जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा भर्ना

कालिकोट । जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा भर्ना हुन थालेका छन् । कालीकोटको खाडाँचक्र नगरपालिका– ७ पिलिले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठनपाठन गराउने भनी भर्ना अभियान सुरु गरेको छ ।

कालिका माध्यामिक विद्यालय पिलिमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिले खाडाँचक्र– ७ पिलि निवासी जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्ने अभियान थालनी गरेको हो ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयअनुसार यसै शैक्षिक सत्रदेखि सबैले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन विद्यालयले भर्ना अभियान जारी गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमित मल्लले शैक्षिक सत्र २०८० देखि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्ले सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयम् आफै आफ्नो शैक्षिक ज्ञानप्रति विश्वास नमानेर आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने र उनीहरूले विद्यालयमा खासै चासो नदिने भएकाले विद्यालय व्यवस्थापन समितिले यस्तो निर्णय गर्न बाध्य भएको बताए ।

सरकारी तलब भत्ता खानेले सरकारी शैक्षिक क्षेत्रको विश्वास गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । निणर्य गरीएकै दिनबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्ले आफ्नो छोरालाई र पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा एमालेका नेता पुत्र मल्लले आफ्ना एक छोरी र छोरा विद्यालयमा भर्ना गरेका छन् ।

सरकारी बिखलयमा भर्ना नगर्ने सरकारी कर्मचारी र जनप्रतिनिधिलाई वडा र विद्यालयवाट प्रदान गरीने कुनै सेवा सुविधा नदिने व्यवस्थापन समितिका अध्यक्ष मल्लले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया