‘लकडाउन’ले बनायो कृषक

पथरी । ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो ।

लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लागेका खगेन्द्रप्रसादलाई राम्रै सफलता मिल्यो । लिम्बूले साथीभाइको सल्लाहअनुसार १ करोड ३० लाखको लगानीमा ड्रागन खेती सुरु गरे । दुई बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको २ हजार ३ सय बिरुवाले उत्पादन दिन सुरु गरेको छ ।
पथरी शनिश्चरे–८ मा रहेको मेद्यावी कृषि फर्ममा तीन जनाले रोजगारी पाएका छन् । खेती सुरु गर्दा तीन महिनासम्म सात÷आठ जनाले रोजगार पाएका थिए । ‘युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्दै ड्रागन खेतीको सुरुआत गरेको हुँ’, लिम्बूले भने । सुरुसुरुमा समस्या भए पनि फल दिन थालेपछि आनन्द भएको लिम्बूले बताए ।

नेपालमा सफलता पाउँदै गरेको समयमा ‘रेड सी’ प्रजातिको नौलो तथा मीठो फल ड्रागन फ्रुट खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । कृषि पेसामा आत्मनिर्भर भएका लिम्बू ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् । १५ महिनाअघि लगाएको ड्रागन खेतीले फल दिन थालेको छ । एक पटकको मिहिनेतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेती गर्दा राम्रो हुने लिम्बूको भनाइ छ ।

ड्रागन फ्रुटसँगै भित्रभित्र बुटे खेती गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाउने गर्दछ । एक पोलबाट वार्षिक १ सय ५० किलोसम्म फल उत्पादन हुने गर्दछ । बजारमा ड्रागन फ्रुट प्रतिकिलो पाँचदेखि आठ सय पर्ने गर्दछ । पछिल्लो समय बजारमा प्रतिस्पर्धा धेरै भएका कारण सोचेअनुसार मूल्य नपाउने पो हो कि भन्ने उहाँलाई चिन्ता छ । बाहिरी देशबाट आएको फलभन्दा नेपालमा उत्पादन भएको फल स्वादिलो र पोषिलो हुने भएकाले बजार मूल्य राम्रै पाउने लिम्बूले बताए ।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले यस खेतीतर्फ कृषक आकर्षित हुँदै आएका छन् । ग्रामीण र सहरी क्षेत्रमा मानिसले यस खेतीलाई व्यावसायिक खेतीका रूपमा लिन थालेका छन् । मोरङको बेलबारी नगरपालिका–१० का वडाध्यक्ष गंगा याक्खा, पथरी शनिश्चरे–६ पूर्ववडाध्यक्ष जयबहादुर तामाङ, पथरी शनिश्चरे–२ का प्रवेश राई र सुनवर्षी नगरपालिकाका गणेश राईले व्यावसायिक ड्रागन खेती गर्दै आएका छन् । ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ । एकपटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया