बझाङमा सबैभन्दा बढी बेरुजु बुंगलमा र कम मस्टामा

बझाङ जिल्लामा सबैभन्दा बढी बेरुजु बुंगल नगरपालिका र सबैभन्दा कम बेरुजु मस्टा गाउँपालिकामा रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार विगतका आर्थिक वर्षभन्दा पछिल्लो आर्थिक वर्षमा बेरुजु बढ्दो क्रममा रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लाका १२ स्थानीय तहको बेरुजु रकम ६७ करोड बढी पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जिल्लाका सबै स्थानीयहरूको बेरुजु ६७ करोड ९४ लाख ९२ हजार पुगेको हो । प्रतिवेदनका अनुसार ०७८÷७९ मा सबैभन्दा बढी बेरुजु बुंगल नगरपालिकामा देखिएको छ । सबैभन्दा बढी बुंगल नगरपालिकामा १२ करोड ९२ लाख २८ हजार बेरुजु रहेको र सबैभन्दा कम बेरुजु मस्टा गाउँपालिकामा रहेकोे छ । मस्टा गाउँपालिकामा १ करोड २९ लाख ३९ हजार बेरुजु देखिएको छ ।

यस्तै केदारस्यु गाउपालिकाको ११ करोड ६९ लाख ७३ हजार, थलारा गाउँपालिका ८ करोड ४१ लाख ४७ हजार, जयपृथ्बी नगरपालिकामा ४ करोड ४३ लाख २४ हजार, सुर्मा गाउँपालिकामा २ करोड ६४ लाख ३६ हजार खप्तडछान्ना गाउँपालिकामा ४ करोड ४१ लाख १८ हजार, बित्थडचिर गाउँपालिकामा ४ करोड ६१ लाख ९४ हजार, साइपाल गाउँपालिकामा १ करोड ६३ लाख १८ हजार, दुर्गाथली गाउँपालिकामा ६ करोड ८१ लाख ३९ हजार बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै छबिसपाथीभेरा गाउँपालिका ३ करोड २१ लाख ४१ हजार र तल्कोट गाउँपालिका ५ करोड ८५ लाख ३५ हजार बेरुजु रहेकोे छ । सार्वजनिक वित्तीय प्रशासनको प्रत्येक वर्ष बेरुजु बढ्दै जानु आर्थिक पालनाको स्थिति कममजोर रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
वित्तीय स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वय लेखांकन र प्रतिवेदन प्रणालीमा सुधार गर्नु आवश्यक ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाहरूले ऐननियमअनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम बढ्दै गएको हो ।

प्रतिक्रिया