काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएकाे गठबन्धनकाे तर्फबाट माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको सरकार बन्न लागेको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।
कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
प्रतिक्रिया