त्रिविबाट जहाजको ‘ओभरसुट’ ?

सम्भावित दुर्घटना टार्न

काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसदिन एयर इन्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनउ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो । विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।

त्यस्तै वैशाख १६ गते दिउँसो नयाँदिल्लीबाटै काठमाडौं आएको एयर इन्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।

यसरी एक महिनामै एयर इन्डियाको जहाजले दुईपटक ओभरसुट गर्यो । जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरूको भनाइ छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन् । ‘ओभरसुट सबैभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ’, उनले भने, ‘ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’

नेपालमा ओभरसुटलाई नकारात्मक रूपमा लिने गरिए पनि संसारभर ओभरसुटलाई सकारात्मक रूपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।

जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।

०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।

‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रूपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ’, उनले भने ।

जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुने गरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।

विशेष गरी चैत–वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् । कतिपय अवस्थामा कम्पनीको नियमअनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् ।

कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रूपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ ।

मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ । तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हँुदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनउ, कोलकाता जाने गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भए पनि टिआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले बिजनेस पाएका छैनन् । यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इन्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन् ।

टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया