगै सबै आधारभूत कक्षामा पठनपाठन भइरहेको छ । शिक्षामा थप सुधारका लागि भूगोल र गुणस्तरका आधारमा विद्यालय समायोजनलाई अगाडि बढाएका छौँ ।

कृषकका लागि पालिकाले कस्तो योजना ल्याएको छ ? कृषक लाभान्वित योजना नगरपालिकासँग छ ?

–नगरपालिकाले अनुदानमा विभिन्न बिउवीजन, कृषकलाई लाभान्वित हुने गरी उन्नत जातको धान, मकैको बिउ, किटनाषक औषधि, रासायनिक मल र किवीका बिरुवाहरू निःशुल्क वितरण गरिरहेको छ । कृषकले उत्पादन गरेको विभिन्न कृषिउपज नगरपालिका आफैँले निःशुल्क ढुवानी गरेर बजार व्यवस्थापनसमेत गरिरहेको छ ।

पूर्वाधारतिर हेर्दा सडकको अवस्था दयनीय छ, भन्ने नागरिकको गुनासो छ नि ?

–सडकलाई सतप्रतिशत सुधार गर्न त सकेका छैनौँ । तर यो अवधिसम्म धेरै फड्को मारेका छौँ । १४ वटै वडामा सडक पु¥याएका छौँ । केही सडक मुख्यराजमार्गसँग जोड्दै छौँ । केही ठाउँमा ढलान भएको छ भने केही ठाउँमा ग्राभलिङ र कालोपत्रे सुरु हँुदै छ । सडकलाई सुधार गर्ने योजनामै छौँ । कच्ची बाटोलाई पक्की, ढलान भई अधुरै रहेका नाला, सडकलाई पूर्णता दिने र दीर्घकालीन रूपमा सडकको समस्या समाधान हुने गरी तीव्र रूपमा काम भइरहेको छ । भूगोलका आधारमा सडकको अवस्थालाई दयनीय होइन केही कमी छ भन्न सकिन्छ ।

प्रतिक्रिया