हरियाली प्रवद्र्धन र सफाइ कार्यक्रमले चिटिक्क तिलोत्तमा

रूपन्देही । सफा र चौडा सडकको दायाँबायाँ हरियाली र रंगीचंगी फूलहरू छन् । लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले जोसुकैको पनि ध्यान तान्छ, रंगरोगन तथा सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँठाउँमा आकासे पुल, ट्राफिक बत्ती र संकतेले यात्रा गर्दा युरोप पुगेको झल्को रूपन्देहीको सडक हो ।

बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्छ । आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमुना सडक बनेको हो । सफल व्यवसायी विनोद चौधरीले दुई वर्षअघि यात्राका क्रममा क्रममा आफू बुटवल–भैरहवा सडकमा यात्रा गरिरहे पनि युरोप पुगेको अनुभूति भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि यो सडकको चर्चा चुलिएको हो । चौधरीको यो प्रशंसापछि उक्त नगरपाालिकाका तत्कालीन प्रमुख वासुदेव घिमिरेले सडकमा सरसफाइ र हरियाली प्रवद्र्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागू गरेका थिए ।

सोही कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले पनि थप परिष्कृत गर्दै निरन्तरता दिएका छन् । नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर बिजुली बत्ती राखिएको छ । लहरै राखिएका झलमल्ल बत्तीले राती पनि उज्यालो देखिन्छ । चोकचोकमा सार्वजनिक शौचालय छन् । शौचालय सफा छन् । नगर त्यत्तिकै चिटिक्क देखिएको मात्र होइन यसका लागि ०७४ सालदेखि हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा छ भन्छन्, नगरउपप्रमुख जगेश्वरदेवी चौधरी ।

‘कोरोना महामारीको एक÷दुई महिनाबाहेक यो अभियान निरन्तर सञ्चालनमा छ’, उनी भन्छन् । अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरी बताउँछन् । वडा कार्यालय र टोल विकास संस्था समेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् । तिलोत्तमाका १७ वडामा १ सय ९९ टोल विकास संस्था छन् ।
नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयवासीले पनि साथ दिएकाले नगरका भित्री सडक पनि सफा छन् । ‘प्रमुख उपप्रमुख नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दो रहेछ । अहिले अरू नगरपालिकाभन्दा हाम्रो ठाउँ धेरै सफा भएको छ’, ड्राइभरटोलकी लक्ष्मी खनाल भन्छिन् ।

निरन्तर सरसफाइ अभियान चलाएको नगरपालिकाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वानसमेत गर्दै आएकोे छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सरसफाइ गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ । नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष दुई करोड बजेट विनियोजन हुने गरेको छ ।

नगरको नियमित सरसफाइका लागि ४४ सफाइकर्मी परिचालन गरिएको छ । प्रत्येक वडामा दुई/दुई जनाका दरले कर्मचारी खटाइएको खनाल बताउँछन् । नगर सफाइमा ख्याति कमाएको तिलोत्तमाले त्यसलाई दीगो राख्न र नगरवासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । ०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउँछन् ।

नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गत चैतदेखि गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । यसको सेवनले जनस्वास्थ्यमा असर पार्ने भन्दै नगरवासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ । नगरलाई अझै सफा र चिटिक्क बनाउने ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान पनि चलाएको छ । विद्यालयस्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ ।

फोहर जथाभावी फाल्नुहुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो । नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्ती ः मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेट ः माई फस्ट डस्टबिन’ समावेश गरिएकाले विद्यार्थीले पनि यत्रतत्र फोहोर फाल्दैनन् । फाल्नै परे आफ्नै खल्तीमा राख्ने र पछि डस्बिन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन् । ७ सय ५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका हो । ०७६ चैत ३० गते यस नगरलाई मुलुकको पहिलो पूर्ण सरसफाई उन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै त्यसलाई दीगो बनाउन स्थानीय पाठ््यक्रममा ‘माई पकेट ः माई फस्ट डस्टबिन’ समावेश गरिएको हो ।

प्रतिक्रिया