ठेकेदारको लापरबाहीले त्रि–देशीय सडक अलपत्र

दैलेख । ठेकेदारको लापरबाहीका कारण त्रि–देशीय सडक अलपत्र परेको छ । दैलेख सदरमुकामदेखि महाबु हुँदै जुम्ला जोड्ने सडक निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । दैलेखका प्रतिनिधिसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्व भौतिक मन्त्री अमरबहादुर थापा सहितको टोलीले महाबु खण्डमा भएको सडकको प्रगति बारेमा अनुगमन गर्दा सडकको काम अलपत्र देखिएको र काम सुस्त गतिमा भएको प्रति चिन्ता व्यक्त गरे ।
दैलेखलगायत कर्णालीका सात जिल्लाको मेरुदण्ड रहेको सडक खण्ड कालोपत्रेका लागि स्थलगत अध्ययन गरेका थापाले भने, ‘म संविधानसभा सदस्य हुँदादेखि यसको पहल गरेको हुँ, मेरो कार्यकालको तीन वर्षमा यो सडक कालोपत्रे गराउँछु ।’

मृत्यु मार्गले परिचित कर्णाली राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको यो सडक सञ्चालन भएपछि आर्थिक अवस्था कमजोर भएका जनताको लागि फाइदा हुने देखिन्छ । कर्णाली राजमार्गदेखि ७९ किलोमिटर छोटो पर्ने सडक खण्ड निर्माण सुरु भएको लामो समयसम्म गति नलिनु ठेकेदारको कमजोरी भएको सरोकारवालाले बताउने गरेका छन् ।

दैलेख सदरमुकाममा रहेको काडाचौरलाई आधार बनाएर कालिकोटसम्म ४० किलोमिटर भू–भागमा अहिले सात वटा निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । भैसीखोरदेखि भवानी गेटसम्मको पाँच किलोमिटर सडक चैतसम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन । यसको जिम्मा लिएको कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले समयमा काम नगरिदिँदा यहाँका बासिन्दाहरू आक्रोशित भएका छन् । ५ करोड ५८ लाख लागतमा ठेक्का सम्झौता भए पनि समयमा काम नगरेकोले सप्लायर्सलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने सडक डिभिजन सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले बताए ।

महावु क्षेत्रको विकासमा लागि यो सडक महत्वपूर्ण रहेको भन्दै नारायण नगरपालिका मेयर लोमन शर्माले भने, ‘नेपालगञ्जको बागेश्वरी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र, हुँदै महाबु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारा सम्मको पर्यटन प्रवर्धनमा यो सडक निकै महत्त्वपूर्ण भएको बताए । जमुनाहा नाकादेखि सुर्खेत, दैलेख कालिकोट, जुम्ला हुँदै चीनको सिमाना जोडने त्रिदेशीय सडक नेपाल सरकारले विगत चार वर्षदेखि प्राथमिकतामा राखेको छ । यो सडक निर्माण सम्पन्न पछि ७९ किलोमिटर छोटो र सुरक्षित यात्रा गर्न सकिन्छ ।

यस सडक खण्डमा अहिले सात वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । विभिन्न प्याकेजमा काम ठेक्का लिएका उनीहरूले काम भने सुस्त गतिमा गरेको स्थानीयले आरोप लगाएका छन् । यो सडक दैलेखबाट संघीय सांसदहरूको पहिलो प्राथमिकतामा परेको सडक हो । सडक निर्माणको लागि हालेको सांसद विकास कोषको रकम पनि समय समयमामा काम नहुँदा बजेट फिर्ता हुने गरेको छ ।

प्रतिक्रिया