काभ्रे । नेपाल सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको न्याय र सुशासनको लागि भ्रष्टाचारको अन्त्य आवश्यक रहेको बताएका छन् । उनले काभ्रेको विकट मानिने महाभारतमा भएको केन्द्रिय विद्युत विस्तार उद्घाटन तथा सडक शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
भ्रष्टाचार र विसंगतिलाई नियन्त्रण गर्न नसकिए जनताले सास फेर्न समेत कठिन अवस्था आएको बताए । आफू यसअघि पनि डाँडापारीको विकट ठाउँमा आएको स्मरण गर्दै यस अघि आउँदा र अहिले आउँदा जनतामा विविध फरक महसुस गरेको बताए ।
उनले महाभारतवासीमा रूप रङ अनुहार र आत्मविश्वासमा समेत फरकपन पाएको बताए । यसअघि आफूले मौसम अनुकूल नहुँदा टेलिफोनमार्फत गरेको सम्बोधनको समेत स्मरण गर्दै अब केन्द्रको सरकारले दुवै पालिकाहरु खानीखोला गाउँपालिका र महाभारतमा विद्युत विस्तार, विद्यालय भवन, खानेपानी र पक्की सडकको लागि सहयोग गरिने र पाँच वर्षपछि यस पालिकामा विकास भएको हेर्न आउनेको भीड लाग्ने बताए ।
उनले राजधानी नजिक रहेको ठाउँ भए पनि अपमान र असुविधा भोगेका जनताले क्रान्तिमा साथ दिएको र यस क्षेत्रको बलिदानले गणतन्त्र स्थापना गर्न ठूलो भूमिका खेलेको बताए । उनले विद्युतको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको बताए । हिजोको लोडसेडीङलाई अन्त्य गरेर अहिले लोडसेडिङ मुक्त भएको र २ वर्ष भित्रमा विदेशमा विद्युत बिक्री गरी अर्बौँ रकम नेपाल भित्र्याउने ठाउँमा पुगेको उनले बताए ।
‘हामीे हिजोको लोडसेडीङबाट मुक्त भइसकेका छौँ, विद्युतमा हामीले नयाँ क्रान्ति नै गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘हामी दुई वर्षभित्रमा विद्युत निर्यात गरी अर्बौँ रकम भित्र्याउने ठाउँमा पुगेका छौँ ।’ विद्युत छिमेकी राष्ट्र भारतमा मात्र नभइ अन्य राष्ट्र बंगलादेश, भुटानलगायतको देशहरूमा निर्यात गर्ने उनको भनाइ छ ।
त्यसरी नै काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलाशयसहितको एक सय १० मेगावाटको विद्युत बन्दै गरेको दाहालले बताए । हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि प्रधानमन्त्री दाहालले बताए ।
विकासमा पछाडी परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका काम अगाडि बढाएको भन्दै उनले त्यही अनुरुप महाभारत गाउँपालिकाको पनि पहिलाका र अहिलेको तुलनामा फरक पाएको बताए । अबको दुई वर्षमा कुनै पनि घर विद्युतविहीन नहुने उनको भनाइ छ ।
सडकका लागि मात्रै ३ अर्ब बजेट
महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको उक्त सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको छ ।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको छ । २०८० वैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिलान्यास प्रधानमन्त्री दाहालले गरेका हुन् ।
२०८२ कार्तिक १९ गतेसम्म ३० महिनाभित्र निर्माण कार्य सक्ने गरी बागमती प्रदेश सरकारले सन्तोषी धर्म जेभीसँग सम्झौता गरेको छ । ‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको थियो, ६० करोड ९६ लाखमा सम्झौता भएको छ, तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको छ’, ‘गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘निर्माण व्यवसायीहरुले विनियोजन बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतवासीहरुले खोजेको विकास प्राप्त गर्न सकेका छैनन् ।’
९९ करोडको बजेटमा ६० करोड ९६ लाखमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । तिनखुट्टे – देविटारसम्मको ८.७ किलोमिटर पक्की सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक–पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको थियो ।
सो सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले उक्त सडक समयमै निर्माण कार्य सक्न निर्देशन दिँदै भइरहेका कार्यको अनुगमन गरेका थिए ।
‘काभ्रेको रोशी गाउँपालिका मंगलटारस्थीत विपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिनेछ’, भौतिक पूर्वाधार मन्त्री दुलालले भने उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ, आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुनेछ ।’
महाभारत गाउँपालिकाका तीन खण्ड निर्माणको क्रममा रहेको तथा रोशी गाउँपालिकाको अर्को खण्ड चालु वर्षबाटै प्रारम्भ हुने भएकाले खानिखोलाबाट मकवानपुरको भोर्लेनीमा जोड्ने पुल निर्माणको कार्य सकिनासाथ सडक सञ्जाल सञ्चालनमा आउने उनले बताए । सो सडकको लम्बाई ९३ किलोमिटर हुनेछ ।
प्रतिक्रिया