गठबन्धन टुट्दैन, अघि बढ्छ : अध्यक्ष नेपाल

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले गठबन्धन दलभित्र केही असन्तुष्टि हुनुले गठबन्धन नटुट्ने बताए ।

बिहीबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको गठबन्धन तलमाथि हुन्छ की ? भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने, ‘गठबन्धनबीचमा समस्याहरु छन्, सानो स्वरले नसुन्ने हुँदा आवाज ठूलो बनाएका हौँ, तरिका ठीक भएन भने कुरा उठ्छ, त्यो समाधान नहुने कुरा होइन्, आपतै आइलाग्यो गठबन्धन टुट्ने भयो भनेर केही मान्छे रमाउन सक्छन्, जसलाई निन्द्रा लागेको थिएन, अब आनन्दले सुत्न पाइने भयो, गठबन्धन टुट्ने भयो,हाम्रा दिन फिर्ने भए भन्नेहरुलाई आरामले सुतिरहन दिनुस् गठबन्धन टुट्न हुँदैन यो अगाडि बढ्छ ।’

‘गठबन्धन निर्माण गर्न,बलियो बनाउँन महत्वपूर्ण भूमिका खेलेका छौँ, दिगो बनाउने कुरामा त्यसप्रति सबैको संवेदनशीलता चाहिन्छ, गठबन्धन दलहरु बसेर राम्ररी छलफल गरेर समाधान खोज्नुपर्छ भन्ने कुरा भएको छ’, उनले भने ।

सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउँछ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘मैले त सरकारमा ल्याउनुपर्छ भनेको छु, शेरबहादुर जी, प्रधानमन्त्री प्रचण्डजीले राय माग्नुभएको थियो, मैले ल्याउँदा राम्रो हुन्छ भनेको छु, उपनिर्वाचन पहिले पनि सरकारमा ल्याउने सहमति भएको थियो, तर निर्वाचनका कारण रोकियो अब अहिले यसलाई लागु गर्ने सन्दर्भमा पनि पोजेटिभ कुराहरु छन् ।’

त्यस्तै गठबन्धन दलले देश र जनताको समस्या बारेमा छलफल गर्ने गरेको उनले बताए । उनले भने, ‘देशलाई कसरी अगाडि बढाउने, भ्रष्टाचार नियन्त्रणका कुरा, जनतालाई सुशासनको प्रत्याभूति दिने कुरा, रोजगारी वृद्धि गर्ने कुरामा हामीले छलफल गर्ने गरेका छौँ ।’

प्रतिक्रिया